साहसिक योगमायाः महिलाहरुको प्रेरणाको स्रोत



आज हरिशयनी एकादशी, योगमायाको नेतृत्व ६६ जनाले सामाजिक न्याय प्राप्तिका लागी असमानता र भेदभावको बिरुद्द आत्मदाह गरेको दिन । योगमायाका सन्दर्भमा केही चर्चा गरौं । सतिप्रथा, दासप्रथा, जातिय छुवाछुत भेदभाव, नारीमाथिको शोषण दमन, तिरस्कारमा जेलिएको तत्कालिन समाज त्यसमाथि झन् जहानियाँ राणा शासनको त्यो काहाली लाग्दो समय, पुरै देश अध्याँरो, त्यही अध्याँरो समयमा उदाएकी एक साहसी ब्यक्तित्व योगमाया न्यौपाने । महिला आन्दोलनको सन्दर्भमा होस् या देशमा भएको अन्याय अत्याचारका विरुद्ध आवाज उठेको बेला होस, महिलाका हक अधिकार महिला माथि हुने विभिन्न कुसंस्कारका विरुद्ध लड्ने योगमायाको बारेमा नसुनेको त होइन ।
तर, मलाई योगमायाका बारेमा अझ धेरै जान्न र अध्ययन गर्न मन लाग्यो । म उनको जिवनी समेटिएको किताब को खोजीमा थिए । नभन्दै मेरो मनै कुरा पुरा भयो । पुस्तक मेरो हातमा पर्यो । मलाई कहिले किताब खोल्नु र योगमायाको बारेमा सम्पूर्ण कुराको ज्ञान लिनु भन्ने थियो । भनिन्छ–आफुलाई मनदेखि मन परेको बस्तु मा धेरै लगाब हुन्छ, मलाई पनि तेस्तै थियो । योगमायामा, पुस्तक जति पढ्यो त्यति नै पढौपढौ लाग्ने त्यसपछि के भयो होला भन्ने जस्ता कुराको कौतुहलता मनमा भैरहन्थ्यो । एउटी महिला त्यसमाथि जहानियाँ राणा साशनका विरुद्ध उभिनु त्यो आफैमा एउटा चुनौतीको पहाड थियो । कुन परिस्थितिमा आएर उनले प्राण त्यागिन । यस्ता–यस्ता प्रश्न मन्मा आउदै गए ।जब योगमायाको विवाह हुन्छ र त्यसपछि उसको जीवनमा आएका आधिबेरी पढ्दै गएपछि मनमा कौतुहलता थपिदै गयो ।

भोजपुरको मझुवाबेसीँ आश्रमबाट बिद्रोह सुरु गरेकी योगमायाले सामाजिक असमानता छुवाछुत र नारी विभेदको अन्त्य सँगै धर्मराज्यको स्थापना हुनुपर्छ भन्दै काठमाडौं दरबारसम्म आफ्नो आवाज पुर्याउने काम गर्छिन् । बाल्यअबस्थामा नै आमाबाबुले विवाह गरेर दिएपछि योगमायाका संघर्षका ती कहाली लाग्दो दिनको सुरुआत हुँदै गए । बिहे गरेको बर्सौ भैसक्दा पनि माइतीघर जान नपाउनु, जति काम गरेपनि पेटभरी खान नपाउनु , आधीरातसम्म काम गर्नुपर्ने, सधैं त्यो पराइघरको थिचोमिचोलाई सहन नसकी उनले माइतीघर जाने निधो गररिन ।

आफ्नो जन्मेको घर खेलेका साथीसंगी सबैलाई सम्झदै जे भएपनि म एक पटक जान्छु भनी मध्यरातमा घर छाडिन । तर उनको लागि त्यो बाटोको यात्रा कहाँ सजिलो थियो र गन्तव्यको कुनै टुंगो थियन । कहिल्यै नहिडेको लामो बाटो, रातको समय, बर्षौपछि माइती जान लागेकी, त्यो पनि भागेर, दुई रात र तीन दिनको बाटो काटेपछि माइतीघरमा पुग्दाको खुशी क्षणभर पनि रहन पाउदैन । जब माइती पुग्छिन बाबुले आफ्नो इज्जतको पाठ पढाउदै दिनरात कहाँ हराएर आइस मेरो इज्जत पनि राखिनस घरबाट खोज्न आएका थिए भन्दै फर्काउने तयारी गर्दा योगमायाको मनमा कतिको चोट पुग्यो होला ? हामी अनुमान गर्न सक्छौ ।

