१६ बर्षपछि मन्त्री ढुंगेलको पहलमा डाँडाकटेरीमा ठडियो शहीदको शालिक



७ असार, रामेछाप ।
चर्चित दोरम्बा हत्याकाण्डस्थल दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा २१ जना शहीदहरुको अर्धकदको शालिक निर्माण गरिएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजन मन्त्री कैलाश ढुंगेलको पहलमा दोरम्बा शहीद स्मृति प्रतिष्ठाले घटना घटेको १६ बर्षपछि शहीदहरुको शालिक निर्माण गरेको हो ।

डाँडाकटेरीमा रहेको शहीद समाधिस्थलमा दोरम्बा हत्याकाण्डमा परी सहादत प्राप्त गर्नुहुने तत्कालिन रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ ‘पुष्प’ सहित २१ जनाको शालिक निर्माण गरिएको छ ।

दोरम्बा शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष धनबहादुर तामाङ ‘अमिर’ले प्रदेश सरकारको २० लाख आर्थिक सहयोगमा शालिक निर्माण गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार आगामी दिनमा डाँडाकटेरीलाई युद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्दै लैजाने योजना रहेको छ ।

मन्त्री ढुंगेलले निर्वाचनको क्रममा डाँडाकटेरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता अनुरुप ऐतिहाक स्थानको विकास गर्न गत बर्षको बजेटमा २० लाख रुपैयाँ विनियोजन गरेका थिए ।
मन्त्री ढुंगेलले रामेछाप न्युजसँग भने,‘ऐतिहासिक घटनास्थलसँग जोडेर सित्खा–खाँडादेवी–दोरम्बा हुँदै शैलुङसम्म केबलकार सञ्चालनको दिर्घकालिन योजना अगाडि बढाएका छौं ।’

२०६० साल साउन ३२ गते बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन शाही नेपाली सनाले २१ जना माओवादीका नेता कार्यकर्ताहरुलाई कब्जामा लिएर दोरम्बाबाट एक घण्टा टाढा डाँडाकटेरीमा लगेर सामुहिक हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्