भिरपानीलाई समृद्ध बनाउने अभियानमा जुटेका छौंः कार्की



निर्वाचनमा गरेको बाचा अनुसार खाँडादेवी गाउँपालिका–३ भीरपानीका जनप्रतिनिधिहरुले कार्यतालिका बनाएर नै विकास निर्माणको काम अगाडि बढाएका छन् । विकास निर्माणको कामको साथसाथै जनताको समस्या घरदैलोमै पुगेर सुन्ने मात्र होइन सम्बोधन पनि गर्दै आएका छन् । वडालाई आर्थिक सामाजिक रुपमा सम्पन्न बनाउने मुख्य उदेश्य सहित जनप्रतिनिधिहरु रातदिन जनताकै सेवामा खटिदै आएका छन् । स्थानीय तहमा प्रभावकारी काम हुन नसकिरहेको गुनासो बढिरहेको बेला भिरपानी वडा कार्यालयले भने नमूना काम गरेर जनताको मन जित्न सफल भएको छ ।

तीन नम्बर प्रदेश सरकारले सित्खादेखि गोगनपानीसम्मको दस किलोमिटर सडक कालोपत्र गर्ने काम धमाधम अगाडि बढाएको छ । जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हाले लगत्तै अगाडि बढाएको विद्युतीकरणको काम अब अन्तिम चरणमा पुगेको छ । भिरपानी वडाभित्र १ हजार ५८ घरधुरी रहेको छ ।
खानेपानीको समस्या समाधान गर्न वडा कार्यालयको सक्रियतामा घरघरमा नै धारो जडानको कामले तीब्रता लिएको छ । सिचाईको आयोजना सञ्चालन गर्नेदेखि लिएर सुरक्षालाई बलियो बनाउन सित्खा नाकामा सिसी क्यामेरा जडान गरेको छ । सुनकोसी नदीको किनारामा अवस्थित डब्खामा रहेको माझी वस्तीमा पर्यटन क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित एकीकत वस्ती विकासको कार्यक्रम अगाडि सारेको छ ।

यसै विषयमा वडाभित्र हालसम्म भएको विकास निर्माणको काम, निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता र आगामी योजना लगायतको विषयमा नेकपा खाँडादेवी गाउँकमिटीका कार्यालय सदस्य समेत रहनुभएका खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्पकरकुमार कार्कीसँग रामेछाप न्युजको लागि स्नेहा सिल्वालले गरेको कुराकानीः–

भिरपानी वडाको विकासको लागि कसरी काम गरिरहनुभएको छ ?
–निर्वाचनमा क्रममा हामीले वडालाई योजनाबद्ध रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौ । सोही अनुसार हामीलाई जनताले मत दिएर जिताउनु भो । हामी निर्वाचित भएपनि कार्ययोजना र समयसीमा तोकैर विकास निर्माणको काम अगाडि बढाएका छौं । निर्वाचित भएपछि जनताले महशुस गर्ने गरी विकास निर्माणको काम भएका छन् । निर्वाचनमा नसक्ने आश्वासन र प्रतिबद्धता गरेका थिएनौ । सडक खानेपानी, सिचाइँ, विद्युतीकरण, स्वास्थ्य, शिक्षा, रोजगारी हाम्रो प्रतिबद्धता थिए । सोही अनुसार काम गरिरहेका छौं । वडावासीले काम भएन भनेर गुनासो गर्ने अवस्था छैन् । गर्नुपर्ने धेरै छ । तर सीमित स्रोत र साधनको अधिकतम परिचालन गरेर जनतालाई सेवा दिन तन मन बचन र कर्मबाटै लागि परेका छौं । वडावासी खुसी छन् । भीरपानी वडालाई थप समृद्ध बनाउने अभियानमा लागि परेका छौं ।

सडक निर्माणको काम कुन गतिमा भइरहेको छ ?
–योजनाबद्ध कामले मात्र परिणाम दिन सकिन्छ । हामीले त्यही भएर वडाको समग्र विकास निर्माणको खाका तयार गरेका छौं । आवश्यकता पहिचान गरेपछि काम गर्न निकै सहज हुन्छ । वडाले विशेषगरी तीन वटा मुख्य सडक छनौट गरेर काम अगाडि बढाएको थियो । हामी निर्वाचित हुँदा दुई वटा मुख्य सडकमा गाडी चल्ने अवस्था थिएन । अहिले तीन नम्बर प्रदेश सरकारले सित्खादेखि गोगनपानीसम्मको सडक कालोपत्रे गर्ने काम तीब्र गतिमा अगाडि बढाएको छ । यसको लागि तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल विशेष धन्यवादको पात्र हुनुहुन्छ । एउटा सडक कालोपत्रे गर्ने काम अगाडि बढिरहेको छ भने बाँकी दुई वटा सडकलाई स्तरउन्ती गर्दे ग्राबेल गर्ने योजना अगाडि सारेका छौं । सडक निर्माण सन्तोषजक ढंगले अगाडि बढेको छ । यो खुसीको कुरा हो ।

