‘सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्न पहल गछौं’



स्थानीय तहमा विकास निर्माणको काम गर्ने अभियान अगाडि बढेपछि अपेक्षा गरेजस्तो काम हुन सकेको छैन् । सुनापती गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा जनप्रतिनिधिहरु लागेपनि समृद्धिको लागि नागरिकहरुले प्रत्यक्ष रुपमा महशुस गर्नेगरी काम हुन सकेको देखिदैन । तर रातदिन जनप्रतिनिहरु भने विकास निर्माणको काममा दौडिएका छन् । सुनापती गाउँपालिका–४ बेथानलाई समृद्ध बनाउने अभियानमा लागेको वडा अध्यक्ष खड्क बहादुर घिसिङको दावी छ । वडाको विकासको लागि अहिलेसम्म गरेको काम, आगामी योजना लगायतको विषयमा केन्द्रीत रहेर रामेछाप न्युजको लागि स्नेहा सिलवालले गरेको कुराकानीः–

खड्क बहादुर घिसिङ
वडा अध्यक्ष, सुनापती गाउँपालिका–४ बेथान

वडाभित्र विकास निर्माणको काम कसरी अगाडि बढाउनुभएको छ ?
–योजनाबद्ध रुपमा विकास निर्माणको काम अगाडि बढाएका छौं । हामी निर्वाचित हुनु भन्दा अघि नै वडाको सबै वस्तीहरुमा सडक पुगेको अवस्था थियो । अहिले ती सडकहरुको स्तरउन्नतीको काम भइरहेको छ । जनताको चाहना र भावनालाई केन्द्र भागमा राखेर वडा कार्यालयबाट प्रवाह गर्ने सेवा सुविधा र विकास निर्माणको कामलाई अगाडि बढाएका छौं । मैले जिम्मेवारी सम्हालेपछि जनताले गुनासो गर्ने गरी कुनै पनि काम गरेको छैन् ।

योजनाबद्ध रुपमा विकास निर्माणको कुरा गर्नुभयो, खासमा के हुन ती योजना ?
बिगतमा टोल टोलमा सडक निर्माण भइसकेको थियो । केही टोलमा मात्र सडक पुग्न बाँकी छ । त्यहाँ पनि सडकको पहुँच पुर्याउछौ । सडक त निर्माण भएका छन् । ती मध्येबाट पनि मुख्य सडकको स्तरउन्नती गर्ने कार्यलाई हामीले पहिलो प्राथमिकता दिएका छौं । सडक निर्माण गर्नु मात्र ठूलो कुरा होइन, त्यसलाई बचाउने र सहज रुपमा सञ्चालन गराउने चुनौती हामीलाई छ ।

वडाभित्र नै रोजगारी सृजना गर्ने गरी के काम गर्दै हुनुहुन्छ ?
वडाभित्र सिंचित भू–भाग निकै कम छ । चौरी खोला, खानी खोला र सुनकोसी किनाराका खेतमा मात्र सिंचाई हुने अवस्था छ । वडाले यस अवधिमा कहाँ के खेती हुन्छ ? भन्ने विषयको पहिचान गर्ने क्रममा लागेका छ । वडाको विभिन्न ठाउँको माटो परीक्षण गरेर तरकारी, फलफुल नगदेवालीको पहिचान गरेर कृषकहरुलाई सोही अनुसारको खेती गर्न आग्रह गर्नेछौ । वडाका सयौ युवाहरु विदेशीएका छन् । ती युवाहरुलाई वडाभित्र नै फर्काउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने मान्यता छ । तर त्यसको लागि आधार त तयार गर्नु पर्यो । वडाको तल्लो भेगमा आँप कटहर लिची लगायतको फलफुल खेती गर्न सकिन्छ भन्ने माथिल्लो क्षेत्रमा सुन्तला, जुनार कागतीको व्यवसायिक खेती गर्न सकिन्छ ।

वडाभित्र खानेपानीको समस्या पनि निकै छ, यसको लागि के काम गरिरहनुभएको छ ?
विगतमा खानेपानीको धेरै ठूलो समस्या थिएन । भएका प्राकृतिक मुहानहरु सुक्दै जादा वडाभित्र खानेपानीको समस्या जटिल बन्दै गएको छ । प्राकृतिक मुहान नभएपछि हामीले अहिले खोला र नदीबाटै लिफ्ट खानेपानी आयोजना निर्माण गरेर नागरिकहरुलाई खानेपानी उपलब्ध गराउने कार्यमा जुटेका छौं । वडाले अहिले तीन वटा लिफ्ट खानेपानी आयोजना निर्माणमा जोड दिएको छ । साविकको वडा नम्बर ८ र ९ को लागि सुनकोसी लिफ्ट खानेपानी आयोजनाको काम भइरहेको छ । साबिक ७ नम्बर वडाको लागि पनि लिफ्ट खानेपानी आयोजना अन्तर्गन ट्याङकी निर्माण भएर धमाधम काम भइरहेको छ । साविकको सबै वडामा लिफ्ट मार्फत खानी पुर्याउनको लागि खानीखोला, चौरीखोला र सुनकोसी नदीबाट लिफ्ट आयोजना सञ्चालनको क्रममा छ ।

