रामेछापभर जोडिदै विद्युतको प्रशारण लाइन, राकाथुम र दाेरम्बामा बन्दै सव स्टेसन



स्नेहा सिलवाल

१३ मंसिर, रामेछाप । रामेछाप जिल्लाको आठ वटै स्थानीय तहलाई समावेश गरेर नेपाल विद्युत प्राधिकरणले सव स्टेनस निर्माणको कामलाई अगाडि बढाएको छ । विद्युत प्राधिकरणले खाँडादेवी गाउँपालिका–१ राकाथुम, दोरम्बा गाउँपालिका–२ दोरम्बामा सव स्टेसनको काम अगाडि बढाएको हो ।
सव स्टेसन ठाउँ ठाउँमा नहुँदा विद्युत झ्याप झ्याप जाने समस्याको समाधान गर्नको लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा सव स्टेसन निर्माण गर्ने योजना अगाडि बढेको छ । राकाथुममा निर्माण भइरहेको सव स्टेसन मार्फत सिन्धुलीको सुनकोसी गाउँपालिका, काभ्रेसको तेमाल, रोशी गाउँपालिका, रामेछापको सुनापती र खाँडादेवी गाउँँपालिकामा विद्युतीकरण गर्न सहज हुने भएको छ ।

 


राकाथुममा निर्माणाधिन सव स्टेसनमा सिन्धुली ढल्केवर प्रशारण लाइन अन्तर्गत खुर्कोटबाट ३३ केभी र ११ केभी प्रसारण लाइन जोडिनेछ । खुर्कोटबाट राकाथुमसम्म नौ किलोमिटर प्रसारण लाइन जोडिनेछ ।
१६ करोड लागतमा निर्माण हुन लागेको स्व स्टेसनमा १६ एम्पियरको ट्रान्सफर्मर रहनेछ । सव स्टेसन निर्माण भएपछि बिजुलीको भोल्टेज लस नहुने बताइएको छ । २५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको स्वस्टेसन यही माघभित्र सम्पन्न गर्नुपर्ने भएपनि बर्षाको कारण देखाउदै निर्माणको जिम्मेवारी पाएको कम्पनीले आगामी असार मसान्तभित्र सम्पन्न हुने बताएको छ ।


सव स्टेसनमा कर्मचारी बस्ने क्वार्टर पनि रहनेछ । निर्माणको जिम्मेवारी त्रिपुरेश्वर, जय दुर्गे इन्जिनियरिङका प्रबन्धक सञ्चालक सागर लुइलेटले आगामी असारसम्म सव स्टेसनको काम सम्पन्न हुने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सब स्टेसन मार्फत तीन जिल्लाका बासिन्दालाई निकै ठूलो फाइदा हुन्छ, माघसम्मको समयसीमा भएपनि बर्षाको कारणले काम गर्न नसकिएकाले असारभित्र नै सम्पन्न गरेर हस्तान्तरण गछौं ।’
खाँडादेवी गाउँपालिका–१ का वडा अध्यक्ष विष्णु श्रेष्ठले कामको गुणस्तरको बारेमा आफूले अनुगमन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘, गुणस्तरीय र समयमा नै काम होस भनेर स्थानीय सरकारले साथ सहयोग र निगरानी गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्