धोबी घटनाः पीडित पक्षको आरोप, प्रहरीको जवाफ



रामचन्द्र वि.क.
२७ कार्तिकलिखु तामाकोसी गाउँपालिका–४ धोवीकी ४० बर्षिय झलकमाया श्रेष्ठको मृत्यु भएको ८ दिन पछि प्रहरीले जाहेरी दर्ता गरेको छ । घटनाको विषयलाई लिएर मंगलबार दिउँसो मृतकका आफन्तले समरमुकाम मन्थलीमा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी गरेका थिए । प्रहरीले पीडित पक्षले बुझाएको जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ ।
कार्तिक १९ गते राती आफ्नै घरको धुरी बलोमा मृत अबस्थामा परिवारले भेटाएको थियो । श्रेष्ठले आफै आत्माहत्य नगरी उनका श्रीमान धननारायण श्रेष्ठ र स्थानीय गोपिनी कार्कीको मिलेमतोमा मारेर झुन्डाइएको हुन सक्ने आरोप मृतृकका आफन्तले लगाएका छन् । तर प्रहरीले भने मृतकको पोष्ट मार्टम गर्न काठमाडौं पठाइएको र रिपोर्ट आएपछि मात्र वास्तविता थाहा हुने बताएको छ ।  आफन्तले पोष्ट मार्टम रिपोर्टप्रति आशका व्यक्त गरेपछि प्रहरीले नै थप पोष्ट मार्टम गर्न काठमाडौं पठाएको थियो ।


लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकाले मृतक झलकमायाकाे अस्वभाविक हत्यालाई आत्महत्या भएर घटनालाई अन्यत्र मोडन खोजेपछि आफूहरु आन्दोलित हुनु परेको बताउनुभयो । उहाँले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारवाही गर्न पनि माग गर्नुभयो ।


त्यसैगरी मन्थलीमा भएको प्रदर्शनको क्रममा मृतककी छोरी तारा श्रेष्ठले पनि आफ्नी आमाको मृत्युको कारण आत्महत्या नभएर हत्या भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘अघिल्लो दिन मेराे बाबु र गोपीनी कार्कीले देखाएको ब्यवहारबाट नै मेरो आमाको हत्या बुबा र कार्की मिलेर गरेका हुन ।’

जाहेरी दर्तामा हामीले ढिला गरेका छैनौः प्रमुख सिंह
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख अमरेन्द्र बहादुर सिंहले घटनाको प्रकृति अनुसारको जाहेरी नआएकाले दर्ता हुन ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘घटनाको अनुसान्धलाई सघाउँ पुग्ने गरी जाहेरी हुनुपर्छ । त्यसमा हामीले सरकारी वकिलसँग पनि छलफल गर्नुपर्छ, त्यसैले ढिला भएको हो ।’ घटनाको विषमा अनुसन्धान भइरहेकाले घटनाको सत्य तथ्य चाँडै थाहा हुने उहाँले बताउनुभयो । दुबै अस्पतालको पोष्ट मार्टमको रिर्पोट आएपछि घटनालाई अनुसन्धान गर्न थप सहयोग पुग्ने बताउदै प्रमुख सिंहले पोष्ट मार्टमको रिर्पोट चाँडै आउने र त्यसको आधारमा मृतकको आफन्तलाई जानकारी गराइने बताउनुभयो । उहाँले घटनामा प्रहरीले कुनै पनि कमजाेरी नगरेकाे बताउनुभयाे ।

आत्महत्या र मारिएको पोष्ट मार्टमबाट मात्रै थाहा हुँदैनः अस्पताल
आत्महत्या र मारिएर झुण्ड्याइको कुरा अस्पतालको पोष्ट मार्टम रिर्पोटबाट मात्रै थाहा नहुने प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले बताएकाे छ । स्वास्थ्य केन्द्रका डा. राकेश शाहले रामेछाप न्युजसँग भन्नुभयो,‘अस्पतालले मृतकको शारीरिक परीक्षण तथा अनुसन्धान मात्रै गर्छ, त्यो काम गरी सकेका छौँ, त्यसको प्रतिबेदन सम्बन्धित निकायलाई बुझाएका छौँ ।’ डा. शाहाले अस्पतालले दिएको पोष्ट मार्टम रिर्पोटले मृतकका आफन्तलाई रिर्पोटमा चित्त नबुझे अर्को अस्पतालमा लान मिल्ने र मृतक झलकमाया श्रेष्ठका आफन्तले मृतकको शब त्रिवि शिक्षण अस्पतालमा लगेको बताउनुभयो ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. हरिहर अगस्तीले मृतक झलकमाया श्रेष्ठकोे शारीरिक अनुसान्धन भएको र त्यसको प्रतिबेदन पनि तयार भइसकेको र बुधबारभित्र प्रतिबेदन जिल्ला प्रहरी कार्यालयलाई बुझाईने बताउनुभयो । घटनामा संलग्न भनिएका धननारायण श्रेष्ठ र स्थानी गोपिनी कार्की जिल्ला प्रहरी कार्यालयमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्