फेरि त्यही नर्कमा कसरी जानु भनी योगमाया आत्तिन पुग्छिन । महिनावारी भएको बाहाना पारी केही दिन माइतीघरमा नै बस्छिन् । बर्सौदेखीको आमाबाबु भेट्ने रहर सात, आठ बर्षको उमेरमा छोडेर गएको त्यो ठाउँमा फर्कदा राती बाटोमा बाघ भालुले खाने डरले रुखमा चढेर वस्दा बेलाबेलामा रुखमै निदाएर लड्न खोज्दाको त्यो क्षण पढ्दा त भावबिहल बनाउछ । बिहे गरेर दिएकी छोरी जे जस्तो भएपनि सधैं माइतीमा बस्न हुन्न घरमा जानुपर्छ भनी आश्रय नदिएपछि घरमा जाने निधो हुदा पÞmेरि घरबाट दुई तीन दिन हराएर आएकी बुहारीलाई हाम्रो घरमा राख्न मिल्दैन भन्ने खबर आउछ ।

अब जीवन जिउनु नै पर्छ जसो गरे पनि सबैले साथ छोडेपछि उनको केही सिप लागेन । अनि गाउँकै कडेल बा’सँग १६ बर्षको उमेरमा आसामतिर लागे कि योगमाया आसामको केही बर्षको बसाईमा कडेलबाको पनि मृत्यु हुन्छ । त्यस पश्चात् आफ्ना छोरी लिइ भाईलाई लिन बोलाइ पÞmेरि माइती गाउँ फर्किन ।
त्यति बेलासम्म बाबुआमाको निधन भैसकेको हुन्छ । उनी जन्मदातालाई सम्झेर धेरै रुन्छिन् । धेरै बर्षपछि आउँदा त्यो गाउँ उनको लागि नौलो हुन्छ । मान्छे पनि प्रायःजसो नयाँ अनुहारका छ्न ।फेरि सुरु हुन्छ योगमायाका लागि चुनौतीपूर्ण दिनहरु । आज एक्काइसौं सताब्दीको समाजमा त महिलालाई हेर्ने दृस्टिकोणमा एकरुपता छैन । अहिले पनि यहाँ महिलामाथि हेर्ने दृष्टिकोणमा खासै फरकपन देखिदैन भने त्यतिबेलाको महिलामाथि हुने सोच व्यवहार झन् कस्तो होला ? समाज त्यस्तै नै हो ।
सबैले बलेको आगो ताप्ने न हुन् निभेको चुलोमा कसले चासो दिन्छ र ? त्यसमाथि महिला ! सबैले भन्नथाले– एउटी बाल विधुवा फेरि अर्कैसँग गैआएकी यसले त हाम्रो गाउँ समाजको धर्मसंकार छोरी चेली पनि बिगार्नेभै जस्ता कुरा गर्न सुरु गरे । कहाँ सजिलो थियोे र ! उनलाई त्यो एकल जीवन जिउन त्यहाँ कत्तिले त उनको भाइलाई पनि कराउथे दिदीलाइ किन यहाँ ल्याउनुपर्ने भनेर भाई चुप रहन्थे । एउटै आमाको दुध चुसेर हुर्केका दिदीभाई दुःख त लागिहाल्छ नि । गाउँलेको अगाडि दिदीको पक्षमा बोल्दैनथे । बुहारी भने खुलेर सहयोग गर्छिन् । जब मान्छेलाई अथाह पीडा, रोग बैरागी चिन्ता हुन्छ नि, तब उसलाई कहाँ जाउ के गरौ ? कसरी मनमा शान्ति मिल्छ भन्ने कुराले सताउन थाल्छ ।
मान्छे बैराग्य हुन्छ तब आफ्नो मनलाई बुझाउन उ ज्ञान प्राप्त गर्नतिर लाग्छ, ध्यानबाट ज्ञान मिल्छ । म को हुँ ? मेरो धर्म के हो ? कर्म के हो ? यसबारे मान्छे बुझ्न् खोज्छ । संसार केमा अल्झिएको छ । यसको गाँठो कसरी फुकाउने ? यो दुःखबाट मुत्ति कसरी पाउने भनी मान्छे शान्ति खोज्न थाल्छ । उनको बाटो पनि त्यहीँ भयो । मान्छेले आफुलाइ बदल्ने बाटो पनि त्यहीँ हो योगमायाले पनि आफ्नो बाटो समातिन् र आफुसगै समाज परिवर्तनतिर लागिन ।

