पूर्व जनमुक्ति सेना संघ रामेछापको सक्रियता



७ वैशाक, काठमाडौं ।
पूर्व जनमुक्ति सेना संघ रामेछापले नयाँ बर्षको अवसरमा राजधानी काठमाडौंमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । दस बर्षे जनयुद्धमा रामेछापबाट सहभागी भएका करिब तीन सय भन्दा बढी पूर्व जनमुक्ति सेनाहरु संगठित भएका हुन् । निर्मल बोहोराका अध्यक्षमा गठित संघले राज्यले आफूहरुलाई सम्मान नगरेको गुनासो गर्दै आएका छन् ।

कार्यक्रममा नेकपका नेता जनार्दन शर्माले पार्टी एकता प्रक्रियामा ढिलाई हुँदा पार्टीको सामु प्रश्न नै प्रश्न रहेको बताए । उनले भने,‘पार्टीभित्र जताततै प्रश्न मात्र छ, जवाफ छैन ।’ उनले प्रश्नको जवाफ दिन सक्दा सफलता र जवाफ दिन नसक्दा असफलता बेर्होनु पर्ने बताए ।
‘राजनीतिमा एक्लै दौडिएर सफलता प्राप्त गरेको देख्छु, राजनीतिक सामुहिक म्याराथन हो, सबैलाई म्याराथनमा सहभागी गराउन सके मात्र सामुहिक हुन्छ’, उनले भने । सगरमाथाको उचाई अग्लो बनाउन फेदमा रहेको चट्टानले ठूलो भूमिका खलेपनि अहिलेसम्म चुचुरोको मात्र चर्चा हुने र आधारस्तभको चर्चा नभएको उनले गुनासो गरे । राजनीतिमा एक्लै दौडनु भ्रम भएको उल्लेख गर्दै नेता शर्माले पार्टीमा सबैको विचार योगदान र क्षमतालाई सहभागी गराएर अगाडि नबढेसम्म सफलतामा पुग्न नसकिने चेतावनी दिए ।

कार्यक्रममा रामेछापका प्रतिनिधिसभा सासद श्याम कुमार श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा जनमुक्ति सेनाको ठूलो भूमिका रहेको बताए । उनले पार्टी एकता भएको लामो समय वितिसक्दा समेत एकताको बाँकी काम टुंगो लाग्न नसक्द अन्यौलता रहेको बताए । उनले भने,‘नेकपाभित्र रहेको अन्तरविरोधको सही समाधान गरेर अगाडि नबढदासम्म समाजवादी यात्र पूरा हुन सक्दैन ।’
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठले पार्टी एकता प्रक्रियामा भइरहेको ढिलाई चाँडो भन्दा चाँडो टुंगो लगाउनु पर्ने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले राजनीतिमा ठेकदारीप्रथा मौलाउदै गएको बताए । पार्टीभित्र एक बर्ष भुमिका विहिन हुनु पर्दा असहज भएको बताउदै तत्काल पार्टी एकता टुंगो लगाउनु पर्नेमा जोड दिए । उनले भने,‘घृणित काम गर्ने जमातले राजनीति ढाकिएको छ, आज पार्टीको स्थायी समिति र केन्द्रीय सदस्यको भन्दा एउटा ठेकेदारको मुल्य छ ।’

पूर्व सभासद एवं नेकपाका तीन नम्बर प्रदेश कमिटीका सदस्य डिल्लीमान तामाङले एकता प्रक्रिया टुंगो नलाग्दा कार्यकर्तामा अन्यौलता बढेको बताए । कार्यक्रममा नेकपा तीन नम्बर प्रदेश कमिटीका सदस्य टंकलाल घिसिङ ‘टलक’ले पार्टीले लिएको विचार र सिद्धान्त व्यवहारमा लागू नभएसम्म समृद्ध देश निर्माण हुन नसक्ने बताए । पार्टीले अगाडि सारेको समाजवादी क्रान्तिमा पनि वर्ग संघर्ष रहने बताउदै समाजवाद विरोधी शक्तिको पहिचान गरी अगाडि बढनु पर्ने बताए । ‘पार्टीभित्र इष्या मात्र पालेर हुँदैन, इतिहासले दिएको जिम्मेवारी पनि बहन गर्न खरो रुपमा उत्रिनु पर्छ’, उनले भने ।
कार्यक्रममा पूर्व सभासद एवं तीन नम्बर प्रदेश कमिटीका सदस्य लक्ष्मी गुरुङले अहिलेको राजनीतिक परिवर्तनको लागि जनमुक्ति सेनाको योगदान महत्वपूर्ण रहेको बताइन ।
त्यसैगरी तीन नम्बर प्रदेश कमिटीका सदस्य प्रेम कुमार कार्कीले जनमुक्ति सेनाकै कारण अहिलेको आमूल परिवर्तन सम्भव भएको बताए ।

कार्यक्रममा सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट,निर्मल बोहोरा, सुमन लामा लगायत रामेछापका पूर्व जनमुक्ति सेनाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्