खानेपानीको समस्याको सास्ती झेल्दै आएका वडावासीलाई पानीको व्यवस्थापन गर्न कसरी काम भइरहेको छ ?
–भिरपानी सुख्खाग्रस्त क्षेत्रभित्र पर्छ । हामीले खानेपानीको प्राकृतिक मुहान नभएपछि सुनकोसीबाट लिफ्ट खानेपानी योजना अगाडि बढायौ । हामी निर्वाचित हुनुपूर्व नै योजना बनेको थियो । योजना परेपनि तीब्र गतिको साथ काम हुन सकेको थिएन । हामीले वडावासीकोले खानेपानी नपाउदै खेप्दै आउनु पर्ने समस्याको समाधान गर्न दिनरात नभिनी सरोकारवाला निकायसँग परामर्श गर्यौ । साथै कामलाई तीब्र गतिको साथ अगाडि बढाउन भूमिका निर्वाह गर्यौ । घरघरमा पानी पुर्याउने विषय त्यति सहज थिएन । अहिले अधिकाशं घरमा पानी पुगेको छ । पानी नपुगेको घरमा पाइपलाइन विस्तार मार्फत धमाधम धारो जडान गर्ने काम भइरहेको छ ।

पानी वितरण गर्दा शुल्क भएकाे गुनासाे छ नि ? 
पानीको धारो जडान गर्दा सुरुमा समितिले पाँच हजार रुपैयाँ लिन्छ । त्यस बापत मिटर पाइप उपलब्ध गराउनको साथ निशुल्क रुपमा जडान गरिने व्यवस्था मिलाइएको छ । १२ युनिट पानी उपभोग गरे बापत ६ सय रुपैयाँ मासिक तिर्नुपर्छ । विगतमा कोसीबाट पानी ढुवानी गर्दा ३५ रुपैयाँ खर्चिदै आएका उपभोक्ताहरु छ सय रुपैयाँ तिर्न खुसी हुनुभएको छ ।

विद्युतीकरणको काम कहाँ पुग्यो ?
–नौ बर्ष अघि नै वडाको दस घरधुरीमा बिजुली बलेको थियो । निर्वाचनको बेला साविक नौ नम्बर वडाको ४५ घरधुरीमा मात्र बिजुली बलेको थियो । अन्य क्षेत्रमा बिजुली बलेको थिएन । त्यति बेला बिजुली बलेको ठाउँहरुमा सबै काठको पोल थियो । लामो दुरीमा पोल गाडिएको थियो । निर्वाचनपछि हामीले पहिलो प्राथमिकता विद्युतीकरणको लागि दियौ । हामी निर्वाचित भएपछि पाँच वटा ट्रान्सफर्मर राखेर वडाको आधा घुरधुरीमा बिजुली बालेका छौं । वडाको तीन क्षेत्रलाई विभाजन गरेर तीन वटा काम एकसाथ अगाडि बढायौ । एउटा क्षेत्रबाट बिद्युतीकरण गर्यौ, अर्को सडक कालोपत्रे अगाडि बढायौ र अर्को सडकलाई स्तरउन्नतीको काम अगाडि बढायौ । सित्खा क्षेत्रमा लिफ्ट सिचाइँको योजना अगाडि बढायौ । रामेछापकै ठूलो टयाडकी बनाएर सिंचाइँको व्यवस्थापन गरेका छौं । आगामी तीन महिनाभित्र भिरपानीको सबै वडामा विद्युतीकरण गर्ने लक्ष्य राखेका छौं । यसको लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विद्युतीकरणको ठेकेदार पक्षसँग पनि परामर्श भइरहेको छ ।

डब्खाको माझी वस्तीमा निर्माण गर्न लागिएको एकीकृत वस्तीको काम ढिला गरी सुरु गर्न लाग्नुको कारण के हो ?
–सरकारले चार बर्ष अघि भुकम्प गएपछि एकीकृत वस्ती विकासको योजना अगाडि सारेको थियो । तर कार्यान्वयनमा आउन सकेन । भुकम्प गएपछि लगातार हामीले डब्खामा एकीकृत वस्ती निर्माण गर्न पहल नगरेको होइन । दातृ निकाय एक्लैले नबनाउने, सरकारले दातृ निकायसँग समन्वय नगरिदने भएको कारणले समस्या भयो । सुरुमा भुकम्पपछि केही समय घर निर्माण नगर्न आग्रह पनि गर्यौ । हामीले पर्यटकी क्षेत्रको विकास गर्ने मुख्य उदेश्यको साथ एकीकृत वस्ती निर्माण गर्न ढिलै भएपनि सुरुवात गरेका छौं । यसको गुरु योजना निर्माण भएको छ । पारीपट्टी बिपी राजमार्ग, डुब्खा क्षेत्रमा मध्य पहाडी लोकमार्ग र वस्तीको किनारामा सुनकोसी नदी भएकाले पनि यो अवधारणा अगाडि सारिएको हो । यसबाट माझी समुदायको संस्कृतिको संरक्षण गर्नुको साथै आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्ने योजना छ । वस्ती निर्माणको लागि प्रदेश सरकार हाम्रो स्थानीय सरकारले बजेट विनियोजन गरेको छ । ६ करोडमा ४२ वटा घर निर्माण गरिनेछ । यसलाई होमस्टेको अवधारणा अनुसार निर्माण गरिनेछ । स्वास्थ्य चौकी, खेल मैदान, व्याम गर्ने स्थल, सभा हल लगायतको भौतिक संरचना निर्माण हुनेछ । एक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।

प्रतिक्रिया दिनुहोस्