स्थानीय तहको अधिकार कटौतीप्रति जनप्रतिनिधिको आक्रोशः उपप्रधानमन्त्री भन्छन्– स्थानीय तह सर्वेसर्वा हाेइन



रामचन्द्र वि.क.
७ फागुन, रामेछाप । गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुले स्थानीय तहलाई संविधानले दिएका अधिकारहरु संघीय सरकारले खोस्दै गएको आरोप लगाएका छन् । सोमबारदेखि दोलखा र रामेछापको सीमा किर्नेमा सुरु भएको दुई दिने गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तीन नम्बर प्रदेशको प्रथम अधिवेशनमा आफ्नो धारणा राख्दै जनप्रतिनिधिहरुले यस्तो आरोप लगाएका हुन् । अधिवेशनमा बोल्दै रामेछापको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले संविधानमा उल्लेख भएका अधिकारहरु संघ र प्रदेशले खोस्दै गएको गुनासो गरे । उनले स्थानीय तहमा आउनु पर्ने कर्मचारीहरु संघमै बसेर अधिकारहरु खोस्न लागि रहेको पनि आरोप लगाए ।


स्थानीय तहका अधिकार खोसिदैँ छन्ः केसी

कार्यक्रममा बोल्दै नगरपालिका संघ तीन नम्बर प्रदेशका प्रतिनिधि तथा दोलखाको भिमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीले जिल्लाको सदरमुकाममा कृषि, स्वास्थ्य, सडक खानेपानी जस्ता कार्यालय खोल्दै संघियताको मर्म विपरीत केन्द्रिय सरकार अगडी बढ्न खोजेको आरोप लगाए । उनले प्रश्न गर्दै भने, ‘राजस्वको केही उपसचिव अटाउन पाइएन भनेर तिनका नाममा कानून बनउने कुराले स्थानीय सरकार बलियो हुन्छ, यो संघीय सरकारले गर्न खोजेको के हो ?’ नगर प्रमुख केसीले यदि यस्तै हुँदै जाने हो भने सर्बोच्च अदालतमा स्थानीय सरकारको अधिकार स्थापना गराउनको लागि मुद्धा हाल्न आफूहरु बाध्य हुने चेतावनी समेत दिए ।
अधिकारी कटौती हुँदै गए आन्दोल गर्न पछि पदैनौः जिसस प्रमुख

कार्यक्रममा बोल्दै जिल्ला समन्वय महासंघ केन्द्रिय कार्य सम्पादन समितिका सदस्य समेत रहेका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले तीन ओटा सरकारको समन्वय नमिल्दा स्थानीय तहको विकासमा केही समस्या देखिएको बताए । उनले स्थानीय सरकार र जिल्ला समन्वय समितिलाई दिएका अधिकारहरु खोसिदै जाने हुन् भने ७ सय ५३ ओटै स्थानीय तहहरु र ७७ ओटै जिल्ला समन्वय समितिले आवाज उठन समेत पछि नपर्ने चेतावनी समेत दिएका छन् ।


स्थानीय सरकार सर्वेसर्वा हैनः उपप्रधानमन्त्री पोखरेल

कार्यक्रममा जनप्रतिनिधिहरुले संघीय सरकारको चर्को आलोचना गरेपछि संघिय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय सरकारहरूले संवैधानिक व्यवस्था बिर्सेर सर्वेसर्वा हुँ भन्नु गलत भएको बताएका छन् । स्थानीय सरकारका प्रतिनिधिहरुले आफ्नो धाराणाहरु राखी सकेपछि मात्रै कार्यक्रमस्थल आइपुगेका मन्त्री पोखरेलले जनप्रतिनिधिको गुनासोको जबाफ दिनुको साटो स्थानीय सरकारले के के न पायौँ भनेर सघीय र प्रदेश सरकारलाई समेत नटेर्ने अवस्था आएकोमा रोष प्रकट गर्दै आफ्नो भनाई टुङ्ग्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्