सुनकोसी तेस्रो जलविद्युत आयोजनाको चर्चा धेरै हुने गरेको छ । आयोजनास्थल चार नम्बर वडाको दोभनटारमा नै पर्ने भएकाले स्थानीय सरकारको तर्फबाट के भूमिका निर्वाह गरिरहनुभएको छ ?
–सुनकोसी तेस्रोे जलविद्युत आयोजनाको अहिले अध्ययन भइरहेको छ । हामीले परामर्शदाता कम्पनी इआरएमसीसँग पनि समन्वय गरिरहेका छौं । छिटो सम्भाव्यता अध्ययनको काम सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि बारम्बार ध्यानाकर्षण गराएका छौं ।
सम्भाव्यता अध्ययनको काम सम्पन्न भएपछि निर्माण गर्न स्थानीय सरकारको तर्फबाट दबाब दिन्छौ । सुनकोसी तेस्रो जलविद्युत आयोजनालाई सरकारले प्राथमिकता पनि राखेको छ । यहाँका जनता निकै खुसी र उत्साहित भएका छन् । अब निर्माणको चरणमा गएपछि यहाँको जनताको आर्थिक जीवनस्तर राम्रो हुन्छ । वडाको मात्र नभई रामेछाप जिल्लाकै लागि यो आयोजना निर्माण हुँदा ठूलो फाइदा हुन्छ । रोजगारी सृजना, शेयर, पर्यटन लगायत धेरै कारणले फाइदा हुन्छ ।

दस बर्ष वितिसक्दा समेत रामेछाप जोडने खैरेनीघाटको पक्की पुल बन्न नसक्दा जनताले ठूलो दुःख पाएका छन नि ? यसमा तपाईहरुको ध्यान गएको छ कि छैन ?
–यो पुल निर्माण नहुको मुख्य दोषी ठेकेदार नै हो । ठेकेदारको लापवाहीको कारण यहाँका जनताले निकै ठूलो दुःख र सास्ती पाएका छन् । पटक–पटक पहल नगरेको पनि होइन । त्यस पुलमा केही राजनीतिक दलका नेताहरुले कमिसन खाँदा पनि समयमा निर्माण हुन नसकेको हो । पुल निर्माणको काम गरिरहका राम मैनालीले आगामी वैशाकसम्म पुल निर्माण सम्पन्न गर्छु भनेर प्रतिबद्धता गर्नुभएको छ । अहिले बर्षाको समयमा काम रोकिएको छ । पुल निर्माणको सबै सामाग्री आइसकेको जानकारी उहाँले दिनुभएको छ । गाउँपालिका जोडने अर्को रामेछाप र काभ्रे जोडने पक्की पुल पनि निर्माण भइरहेको छ । यसबाट पनि सुनापती गाउँपालिकालाई सहज हुन्छ ।

डहु माविलाई नमूना विद्यालयको रुपमा विकास गर्न भूमिका खेल्नु भो । अब गाउँपालिकाभित्रको विद्यालयलाई सुधार गर्ने के गर्नुभयो ?
नमूना विद्यालय निर्माण नर्गको लागि निकै ठूलो मेहनत चाहिन्छ । काम गर्ने र गफ गर्ने फरक कुरा हुन् । सुधारको काम त भएका छन् । तर देखिने गरी परिणाम आउन सकेको छैन् । जग बलियो भने मात्र घर बलियो हुने हो । हामीले माविस्तरबाट होइन आधारभूत तहबाटै पठनपाठनमा सुधार ल्याउनु पर्छ । अब तल्लो तहबाटै अग्र्रेजी माध्यमबाट पठनपाठन गराउने योजना बनाएका छौं । शिक्षामा सुधार ल्याउनको लागि अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिको मुख्य हात हुन्छ । शिक्षा क्षेत्रमा गाउँपालिकाले मन खुलाएर लगानी गर्नुपर्छ । बजेट कम भएको विद्यालयलाई बजेट थप गरेर भएपनि राम्रो वातावरण सृजना गर्नुपर्छ । मुख्य कुरा त टिमवर्क हो । सबैको साथ सहयोग र सहकार्य भएको अवस्थामा सुनापती गाउँपालिकाभित्र रहेका सबै विद्यालयको अवस्था सुधार गर्न सकिन्छ ।
पर्यटन क्षेत्रको विकास गर्न के गरिहेको छ ?
मुख्य गरी गाउँपालिकाकै पर्यटकीय क्षेत्रको रुपमा रहेको सुनापती डाँडा हो । सुनापती डाँडासम्म पुग्नको लागि विभिन्न ठाउँहरुबाट सिढी निर्माणको काम भइरहेको छ । डाँडामा भ्यु टावर निर्माणको काम पनि अगाडि बढेको छ । गाउँपालिकाले आगामी बर्ष बजेट नै छुटाएर नेपालथोक, खनियापानी हुँदै सुनापती डाडाँसम्म केबलकार सञ्चालन गर्ने कि भन्ने विषयमा पनि छलफल गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्