डहु माविका घाइते शिक्षक महतको निधन



चैत्र ४, काठमाडौं ।
रामेछापको सुनापती गाउँपालिका–४ बेथानको डहुस्थित डहु माविमा फागुन २१ गते राती अज्ञात समुहको आक्रमणमा परी घाइते भएका शिक्षक मोहन महतको उपचारको क्रममा निधन भएको छ । काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा हिजो राती निधन भएको हो ।
फागुन २१ गते राती विद्यालय परिसरभित्र रहेको होस्टलबाट बाहिर निस्कने क्रममा विद्यालयका शिक्षकहरुले महतलाई घाइते अवस्थामा फेला पारेका थिए ।

तिघ्रा, घाट्टी टाउकोमा गम्भीर चोट लागेपछि सोही दिन राती नै महतलाई एम्बुलेन्स मार्फत काठमाडौं ल्याइएको थियो ।
महतको स्वास्थ्य बीचमा केही सुधार भएपनि केही दिन अघिबाट समस्या आएको थियो । महतको स्वास्थ्यमा सुधार भएर दोषीको बारेमा थप रहस्य खेल्ने आशा गरिए पनि अन्नतः शिक्षक महतको दुःखद निधन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङले शिक्षक महतको निधन हुनु निकै दुःख भएको बताए ।
उनले रामेछाप न्युजसँग भने,‘घटनामा संलग्न दोषी जो कोही भएपनि पत्ता लगाउनु पर्छ, हामीले प्रहरीसँग पनि लिखित रुपमा माग गरेको छौ, अनुसन्धानको क्रममा हामी प्रहरीलाई सक्दो सहयोग गर्न तयार छौं ।’ निधन भएका शिक्षकको दुई छोरा, श्रीमती बुबा आमा र एक भाई रहेको वडा अध्यक्ष घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्