मैले योगमाया अध्यन गर्दैगर्दा हाम्रो सामाजिक संस्कारको भोगाइ महिलाहरूको लागि चै उस्तै–उस्तै हुन्छ जस्तो लाग्यो । न्याय र अधिकारका लागि योगमायाले गरेको आन्दोलनको बारेमा त जतिसुकै प्रसमंसा गरेपनि कमै हुन्छ । तत्कालिन समाजमा, अन्याय, अत्याचार ,शोसन दमन बढ्छ, र मानिसका जीवनमा अध्याँरो थियो । त्यती बेला कोही आँटी र साहसी कोही नभएपछि आफ्नो लागि आफैं बोल्नै पर्छ भनेर आफूमाथि भएको पीडा र नारीमाथि भएको दमनका विरुद्ध खम्बा बनेर भोजपुरको मझुवाबेसीका लागि योगमाया उदाइन् ।

अब यसरी सबै कुरा सहेर बस्न सक्दैन, ध्यान गर्छु तपस्या गर्छु । यो संसारको झुठो मायाको बन्धनबाट टाढा हुन्छु भन्दै तपस्यामा बस्ने निर्णय गरिन । ज्ञान र ध्यान बिना त धर्मको बाटो सम्भब छैन । ज्ञान प्राप्त गर्न भनी उनी विभिन्न धामको यात्रा तय गरिन् । स्वर्गद्वारी बद्रीनारायण लगायत अरु पनि पवित्र धाम घुम्दै साधु सन्तहरुसँग भेटगरि आफ्नो र जगतको बारेमा बुझिन अनि सामाजिक कुसंस्कारका बारेमा पनि योग ध्यान बाट नै जीवन दर्शन र मुक्तिको बाटो खोलिन्छ । त्यो मार्ग यो दुनियाँको लागि पनि हुनसक्छ भनी आफुले एक योगी तपस्वी भएर बस्ने निणर्य गरिन ।

एउटी छोरीको विवाह पश्चात् योगमाया सबै त्यागेर मझुवावेसीँ मा आश्रम बनाएर बस्न थालिन र सामाजिक न्यायका लागि त्यहीँबाट आन्दोलन सुरु गरिन् । त्यतिबेला उनले जातीय छुवाछुतको बारेमा समाजमा के कस्ता घटना भएका छन् । त्यसबारे नजिकबाट जान्ने मौका पाइन । किनकि त्यो आश्रममा तल्लो जातिका मानिसहरु जान डराउथे कारण तल्लो जातिकोले त्यहाँ गएर छोयो भने अथवा उनीहरुले छोएको खायो भने त्यहाँ जाने सबैलाई आफ्नो जातबाट हटाउने रैछ्न् सब भन्दा पहिला जातीय छुवाछुतको अन्त्य हुनुपर्छ भनेर त्यस ठाँउबाट आवाज उठाइन ।

