रामेछापमा कांग्रेसको सक्रियताः धमाधम प्रशिक्षण कार्यक्रम



१२ चैत्र, रामेछाप ।
रामेछापमा नेपाली कांग्रेसको सक्रियता बढेको छ । जिल्ला कार्य समिति रामेछापको सक्रियतामा स्थानीय तहमा धमाधम प्रशिक्षणको कार्यक्रम सुरु भएको हो । नेकपा नेतृत्वको दुई तिहाई सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको कांग्रेसले गाउँगाउँमा कार्यकर्तालाई वर्तमान राजनीतिको अवस्था र आगामी कार्यभारको बारेमा प्रशिक्षण सञ्चालन गरेको छ ।

कांग्रेस जिल्ल प्रशिक्षण शाखाको समन्वय र कांग्रेस रामेछाप नगर समन्वय समितिको आयोजनामा रामेछाप नगरपालिकामा दुई दिने नगरपालिकास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अगुवा कार्यकर्तालाई कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, कांग्रेस नेता लक्ष्मण घिमिरे, प्रशिक्षक प्रमोदहरि गुरागाई, रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, सचिव लेखबहादुर कार्की, झनक श्रेष्ठ, गंगा अधिकारी लगायतले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।


प्रशिक्षण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गुरुङले कम्युनिष्ट सरकारले राम्रो काम गर्न नसकेको बताउदै संगठन बलियो बनेपछि मात्र कांग्रेस बलियो हुने बताए । दुई तिहाईको सरकार गफमात्र गरेर समय विताइरहेको छ, सरकार सञ्चालनयमा यो सरकार क्रमश, असफल बन्दै गएको छ, उनले भने ।


कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले पार्टीले प्रशिक्षणको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । यस अघि कांग्रेसले मन्थली नगरपालिकामा नगरस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्