रामेछापमा पुननिर्माणको काम सुस्तः अझै ४० प्रतिशत घर बन्न बाँकी



१२ वैशाक, रामेछाप ।
शक्तिशाली भुकम्प गएको आज चार बर्ष पूरा भएको छ । सरकारले तीन बर्षभित्र पुननिर्माणको काम सम्पन्न गर्ने बताएको थियो । तर चार बर्षको अवधिमा बल्ल ६० प्रतिशत घरको पुननिर्माणको काम सम्पन्न भएको छ । रामेछापमा पुननिर्माणको काम सुस्त गतिमा अगाडि बढेको छ । चार बर्षको अवधिमा बल्ल २८ हजार निजी आवास निर्माण भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापका इन्जिनियर सुरेन्द्र यादवले पुननिर्माणको काम धमाधम भइरहेको बताए । उनका अनुसार सम्झौता भएका जिल्लाका ४६ हजार ६७८ लाभग्राही मध्ये २८ हजार ४०८ लाभग्राहीले मात्रै निजी आवास निर्माण गरेका हुन् ।

जिल्लाका कूल लाभग्राहीमध्ये अन्तिम किस्ता लिइसकेका चार हजार ३६२ परिवारको पनि घरनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिलो र दोस्रो किस्ता लिइसकेका आठ हजार बढीले तेस्रो किस्ता लिन बाँकी रहेको कार्यालयले जनाएको छ । उनीहरुमध्ये कतिपय लाभग्राहीले घरको जग उठाएर लामो समयदेखि निर्माण अगाडि बढाएका छैनन् । कूल लाभग्राहीमध्ये ४३ घरपरिवारले भने पहिलो किस्ताको रु ५० हजार पनि नबुझेको कार्यालयले जनाएको छ ।

घर निर्माणको सम्झौता गरेर पहिलो किस्ता लिएकामध्ये पाँच हजार ५सय लाभग्राही भने सम्पर्कमा नआएको यादवले बताए । रामेछापमा पुननिर्माणमा ढिलाइ हुनुमा पानीको अभाव, निर्माण सामाग्रीको अभाव, इन्जिनियरहरुको आन्दोलन लगायतका कारण रहेको आयोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्