योगमायाले महिलामाथि हुने हिंसा बालविवाह सतिप्रथा, दासप्रथा जस्ता कुसंस्कारको अन्त्य हुनुपर्छ भन्दै आवाज उठाउन थालिन् । यसैक्रममा त्यो गाउँमा दुई पक्षका मान्छे भए कोही योगमायालाइ सहयोग गर्ने त कोही उनको विरुद्धमा उभिए । उनलाई विभिन्न आरोप लगाउन थाले । हाम्रो गाउँको कुल खान्दान धर्म सस्कार बिगारी न जात न धर्म सबै एकै पारी भनी उनको विरोध गर्न लागे नबिराउनु नडराउनु भनेझै निडर स्वभाव कि योगमायालाई उनीहरुको धम्कीले केही फरक पार्दैनथ्यो ।
धर्मसँगै उनी समाज परिवर्तनको लागि गाउँमा भएको विसंगतिका विरुद्ध बोल्न लागिन । त्यतिबेला सतिप्रथा, दासप्रथा ,जातिय छुवाछुतका विरुद्ध आवाज उठाउनु भनेको जहानियाँ राणा शासनका विरुद्ध बोल्नु हो । यो काम कम जोखिमपूर्ण थिएन । त्यतारित वास्तै नगरिकन आफ्ना बिन्तीपत्र पटक– पटक सरकारसामु पुर्याउने काममा आफैं पनि गइन् । दासप्रथा, सतिप्रथा, जातीय छुवाछुतको अन्त्य हुनुपर्छ, धर्मराज्यको स्थापना हुनुपर्छ । कोहीकसै माथि जबजस्ती गर्न पाइदैन भन्दै आवाज उठाइन् । उनका आवाजलाई पटक–पटक बेवास्ता गरेपछि योगमायाले मझुवाबेसी आश्रममा आउने सबैलाई भेला गरिन र भनिन–मैले समाज सुधारलाई आफ्नो तपस्याको अंश सम्झिएकी थिए, हामीले पटक–पटक काठमाडौं धाउदा पनि हाम्रो बिन्ती पत्रलाई दरबारकाले कत्ति पनि वास्ता गरेनन् ।
आश्वासन मात्रै दिने काम भयो आफुले कबोल गरेको बचन पूरा गरेनन्, न्यायका माग सुनिएनन्, कानमा तेल हाली बसे, समाज ज्यूँका त्यू छ, अधर्मीका अधर्म उस्तै, अब तिनका बाटो हेरि बसेर केही हुदैन । साधुलाई सुनले किन्न खोजे, अब यिनीहरुको साचो धर्मभिक्षा पाउन मैले आफै अग्निमा प्रवेश गरि प्राण त्यागगर्नु पर्छ भन्नेमा छु, मलाई मर्नमा कुनै संकोच छैन । एकदिन त जानैपर्छ अब मैले अग्निसमाधी लिने निर्णय गरे ।

हरिशयनी एकादशी पारेर यही त्रिवेणीमा यज्ञ गरि अग्निमा आफुलाइ होम गर्नेछु । योगमायाका यतिकुरा सुनेपछि त्यहाँ भेला भएका सबैले भन्छ्न ठुली हजुर (योगमाया) नै नरहेपछि हाम्रो चै यहाँ के काम तपाईंले नै यहाँसम्म ल्याउनु भयो, धर्म अधर्मका बारेमा फरक सिकाउनु भयो, अन्याय र अधिकारका बारेमा लड्न सिकाउनु भयो । यहाँसम्म हजुरको साथमा आयौ अब पनि हजुरकै साथमा जान्छौ, यो पापीहरुको राज्यमा हामीहरुलाइ पनि बस्नु छैन । पानी बिनाको माछा भएर बस्दैनौ । हामी पनि तपाईंसँगै अग्निमा समाप्त हुने भनी २०४ जनाले पनि प्राण त्याग गर्ने भनि नाम टिपाउछन् । त्यसभन्दा पहिले एक पटक सरकारलाई ध्यानाकर्षण गरौ भनि सबैले सरसल्ला गरी पण्डित प्रेमनारायणलाई दरबारमा पत्र लेख्न लगाए । यतिका समय पर्खादा पनि श्री ३ सरकारले आफ्नो बचनको कुनै ख्याल नगरेकोले अब यसरी चुप रहन सकिदैन ।


