भुकम्प सुरक्षा दिवसः राजनीतिक दलका गुनासो, भुकम्प पीडितले अझै पाएनन न्याय



रामचन्द्र वि.क.
२ माघ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले विनाशकारी भुकम्पबाट पाठ सिक्दै थप सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले भुकम्पबाट सुरक्षित बनाउनको लागि विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताउदै विद्यार्थीहरुले विद्यालयमा सिकेका विषयहरु घरघरमा आफ्ना अभिभावक र समाजलाई जानकारी गराउनुपर्ने बताउनुभएको हो ।

रामेछापको सदरमुकाम मन्थलीमा बुधबार २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ शर्माले भुकम्पले भन्दा पनि मानव निर्मित संरचनाले ठूलो धनजनको क्षति हुने बताउनुभयो ।
कार्यक्रममा रामेछापका राजनीतिक दलका नेताहरुले विनाशकारी भूकम्पमा उद्धार तथा राहत वितरणमा आफूहरुले पुर्याएको योगदानको मुल्यङ्कन नभएको गुनासो गरेका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर आयोजित कार्यक्रममा राजनीतिक दलका नेताहरुले गुनासो पोखेका हुन् ।

नेपाली काग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले विनाशकारी भुकम्पपछि राजनीतिक दल, सामाजिक संस्था लगायत विभिन्न निकायले आफ्नो परिवार समेत नसम्झी काम गर्दा कुनै मुल्यङ्कन नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘विपदमा काम गर्ने धेरै छन्, उनीहरुको केही मुल्यङ्कान भएन भने भविष्यमा आउने विपतमा सहयोग गर्ने जाँगर मरेर जान्छ, जसले गर्दा धेरै ठूलो क्षेति हुन सक्छ ।’

कार्यक्रममा नेकपाका नेता लब श्रेष्ठले भूकम्प पश्चात गाउँमा लगत संकलन गर्दा धेरै भूकम्प पीडितहरु छुटेकोले उनीहरुको गुनासको उचित मूल्याङकन गर्न राज्यसँग माग गर्नुभयो । नेता श्रेष्ठले प्राधिकरणले भूकम्प पीडितको काम गर्न स्थानीय तहलाई जिम्मा लगाइसकेको अवस्थामा पीडितहरुको गुनासोलाई चाँडो भन्दा चाँडो सम्बोधन गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।


त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्लाका भुकम्प पीडितहरु कोही पनि नछुट्ने गरी स्थानीय तहलाई काम गर्न आग्रह गर्नुभयो । उहाँले गुनासो सुनुवाईको कामलाई छिटो भन्दा छिटो टुङग्याउने गरी स्थानीय तहसँग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सदरमुकाम मन्थलीका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले काविता मार्फत भूकम्पबाट बच्ने उपायको बारेमा जानकारी समेत गराएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका नेता, गैरसरकारी संस्थाका प्रमुख लगायतको सहभागीता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्