अर्थमन्त्री ढुंगेलको पहलमा रामेछापमा पाँच वटा प्रहरी चौकी बन्दै



रामचन्द्र बि.क.
३ पुस, रामेछाप । रामेछाप जिल्लाभित्र पाँच वटा नयाँ प्रहरी चौकी निर्माण हुने भएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा रामेछापमा पाँच वटा चौकी निर्माण हुन लागेको हो ।

शान्ति सुरक्षामा खटिने प्रहरी बस्ने कार्यालयलाई व्यवस्थित बनाउनको लागि आफूले भूमिका निर्वाह गर्ने बताउदै मन्त्री ढुंगेलले बाँकी रहेका प्रहरी चौकीहरुलाई पनि निर्माण गर्दै लगिने रामेछाप न्युजलाई बताउनुभयो ।

प्रदेश नम्बर ३ को सरकारले रामेछापको इलाका प्रहरी कार्यालय टोकरपुर, चोप्राङ इलाका प्रहरी कार्यालय, प्रिति इलाका प्रहरी कार्यालय, दोरम्बा प्रहरी चौकी, बाम्ती प्रहरी चौकी रहेका छन् । एउटा प्रहरी चौकी निर्माणको लागि प्रदेश सरकारले दुई करोड भन्दा बढी बजेट विनियोजन गरेको छ ।

ल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी अमरेन्द्र बहादुर सिंहले पाँच वटा प्रहरी चौकी निर्माणको लागि प्राविधिक रुपमा प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ, एउटा प्रहरी चौकी निर्माण गर्न कम्तिमा पनि तीन रोपनी जग्गा आवश्यक पर्छ ।’ पछिल्लो मापदण्ड अनुसार नयाँ निर्माण हुने प्रहरी चौकी गाउँपालिकासँगै निर्माण गर्नुपर्ने अवस्था रहेको बताउदै उहाँले मोडालिटिको बारेमा पनि छलफल भइरहेको बताउनुभयो ।
रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा हाल २३ वटा प्रहरी चौकी रहेका छन् । प्रहरी चौकी निर्माणको लागि दोरम्बा गाउँपालिकाले टोकरपुरमा जग्गा उपलब्ध गराइसकेको छ भने दोरम्बा पनि जग्गा उपलब्ध गराउने दोरम्बा गाउँपालिकाका–२ दोरम्बा वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले प्रक्रिया अगाडि बढाउनुभएको छ । खाँडादेवी गाउँपालिकाले पनि हाल गाउँपालिकाको कार्यालय रहेको माकादुममा नै जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्