खिम्ती–२ जलविद्युत आयोजनामा रामेछाप र दोलखाका बासिन्दालाई प्राथमिकता



१६ पुस, काठमाडौं ।  रामेछाप र दोलखाको सीमा खिम्ती खोलामा निर्माण हुन लागेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको काम आगामी फागुनबाट सुरु हुने भएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको खिम्ती–२ जलविद्युत आयोजना निर्माण हुने भएपछि रामेछाप र दोलखावासीमा खुसीयाली छाएको छ । आयोजनाले प्रभावित क्षेत्र दोलखा रामेछाप जिल्लाका प्रभावित क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिकता दिने बताएको छ

पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले खिम्ती–२ जलविद्युत आयोजनाको अहिलेसम्म विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), हाइड्रोलोजिकल मोडलिङ लगायत काम पूरा भइसकेको बताउनुभयो । उहाँका अनुसार ठेकेदारलाई काम गर्ने कार्यादेश समेत दिइएको छ । माघ महिनाभित्र आवश्यक काम काम सकेर फागुनदेखि निर्माण सुरु गर्ने तालिका जलविद्युत आयोजनाले बताएको छ ।

अध्यक्ष आचार्यले जलविद्युत आयोजना निर्माणमा स्थानीयलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘जनसहभागीतामा नै यो आयोजना निर्माण गर्न लागिएको हो, आयोजनाको तर्फबाट स्थानीयलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधा उपलब्ध गराउछौ ।’

 

कृष्ण आचार्य ,कार्यकारी अध्यक्ष, पिपुल्स इनर्जी लिमिटेड

खिम्तीतर्फ अहिलेसम्म २ वटा बेली ब्रिज, आवश्यक विद्युतको जोहो, क्याम्प, पहुँचमार्ग लगायत काम सकिएको अध्यक्ष आचार्यले रामेछाप न्यु्जलाई बताउनुभयो । आयोजना इपिसी–एफ (अध्ययन, खरिद, निर्माण तथा आर्थिक स्रोत व्यवस्थापन) मोडलमा चिनियाँ कम्पनीले निर्माण गर्न लागेको हो ।


खिम्ती निर्माण गर्न चीनको चोङक्विङ वाटर टर्बाइन वक्र्स (सिडब्लूटिडब्लू) ले ८ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का पाएको छ । उक्त आयोजनामा सानिमा बैंकको अगुवाईमा १० बैंकले लगानी गर्ने छन् । आयोजनाको अनुसार खिम्ती–२ को लागत करिब ९ अर्ब लाग्ने अनुमान गरिएको छ । खिम्ती–२ आयोजनाको २०७८ साल असारसम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।


जनसहभागीतमा खिम्ती–२ जलविद्युत आयोजना
पिपुल्स इनर्जी लिमिटेडले जनसहभागितामा खिम्ती २ जलविद्युत् आयोजनाको निर्माण र सञ्चालन गर्ने भएको छ । ईपीसी–एफ मोडलमा निर्माण गरिने आयोजनाले देश–विदेशमा रहेका नेपाली, विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञहरू, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू एवं विभिन्न संघसंस्था, सहकारी, कम्पनी तथा अन्य संगठित संस्थाहरूसमेतको लगानीमा दोलखा र रामेछाप जिल्लाका विभिन्न स्थानहरू हुँदै बग्ने खिम्ती खोलामा जलविद्युत् निर्माण गरिने बताएको छ ।
०७८ को असारसम्ममा सकिने यो आयोजनाको वार्षिक कुल अनुमाति आम्दानी प्रथम वर्षमा १ सय ४० करोड र वार्षिक ३ प्रतिशतको दरले ८ पटकसम्म बढदै नवौं वर्षमा १७४ करोडसम्म पुग्ने दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्