हेलिकोप्टर दुर्घटनाः सबैलाई रुवाएर विदा भए मन्त्री अधिकारी, को थिए अधिकारी ?



१५ फागुन, काठमाडौं ।
हेलिकोप्टर दुर्घटनमा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारी सबैलाई रुहाएर विदाभएका छन् । नेकपा युवा नेता एवं मन्त्री अधिकारीले युवा पुस्ताको नेतृत्व गर्दै राजनीतिमा उदायमान नेताको रुपमा आफूलाई स्थापित गरेका थिए । पर्यटन मन्त्री भएपछि सुधारको काम गर्दै अगाडि बढेका उनले आलोचनाको चाङ पन्छाउदै अघि बढेका थिए । पर्यटनमन्त्री भएपछि अधिकारीले पर्यटन क्षेत्रमा नयाँ आशाको सञ्चार गराएका थिए । दिनरात पर्यटन क्षेत्रको सुधार र विकासमा खटिदै आएका मन्त्री अधिकारीको असाहिक निधनले सबैलाई स्तब्ध बनाएको छ ।


नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निवार्चित सांसद रबिन्द्र अधिकारी पर्यटन मन्त्रीको रुपमा वर्तमान सरकारमा जिम्मेवारी पाएका थिए । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता थिए । यसअघि देशमा भएको विभिन्न सर्वेक्षणमा १० उत्कृष्ट सभासद् चयन अनलाइन भोटिङबाट रविन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा चुनिएका थिए । उनलाई विगतमा गण्डकी प्रदेशको नेकपाको मुख्यमन्त्रीको उमेरदवारको रुपमा हेरिएको थियो । राजनीतिक बिश्लेषकहरुले उनलाई नेकपाको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने प्रवल सम्भावना रहेको क्षमता भएको नेताको रुपमा हेरेका थिए । तर पनि पछिल्लो समय भएको वाइडबडी भ्रष्टाचार काण्डमा भने उनको नाम जोडिँदा केही प्रतिष्ठा खस्किएको थियो ।

बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा विसं २०२६ साल वैशाख २२ गते आइतबार कास्की जिल्लाको तत्कालिन भरतपोखरी गाविस–९ जामुनाबोटमा जन्मिएका रविन्द्र अधिकारीले वैवाहिक सम्बन्ध बिध्या भट्टराईसँग भएको थियो । बिद्यार्थी राजनीतिमा चर्चित अधिकारी र भट्टराईको बिद्यार्थी बीचकै प्रेम सम्बन्धलाई विवाहमा बदलेका थिए । बिद्यार्थी समयमा चर्चित नेताको रुपमा रहेकी विद्या अहिले भने त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा छन् । उनीहरुका दुई छोराहरु छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । २०४५ मा १ वर्ष माध्यमिक विद्यालयमा अध्यापन गरेका अधिकारी विभिन्न क्याम्पसहरुमा अतिथि प्राध्यापकको रुपमा अध्यापन गर्दथे । एशियाली बिद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघ लगायत अन्तराष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारी बिभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिएका थिए ।

राजनीतिमा संगठित हुँदा उनी सिर्फ १२ वर्षका थिए । २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियूका सबैभन्दा कान्छा सदस्य भएका थिए । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबहरुमा संलग्न थिए । विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शनलगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीवनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित बिद्यार्थी थिए । उनीहरुले हजारौं दर्शकको बिचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम बिद्यालय जीवनमै प्रदर्शन गरेका थिए । उहाँको बिद्यार्थी राजनीति यात्रा यस प्रकार छ ।

१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
२. प्रवेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरू ।
३. बिद्यालयदेखि नै राजनीतिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिविधिमा सक्रिय ।
४.२०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५. २०४५ मा १ वर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वा्चित ।
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वा्चित ।
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वा्चित ।
१ण्. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष ।

विद्यार्थी आन्दोलन र जेल
आजको आवश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागि पञ्चाएतको अन्त्य भन्ने नाराका साथ २०४६ को जनआन्दोलनमा क्रियाशील रविन्द्र पञ्चायत कालमा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताए । २०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उनी क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गरेका थिए । २०४६ को परिवर्तनपछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गरे । कलेज भवन निर्माण, क्याम्पस गेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा बिद्यार्थीको पोशाकलगायत कुराहरुमा ठूलो सुधार र परिवर्तन भयो ।

त्रिबिका स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापकहरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरन्तर प्राज्ञिक बहस सञ्चालन गर्दथे । अर्थशास्त्र बिभागका प्राध्यापक टीपी चौधरीलाई बरिष्ट प्राध्यापकको उपाधि उनकै पहलमा सम्भब भएको थियो ।

शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू(भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उनको नाम नमेटीने गरी लेखिएको छ ।

१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वा्चित ।
७. संविधान सभा २०६४ को सभासद ।
८. २०७० सालको संविधानसभा सदस्य ।
९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।

१०. व्यबस्थापिका संसदको विकास समितिको सभापति ।
११. हाल पर्यटन मन्त्री

राजनीति र विकास

राजनीति र विकास एक अर्काका अन्तरसम्बन्धित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संबिधानसभा र संसदमा रहदा कास्की जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेले । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई, पोखरा फराकिलो बनाउने, पुलहरू निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस लगायत बिभिन्न विद्यालयहरुको निर्माण, पोखराको खानेपानी, क्लबहरु, खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेलेका छन् । पोखरालाई बिश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोकेका अधिकारी पोखरामा अन्तराष्ट्रीय बिमानस्थल, चक्रपथ, काठमाण्डू पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमांडू पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईलैण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे लगायतका देशहरु उनले भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्