कोरोना भाइरसबाट बच्न पाँच विधिलाई पालना गर्नुहोस



१४ चैत्र, काठमाडौं ।
कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन् ।
डब्लुएचओले क्रमशः पटक–पटक साबुनपानीले हात धुने, खोक्दा वा हाच्छयूँ गर्दा रुमाल वा कुइनोले मुख ढाक्ने, सामाजिक दूरी कायम राख्ने, सधैँजसो मास्कको प्रयोग गर्ने तथा स्यानिटाइजरको भरपुर उपयोग गर्न सार्वजनिक आह्वान गर्दै आएको छ ।

डब्लुएचओको महामारी रोग नियन्त्रण शाखाकी प्रमुख वेनिदेत्ता एलिग्रेन्जिले नियमितरूपमा विश्वमा तीव्र गतिमा फैलिदै गइरहेको कोरोना भाइरसको अवस्था विवरण जानकारी गराउदै आउनुभएको छ ।
चीनको हुवेइ प्रान्तको उहान शहरमा सन् २०२० डिसेम्वर ३१ मा देखिएको कोरोना भाइरसबाट जोगिन डब्लुएचओले उक्त पाँच विधि १८ मार्च २०२० सम्म लगातार ७८ दिनसम्म सार्वजनिक गर्दै आएको छ । कोरोना भाइरस १९६ देशमा फैलिसकेको र चार लाख ५४ हजार ८९१ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिनसक्ने चेतावनी दिएको थियो । तर उसले सम्पूर्ण राज्य नै लकडाउन नगरेका कारण रोगको सङ्क्रमण फैलिएको चिकित्सकले बताएका छन् ।

अहिले यतिखेर विश्वका करोडौँ मानिस कोरोना भाइरसबाट जोगिन घरभित्र क्वारेन्टाइनमा सुरक्षित छन् । विश्व स्वास्थ्य सङ्गठनले भनेअनुसार सबै मानिसले घरभित्र आ–आफैले तोकिएको स्वास्थ्य सुरक्षा विधि अपनाउने हो भने कोरोना भाइरस क्रमशः नियन्त्रणमा आउने दाबी गरिएको छ ।

नेपालमा पनि सरकारले चैत ११ गतेदेखि लकडाउन गरी सबै जनतालाई घरभित्रै रहन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सात सय व्यक्तिको कोरोना परीक्षण गरेका मध्ये तीन जनामा मात्र संक्रमण देखिएको छ । तीन जना मध्ये एक जना भने स्वास्थ्य भइसकेका छन । साथै दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्