गायक प्रकाश कटुवाललाई चार दिन हिरासतमा राख्न आदेश



६ माघ, काठमाडौं ।
तनहुँ बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका लोक गायक प्रकाश कटुवालमाथि अनुसन्धान गर्न चार दिनको म्याद थपिएको छ ।

जिल्ला अदालत तनहँुले अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो । ज्यान मार्ने उद्योग अन्तर्गत कटुवालमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तहुँका एसपी विनोद सिलवालले रामेछाप न्युजालाई बताउनुभयो । उहाँले भन्नुभयो,‘घाइते गुरुङको अवस्था निकै गम्भीर छ, काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ, हामीले किटानी जाहेरीको आधारमा कटुवाललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’
गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी बान्ता गरेपछि त्यही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य विवाद भएको थियो । केही समयको विवादपछि दुई पक्षबीच सहमति भई मिलापत्र भएर गायक पोखरा गएका थिए । साँझ घरमा खाना खाइरहेको अवस्थामा व्यवसायी गुरुङलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले एक्कासी रडले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्