हाम्रो माग सम्बोधन गरिदैन भने हामी अग्निकुण्डमा ज्यानको समाधी गर्नेछौ भनी पत्र पठाए । त्यसपछि योगमायाले आफ्नो वाणीलाई छपाई विभिन्न ठाँउमा प्रसार–प्रचार गर्न लगाइ । यी सबै काम राणाहरुलाई असह्य भयो र योगमायाहरुलाई सेना पठाइ जेल हाल्ने काम गरियो । ७० बर्ष तिरको उमेरमा योगमायाले जेलको कष्ट सहनुपर्यो । तर पनि उनी बिचलित भैनन् । योगमायाहरु त्यतिबेला आफ्नो लक्ष्यमा पुग्न असफल भए ।
राणाहरुको यो सजाय भोगी तीन महिनापछि महिलाको टिम छुटछ र बिस्तारै अरु पनि फेर सुरु हुन्छन् अगाडिका पाइलाहरु । पहिला आफुहरु असफल भएपछि अब गुपचुप रुपमा सल्लाह गरि यस देशमा धर्मराज्यको स्थापना हुनुपर्छ । अधर्मको नास हुनुपर्छ । पटक–पटक हाम्रो बिन्तिपत्र बेवास्ता गरियो । अन्याय अत्याचारले सीमा नाघ्यो, पापीहरुको राज्य भयो । गरिब निमुखाले सजिलोसँग बाच्न पाएनौ । एकदिन धर्मको उदय हुनेछ । पापीको नाश हुनेछ । जुग फिर्ने छ, हाम्रो यो समाधिले पछि आउने पिढीलाई पक्कै पनि न्याय मिल्ने छ भन्दै १९९८ साल असार हरिशयनी एकादसशिका दिन योगमाया सहित ६६ ( किताबमा लेखिए अनुसार) जनाले अरुणा नदिमा हामफाली शरीरको अन्त्य गर्दछन ।

मैले यो किताब पढिसकेपछि योगमायालाई सम्झिए–अहिलेसम्म पनि यो धर्तीमा बढ्दै गैरहेको महिला हिंसा, बलात्कार विशेषगरी दाइजोको नाममा हिंसा पीडित चेलीहरु र अझै पनि ग्रामीण भेगमा महिलाको दुर्दशा अनि छाउपडी प्रथा कायम देखेर धर्तीमा हेर्दै के भन्दै होलिन् योगमायाले । यसरी समाज परिवर्तनका खातिर आफ्नो अमुल्य जीवन आहुती गर्ने ती साहसिक योगमाया र टिमलाई नै सलाम गर्न चाहान्छु, लेखक निलम कार्की ( निहारिका) ज्युलाइ पनि धेरै धेरै धन्यवाद भन्न चाहान्छु । जसको कारण मैले योगमायाका बारेमा जान्न पाए ।

अन्त्यमा, हामीले योगमायाको जीवनीबाट बाट धेरै सिक्नु पर्ने रहेछ ।आफ्नो अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनु पर्छ । जिन्दगीका उतरचढाबमा अबिचलित रहनुपर्छ भन्ने शिक्षा उनको जीवनीबाट सिक्न सकिन्छ । सत्य र न्यायका लागि लडन कससँग डराउनु हुन्न । जुनसुकै परिस्थितिमा पनि आफै अघि बढेर नेतृत्वदायी भूमिका खेल्नु पर्छ । अशिक्षाले गुज्रिएको समयमा त योगमायाले परिबर्तनको चेत सहित जागरणको नेतृत्व गरिन । अहिले हामी राजनीतिक जागरण, सामाजिक जागरणका नेतृत्वदायी भूमिकाको महत्पूर्ण हिस्साका रूपमा उपस्थित छौ ।

तर पनि छाउपडी, घरेलु हिंसा, बलात्कार जस्ता क्रियाकलापको समाधान हुन सकेको छैन । यसका लागी जागरण अभियान चालाउनु वर्तमान सन्दर्भमा हाम्रो कर्तब्य हो । जुद्धशमसेरका पालामा भएको योगमायाको बिद्रोहले सामाजिक र राजनीतिक रुपान्तरणमा ऐतिहासिक भुमिका निभाएको छ । जागरण पैदा गरेको छ । योगमायालाई एक पटक सबैले अध्ययन गरौं । संघर्ष के हो ? आफ्नो जीवन र आफ्नो कर्तव्य साथै वास्तविक जीवनको अर्थको बारेमा केही जानकारी लिन सक्छौं । जय नारी ।

प्रतिक्रिया दिनुहोस्