मन्थलीमा विदेशी पर्यटक भित्रिए,नगरपालिकासँग योजना नै छैन



२५ चैत्र, रामेछाप ।
मन्थली विमानस्थल सञ्चालनमा आएसँगै रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा विदेशी पर्यटकहरुको घुइँचो लागेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मर्मतको लागि तीन महिना दस घन्टा बन्द गर्ने निर्णयसँगै नागरिक उडयान प्राधिकरणले मन्थलीबाट लुक्ला उडान गर्न सुरु गरेको छ । रामेछाप उद्योग वाणिज्य संघले मन्थली विमानस्थल सञ्चालनमा आउनु जिल्लाको लागि अवसर भएको बताएको छ ।

विदेशी पर्यटक त मन्थलीमा दैनिक रुपमा भित्रिएका छन् । तर स्थानीय सरकारले पर्यटकलाई आफ्नो ठाउँको पहिचान दिने गरी कुनै पनि कार्यक्रम तय गर्न सकेको छैन् ।

मन्थली नगरपालिकाले पर्यटकको चहलपहल बढेपनि स्थानीय पर्यटकलाई आकर्षण गर्ने खालको कार्यक्रम बनाउन सकेको छैन् । मन्थली नगरपालिकाभित्र माझी समुदायको मौलिक संस्कृतिलाई देखाउन सके मात्र एक रात पर्यटकलाई आकर्षण गर्न सकिन्छ । साथै आर्थिक रुपमा फाइदा हुन्छ । तर न मन्थलीका माझी समुदायको अगुवाहरुले ध्यान दिन सकेका छन् । न त नगरपालिकाले नै योजना बनाएको छ ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश वस्नेतले पर्यटकहरुलाई नै लक्षित गरेर कुनै पनि कार्यक्रम तय नगरिएको रामेछाप न्युजलाई बताए । उनले भने,नगरपालिकामा पर्यटक लक्षित कार्यक्रम सञ्चालन गर्न कसैले पनि प्रस्ताव ल्याएका छैनन, आएको अवस्थामा नगरपालिकाले सहयोग गर्छ ।

रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन घिमिरेले मन्थली विमानस्थल सञ्चालन भएसँगै व्यापार व्यवसाय बढेको बताए । उनले भने,विदेशी पर्यटक मन्थलीमा आएको यो पहिलो पटक हो, जिल्लालाई चिनाउने अवसर पनि हो । घिमिरेका अनुसार तामाकोसीमो बोटिङ गराउन सके मात्र ठूलो फाइदा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्