रामेछापका भुकम्प पीडितले सरकारलाई फिर्ता गरे पैसा (नामावली सहित)



२९ चैत्र, रामेछाप ।
भुकम्प गएको चार बर्षको अवधिमा पनि भुकम्पले भत्काएको घर निर्माण गर्न नसक्ने भन्दै रामेछापका १३ जना भुकम्प पीडितले सरकारले प्रदान गरेको पचास हजार रुपैयाँ फिर्ता गरेका छन् । चार बर्षको अवधिमा पनि घर निर्माण गर्न नसकेपछि तीन लाख रुपैयाँले घर निर्माण गर्न नसकेको भन्दै पचास हजार सरकारलाई नै फिर्ता गरिदिएका हुन् ।

सरकारले गैर भुकम्प पीडितलाई पैसा फिर्ता गर्न आग्रह गरेको थियो । पैसा फिर्ता गर्ने केही भुकम्प पीडितहरु बसाइँ सरेर गएको समेत रहेका छन् । अन्यत्र घर भएर पनि लाभग्राहीमा नाम निस्किएपछि सरकारले पहिलो किस्ता पचास हजार प्रदान गरेको थियो । तर लामो समयसम्म पनि घर निर्माण नगर्ने लाभग्राहीसँग पैसा फिर्ता लिने चेतावनी सरकारले दिएपछि रामेछामा पनि केहीले पैसा फिर्ता गरेका हुन् ।

लाभग्राहीको सूचिमा सुचिकृत भएर पहिलो किस्ता पचास हजार लिएर पनि घर निर्माण नगरेका हुन् । पचास हजार पैसा फिर्ता दिनेमा रामेछाप लिखु तामाकोसी गाउँपालिका सैपुका इन्द्र बहादुर तामाङ, सोही वडाका राधा तामाङ, दोरम्बा गाउँपालिका लखनपुरका पेम्बा दोर्जे तामाङ, दोरम्बाका खड्ग बहादुर श्रेष्ठ, रामेछाप नगरपालिका ओख्रनीका ललित बहादुर श्रेष्ठ, मन्थली नगरपालिका पिङखुरीका खम्बु बहादुर मगर, सुनापती गाउँपालिका बेथानका कल्पना खड्का, बेथानकै पदम बहादुर तामाङ, रुद्रबहादुर पाण्डे, रामेछाप नगरपालिका रामेछापका राम प्रसाद घिमिरे, रामेछाप नगरपालिकाका रामपुरका ठाकुरदास श्रेष्ठ, आख्रनीका जगबहादुर मगर, र मन्थली नगरपालिकाका भवन कार्की रहेका छन् ।
जिल्ला आयोजना कार्यान्वय इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापका इन्जिनियर सुरेन्द्र यादवले दुई बर्षको अवधिमा १३ जना लाभग्राहीहरुले पचास हजार रुपैयाँ फिर्ता गरेको रामेछाप न्युजलाई बताए । उनले भने,‘घर निर्माण गर्न कसेपछि पैसा फिर्ता गरेको लाभग्राहीले बताएका छन् ।’ यादवका अनुसार १३ जनाले पहिलो किस्ता लिएको पचास हजारको दरले ६ लाख पचास हजार फिर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्