माग पूरा नभएसम्म आयोजना सञ्चालन गर्न दिदैनौः अध्यक्ष खड्का



२७ पुस, रामेछाप ।

रामेछापकाे लिुख तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले सानिमा हाइड्रोले स्थानीयको माग सम्बोधन नगरी झुक्याउने काम गरेको आरोप लगाउनुभएको छ । उहाँले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा आफूले स्थानीयवासीको माग सम्बोधन गर्न राखेको विषयको सुनुवाई नभएको दावी गर्दै माग पूरा नभएसम्म आयोजना सञ्चालन हुन नदिने बताउनुभयो ।


स्थानीयवासीको जायज माग पूरा गर्न छोडेर आयोजनाले राजनीतिक पहुँचको आधारमा पेल्न खोलेको बताउदै अध्यक्ष खड्काले भन्नुभयो,‘मैले कुनै स्वार्थ राखेको छैन, आयोजना बन्नुपर्छ भन्ने पक्षमा छु, तर जनताको उठिवास लगाएर आयोजना अगाडि बढन सक्दैन ।’
आफूले पटक–पटक आयोजनालाई स्थानीयको माग सम्बोधन गर्न आग्रह गर्दा पनि बेवास्था गरेर अगाडि बढेको बताउदै नागरिकहरुप्रति अत्याचार नै भएपछि आफूले बाँध्य भएर आयोजनामा अवरोध सृजना गरेको बताउनुभयो ।


जलविद्युत आयोजनामा अध्यक्ष भएर तपाईले अवरोध र आन्दोलनको नेतृत्व गर्न गलत होइन र ? भन्ने रामेछाप न्युजको प्रश्नमा उहाँले भन्नुभयो,‘नियम कानुन अनुसार काम गरे स्थानीय सरकार आयोजनालाई सहयोग र समन्वय गर्न तयार छ, तर नेताको पावर लगाएर स्थानीय जनतामाथि हेपाह प्रवृत्ति स्वीकार्य छैन ।’
उहाँले आफ्नै पार्टीका नेता र सांसदहरुले आयोजनामाथि अवरोध नगर्न दबाब दिएको खुलासा गर्दै जनताको जाजय माग पूरा गराउन जनप्रतिनिधिको हैसियतमा अन्तिम अवस्थासम्म पनि दृढतापूवक लाग्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पनि क्रसर बाहेक आयोजना अगाडि बढाउने निर्णयमा अध्यक्ष खड्काले पनि हस्ताक्षर गर्नुभएको छ । तर उहाँले छलफलमा माग पूरा नभएसम्म आयोजना सञ्चालन हुन नसक्ने अडान लिएपनि उपस्थितिमा सुरुमा नै हस्ताक्षर गर्न लगाएर पछि निर्णय भएको आरोप लगाउनुभयो । उहाँले उक्त निर्णयमा आफूले नोटअफ निसेन्ट लेख्ने बताए पनि निर्णय भइसकेको भनेर असहमति राख्न नदिएको गुनासो गर्नुभयो ।
लिखु तामाकोसी गाउँपालिका–२ सैपुस्थित लिखु खोलामा निर्माणाधिन २८.१ जलविद्युत आयोजना स्वेतगंगा सानिमा हाइड्रो पावरले निर्माण गरिरहेका छ । अनाधिकृत रुपमा खोलाभित्र नै क्रसर उद्योग सञ्चालन गरेको आइइएको रिपोर्ट कार्यान्वयन नगरेको आरोप लगाउदै केही दिनदेखि स्थानीयले अवरोध सृजना गर्दै आएका छन् ।

स्वेतगंगा सानिमा हाइड्रपावरका डाइरेक्टर डा. सुवर्णदास श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले आयोजना निर्वाध रुपमा सञ्चालन गर्ने निर्णय गरेको दावी गर्नुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘स्थानीयले उठाएको मागप्रति आयोजना सकारात्मक छ, केही समस्या आएका छन, ती समस्या केही दिनभित्र नै समाधान गर्नेतर्फ हामी लागेका छौं ।’

प्रतिक्रिया दिनुहोस्