मन्थलीमा एक बोतल पानीको ५० रुपैयाँ, ठगिदै उपभोक्ता



८ वैशाक, रामेछाप ।
एक बोतल पानीको मुख्य कति पर्ला ? वीस रुपैयाँ, पच्चिस रुपैयाँ, तीस रुपैयाँ । सामान्यता मिनलरवाटरको मुल्य यही नै हो । मन्थलीमा विदेशी पर्यटकहरुको भिड बढेसँगै मिनलरवाटर पानीको मुख्य पनि दोब्बर भएको छ । रामेछाप होटल व्यवसायी संघले एक बोलत मिनलरवाटर पचास रुपैयाँ निर्धारण गरेपछि उपभोक्ताले आपत्ति जनाएका छन् ।

मन्थली वैशाकमा झन गर्मी हुने समय नै हो । मन्थलीबाट लुक्ला नियमित उडान भएपछि मन्थलीका होटलहरु खचाखच भरिएका छन् । होटल व्यवसायीहरुले फरक–फरक मुल्य निर्धाण गर्न लागेको गुनासो बढेपछि रामेछाप होटल व्यवसायी संघले मुल्यमा एक रुपता ल्याउन मुल्य सूचि निर्धारण गरेको छ ।

बैठकले निर्णय गरेको मुल्य सूचि सबै होटलहरुमा पठाइएको छ । तर जिल्ला प्रशासन कार्यालयको समन्वयमा निर्धारण गर्नुपर्ने मुल्य निर्धारण व्यवसायीहरुले एकलौटी रुपमा निर्धारण गरेर सबै होटलहरुमा पठाएका छन् ।

रामेछापमा डेढ सय भन्दा बढी होटल सञ्चालनमा रहे पनि पचास वटा होटल मात्र व्यवस्थित रुपमा सञ्चालन हुँदै आएको रामेछाप होटल व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठले रामेछाप न्युजलाई बताए ।

पानीको मुल्य पचास रुपैयाँ त महंगो भयो भन्ने गुनासो छ नि भन्ने प्रश्नमा श्रेष्ठले टाढाबाट ल्याउनु पर्ने भएकाले खासै महंगो नभएको जवाफ दिए । उनले स्थानीय रुपमा मन्थलीमै उत्पादन भएको बोलतको पानी तीस रुपैयाँ र जिल्ला बाहिरबाट ल्याउने पानीको पचास रुपैयाँ निर्धारण गरिएको बताए । मन्थलीका उपभोक्ताहरुले चर्को मुल्य निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले व्यवसायीहरुले आफूखुसी मुल्य निर्धारण गर्न नमिल्ने बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘मुल्य सूचि निर्धारण गरिएको सूचना आएको छ, यदी मादपण्ड भन्दा बढी निर्धारण गरिएको पाइएमा अनुगमन गरेर नियमन गछौं ।’ सदरमुकाम मन्थलीमा पानीको माग अत्याधिक हुने गरेको छ । सामान्यतया एक बोतल पानीको १० रुपैयाँदेखि वीस रुपैयाँसम्म पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्