सुनापती गाउँपालिकाको ५ वटै वडाको टोलटोलमा सडक



२ चैत्र, रामेछाप ।
सुनापती गाउँपालिकाको ५ वटै वडाको टोलटोलमा कच्ची सडकको पहुँच पुगेको छ । पाँच वटै वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्र हिलेदेवीसम्म सबै मौसममा सवारी साधन सञ्चालन हुने गरी सडक निर्माण गरिएको हो । गाउँपालिकाले नयाँ ट्रयाक निर्माणतर्फ भन्दा पनि निर्माण भएको सडकको स्तरउन्नती गर्ने नीति लिएको छ ।


गाउँपालिकाले सडकको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) बनाएर नै काम अगाडि बढाएको छ । सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सडकको प्राथमिकता छनोट गरेर डिपिआर मार्फत टेन्टरबाटै सडक निर्माणको काम अगाडि बढाइएको बताए । उनका अनुसार गाउँपालिकाभित्रको करिब ४९ किलोमिटर सडकको डिपिआर गरिएको छ ।

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिका स्थापना भएपछि सार्वजनिक सेवामा नागरिकको पँहुच बढेको बताए । उनले भने,‘निर्वाचनमा नागरिकहरुसँग गरिएको प्रतिबद्धता अनुसार नै काम अगाडि बढाइएको छ, नागरिकहरुको अपेक्षा धेरै छ, हामीले सकेसम्म परिणाम दिने कोशिस गरिरहेका छौं ।’
सुनापती गाँउपालिकालाई पूर्णसाक्षर, खुला दिशामूक्त क्षेत्र, पूर्ण खोपयुक्त घोषणा गरिनु पनि उपलब्धी भएको अध्यक्ष लामाले बताए । जेष्ठ नागरिकहरुलाई राहत वितरण र विपन्न, असक्त र असाध्य रोग लागेका व्यतिmलाइ आर्थिक सहायता प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता कमल केसीले बताए ।

उनका अनुसार लक्षित समुदाय र वर्गको सशक्तिकरण र क्षमता विकासमा जोड दिईएको छ । गाउँपालिकाको कार्यक्रम अन्तर्गत सामुदायिक स्वास्थ्य संस्थाको विस्तार गर्नुको साथै गाउँपालिकाभित्रको सबै वस्तीमा विद्युतीकरणको काम सम्पन्न भइसकेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत निरौलाले नागरिकहरुको सेवा र सुविधालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउछन । उनका अनुसार गाउँपालिकाभित्र १४ सय ७१ जेष्ठ नागरिकलाई परिचयपत्र वितरण, ६०६ गरिब घरपरिवार परिचयपत्र वितरण र अपाङ अपरिचय पत्र वितरण गरिएको छ । गाउँपालिकाभित्र आइपर्ने चुनौतीलाई सामना र व्यवस्थापन गर्न विभिन्न कोषको व्यवस्था गरी काम अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्