केरा खेतीबाटै रामेछाप च्याडीटारका मैनालीले गरे लाखौ आम्दानी (फोटोफिचर)



स्नेहा सिलवाल

२६ कार्तिक, रामेछाप । मनमा दृढ इच्छा शक्ति भए विदेशमा कमाउने पैसा नेपालमै कमाउन सकिन्छ । कुरामा भन्दा काममा विश्वास गर्न सके विदेशमा रातदिन पसिना बगाउनु भन्दा स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ रामेछाप सुनापती गाउँपालिका–१ बेथानस्थित च्याडीटारका भक्तबहादुर मैनाली ।

च्याडीटारमा दुई बर्ष अघि सबैले खेतमा धान लगाए । तर मैनालीले धान लगाउनु भएन, केरा रोप्नु भयो । धेरैले धान केराबाट पनि आम्दानी हुन्छ र भन्ने विश्वास नै गरेनन् । तर मैनालीले व्यवसायिक फलफुल खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास चाँही मनमा पाल्नुभएको थियो ।

डेढ बर्ष अघि धान रोप्दै आएको आफ्नो खेतमा ५ सय केराको बोट रोपेर अहिले मैनालीले राम्रो आम्दानीको स्रोत बनाउदा छिमेकी पनि दंग परेका छन् । पहिलो चरणमा मैनालीले ३ सय घरी केरा स्थानीय बजारमा विक्रिवितरण गरिसक्नुभएको छ । भक्तबहादुर मैनालीले रामेछाप न्युजसँग भन्नुभयो,‘सुरुमा त धेरैले केरा खेतीबाट पनि आम्दानी हुन्छ र भनेर पत्याएनन, अहिले मैले धानबाट भन्दा केरा खेतीबाट राम्रो कमाउन सफल भएको छु ।’


एक घरी केराको आठ सय रुपैयाँसम्म लिने गरेको बताउदै उहाँले केरासँग अहिले लिची, एबोकार्डो आँप पनि लगाएको बताउनुभयो । मैनालीलाई छोरा राज मैनाली पनि सहयोग गर्नुभएको छ । परम्परागत खेती भन्दा पनि आधुनिक र आम्दानीको स्रोत बनाउने गरी कृषि पेशा अगाडि बढाउनु पर्ने बताउदै नेत्रेश्वरी एग्रिकल्चर फर्मको व्यवस्थापक समेत रहेका राज मैनालीले भन्नुभयो,‘व्यवसायिक खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरेका छौं ।’

उहाँका अनुसार यस बर्ष नै २० वटा लिचीले फल दिइसकेको छ २५ वटा बोट आँप पनि फल दिएको छ । वीस रोपनी खेतमा कृषि फर्म नै दर्ता गरेर डेढ बर्षको अवधिमा नै मैनालीले साढे दुई लाख आम्दानी गर्न सफल हुनुभएको छ ।

हाल मध्य पहाडी लोकमार्ग च्याडीटारमाथि निर्माणधिन रहेको र निर्माण भएपनि कृषि फर्मबाट उत्पादन भएको वस्तु सहज रुपमा बजारसम्म पुर्याउन सहज हुने राज मैनालीले बताउनुभयो । उहाँले आगामी दिनमा अन्य स्थानमा समेत व्यवसायिक खेती अगाडि बढाउने योजना रहेको सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्