आज बेथान वीरता दिवसः २२ बर्षपछि बन्यो तीन शहीद ‘तिफदी’को शालिक



१९ पुस, रामेछाप ।
जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीले सफल फौजी आक्रमण गरेको बेथान प्रहरी चौकी कब्जा गरेको २२ बर्ष पुगेको छ । २०५३ साल पुस १९ गते अर्थात आजकै दिन माओवादीले बेथानको पानीघाटमा परेको प्रहरी चौकी कब्जा गरेको थियो । प्रहरी चौकी कब्जा गर्ने क्रममा माओवादीका तीन जना शहीद हुनुभएको थियो ।

हाल सुनापती गाउँपालिका–४ बेथानस्थित पानीघाटमा तीन शहीदको अर्धकदको शालिक निर्माण गरिएको छ । सुनापती गाउँपालिकाको लगानीमा शहीदको शालिक निर्माण गरिएको छ । शालिक निर्माणसँगै बेथानदेखि दोरम्बा हत्याकाण्डसम्म युद्ध पर्यटनको अवधारणा अगाडि सारिएको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले रामेछाप न्युजलाई बताउनुभयो ।


सुनापती गाउँपालिका राजनैतिक परिवर्तनको दृष्टिकोणले ऐतिहासिक भूमि हो । नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा बेथानको पानीघाटको नाम आउने गरेको छ । राजनीतिक परिवर्तनको लागि तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्धको सुरुवात गरेको थियो । सोही अनुरुप २०५३ पौष १९ गते बेथानको पानीघाटमा परेको प्रहरी चौकी आक्रमण गरेको थियो । बेथानमा रहेको प्रहरी चौकीमाथि सफल फौजी आक्रमण रुपमा तत्कालिन माओवादीले लिएको थियो ।
प्रहरी चौकी आक्रमणको क्रममा तीर्थ गौतम, दिलमाया योञ्जन, फत्तबहादुर इस्माली मगर शहीद हुनुभएको थियो । तत्कालिन माओवादीले पुस १९ लाई औपचारिक रुपमा ‘वीरता दिवस’ भनेर मनाउदै आएको छ । घटनामा शहीद हुनुभएका दिलमाया योञ्जन जनयुद्धको पहिलो महिला शहीद हुनुहुन्छ ।

नेकपा तीन नम्बर प्रदेशका सदस्य टंकलाल घिसिङ ‘टलक’ले बेथान वीरता दिवसको सार्थकता झन बढदै गएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपालको राजनैतिक परिवर्तनमा बेथानले ठूलो योगदान गरेको छ, बेथानको वीरतालाई चिनाउन, बेथानदेखि दोरम्बासम्म युद्ध पर्यटनको विकास गरेर अगाडि बढनु पर्छ ।’ बेथानको प्रहरी चौकी आक्रमणमा परी प्रहरीका दुई जनाको मृत्यु भएको थियो । २२ औ बेथान वीरता दिवसको नेकपा सुनापती गाउँ कमिटीले शहीद स्मारक पानीघाटमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेकपा तीन नम्बर प्रदेशका सचिव आनन्द पोखरेल, तीन नम्बर प्रदेशका अध्यक्ष नारायण दाहाल, रामेछापका प्रतिनिनिसभा सासंद समेत रहेका केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठ, अन्य केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य लगायतका नेताहरुको सहभागीता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्