‘मन बचन र कर्मबाटै वडाको विकासमा लाग्छु’



उप–निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५ प्रितिमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उप निर्वाचनको प्रचार–प्रसार राजनीतिक दलहरुले तीब्र बनाएका छन् । प्रितिको वडा अध्यक्षको निर्वाचनमा मूलतः सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचनमा आ–आफ्नो पक्षमा मतदातालाई आर्कषित गर्ने गरी राजनीति दलका वडा अध्यक्षका उम्मेदवारहरुले प्रचार प्रसार गरिरहेका छन् । तत्कालिन वडा अध्यक्ष कुवेर खत्रीको निधन भएपछि १८ महिना कार्यवहाक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका कुल बहादुर वस्तेतले वडा सदस्यबाट राजिनामा दिएर अहिले वडा अध्यक्षको उम्मेवारी दिनुभएको छ । प्रितिमा १७ सय ४९ मतदाता रहेको छ । चुनावी अभियानलाई नेकपाले तीब्रता दिएको छ । यसै विषयमा प्रिति वडामा निर्वाचनको अभियान, निर्वाचित भएपछि वडाको विकासमा गर्ने कामको बारेमा केन्द्रीत रहेर वडा अध्यक्षका उम्मेदवार कुल बहादुर वस्नेतसँग रामेछाप न्युजले गरेको कुराकानीः–

कुल बहादुर बस्नेत
वडा अध्यक्षको उम्मेदवार, उमाकुण्ड गाउँपालिका–५ प्रिति

चुनावी अभियान कुन रुपमा अगाडि बढेको छ ?
–यस अघि भएको स्थानीय तहको निर्वाचनमा पनि मलाई प्रितिका वडावासीले लोकप्रिय मत दिएर विजयी गराउनुभएको हो । तत्कालिन वडाअध्यक्ष कुबेर खत्रीको असामहिक निधन भएपछि मैले १८ महिना कार्यवहाक वडा अध्यक्षको रुपमा जनताको सेवा गर्ने अवसर पाए । अहिले मलाई पार्टीले सर्वसम्मत उम्मेदवार बनाएपछि मैले वडा सदस्यबाट राजिनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिएको छु । म जनताको सेवामा रातदिन लाग्ने गरेको छु । मेरो बारेमा वडाबासी परिचित हुनुहुन्छ । जनताको सेवालाई केन्द्रमा राखेर यस अवधिमा काम गरे । मैले चुनाव जितेपछि पनि जनताकै सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

वडालाई समृद्ध बनाउने के योजना छ ?
–म वडा सदस्यदेखि कार्यवहाक वडा अध्यक्षको जिम्मेवारीमा रहेर वडाको विकासको लागि मन बचन र कर्मबाटै काम गरे । यसको मुल्याङकन जनताले गरेका छन् । मैले समग्र वडाको विकासको लागि सक्दो काम गरे । सडक, खानेपानी, स्वास्थ्य शिक्षा, पर्यटन, कृषि क्षेत्रको सुधार गरेर मात्र वडाको विकास गर्न सकिन्छ । वडाभित्र निर्माण गरेका सडकलाई स्थायित्व दिनुपर्ने छ । निर्माण भएका सडकको स्तरउन्नती गर्न आवश्यक छ । स्वास्थ्य र शिक्षाको लागि गाउँपालिकाबाट सञ्चालित कार्यक्रम प्रभावकारी छ । कृषि क्षेत्रमा सुधार गरेर मात्र वडालाई समृद्ध बनाउन सकिन्छ भन्ने मेरो मान्यता रहेको छ । वडाभित्र उत्पादन हुने कृषिजन्य वस्तुलाई बजारसम्म पुर्याउने गरी मैले योजना बनाएको छु । खानेपानी व्यवस्थित गर्ने कार्यमा ध्यान दिन्छु । वडालाई समृद्ध बनाउने कार्यमा दत्तचित्त भएर लाग्ने प्रबिद्धता व्यक्त गर्दछु ।

वडाभित्र नै युवाहरुलाई रोजगारी सृजना गर्ने के योजना छ ?
–हो,वडाका युवा जनशक्ति रोजगारीको लागि वैदिशिक रोजगारीमा रहेका छन् । वैदेशिक रोजगारीमा नगएका युवाहरु पनि राजधानी काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा आबद्ध हुनुहुन्छ । गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ । वडाभित्र हामीले उत्पादन हुने कृषिजन्य वस्तुको पहिचान गरिसकेका छौं । अब सडकको पहुँच पनि वडासम्म पुगेको छ । त्यस हुनाले युवाहरुलाई गाउँमै फर्किएर कृषि क्षेत्रमा लाग्न आग्रह गर्न चाहनुहुन्छ । गाउँमै केही गर्न चाहने युवाहरुलाई म निर्वाचित भएपछि सहुलियपूर्ण ऋण दिने व्यवस्था गर्नेछु । अहिले पनि गाउँपालिकाले युवाहरुलाई सहुलियपूर्ण ऋण दिने कार्यक्रम बनाएको छ । आगामी दिनमा कार्यान्वयन गर्न कार्यपालिकाको सदस्यको रुपमा भूमिका निर्वाह गर्नेछु ।

तपाईले निर्वाचन जित्ने आधार के हो ?
–मैले निर्वाचनमा जित्ने आधार भनेको वडा सदस्य हुँदै कार्यवहाक वडा अध्यक्ष हुँदा जनताको पक्षमा गरेको काम नै हो । वडाको विकासको लागि खेलेको भूमिका हो । मैले अगाडि सारेको विकास निर्माणको काम कार्यान्वयन गर्नको लागि पनि जनताले मलाई अत्याधिक भोट दिएर जिताउनहुन्छ भन्ने विश्वास छ । म मेरो प्रतिस्पर्धी उम्मेदवारहरुको आलोचना गर्न चाहन्न । मैले जनताको बीचमा रहेर अहिलेसम्म जसरी काम गरे, त्यो नै मेरो निर्वाचन जित्ने आधार हो । विकास निर्माणको काम पारदर्शी ढंगेले अगाडि बढाएको छु । जनप्रतिनिधि भएर एक रुपैयाँ पनि अनियमितता गरेको छैन् । जति दिन जनताको सेवा गर्छु प्रलोभनमा नपरी जनताकै पक्षमा काम गर्ने प्रतिबद्धता अनुसार नै यस अघि मलाई वडा सदस्यमा जनताले भोट दिएर जिताएका हुन् । वडा अध्यक्षमा निर्वाचित भएपछि पनि विकास निर्माणको काम पारदर्शी ढंगले अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्