रातदिन बिरामीको सेवामा खटिने घिसिङ ‘गाउँका डाक्टर’



२८ चैत्र, रामेछाप ।
धेरै युवाको समान बुझाइ छ–स्वदेशमा बसेर केही हुँदैन, विदेश नै जाने । तर सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी रोज घिसिङमा त्यो भावना नै आएन । २०५५ सालमा एसएलसी पास गरेपछि घिसिङले स्वास्थ्यको क्षेत्रमा गाउँमै बसेर केही गर्ने योजना बनाए । पाेखरामा हेल्थ असिस्टेन्ट पढन भर्ना भए ।
मनमा गाउँमै बसेर केही गर्ने हुटहुटी छदै थियो । पाेखरामा हेल्थ असिस्टेन्टको पढाई सकेपछि घिसिङले आफ्नो योजना अनुसार नै गाउँ फर्कने निधो गरे । शहरको सेवा सुविधा भन्दा सोचे–गाउँमै बसेर सेवा गर्छु ।’ त्यति बेला गाउँ सडकको राम्रो सुविधा थिएन । बिजुली पनि थिएन । काठमाडौंसँग सिधा सडकको पहुँच पनि थिएन । लुभुघाटको झुलुङ्गे पुल तरेर गाउँ आउजाउ गर्नु पर्दथ्यो । त्यति बेला गाउँमा प्राथमिक स्वास्थ्य चौकी थियो । तर सानोतिनो बिरामी हुँदा पनि उपचार गर्न काठमाडौ ल्याउदा बोकेरै नेपालथोकसम्म ल्याउनु पर्ने बाँध्यता थियो ।
जीवनमा पैसा मात्र ठूलो होइन सेवा पनि धर्म नै हो भन्ने मान्यताको साथ घिसिङले २०६४ सालमा बेथानको जोमसामा मेडिकल स्थापना गरे । व्यवसायीक रुपमा स्थापना गरिएको यो मेडिकल गाउँको पहिलो नै थियो । मेडिकल सञ्चालन गरेसँगै गाउँका मानिसहरुलाई सानोतिनो बिरामी हुँदा औषधी पाउन सहज भयो । गाउँमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा अहेब नियमित रुपमा नबस्दा स्थानीयले सास्ती झेल्दै आएका थिए । तर विकल्प बन्यो घिसिङको मेडिकल ।

औषधी व्यवस्था विभागमा सोमिल्सन स्मृति आयु फर्मा दर्ता गरेर १२ बर्षदेखि निरन्तरत रुपमा मेडिकल सञ्चालन गर्दै आएका घिसिङले दाम र नाम दुवै कमाउन सफल भएका छन् । गाउँमा बिरामी पर्दा वा दुर्घटना हुँदा घिसिङ पुग्ने गरेका छन् । गाउँमा मेडिकल सञ्चालन गरेर औषधी लगायत स्वास्थ्य सेवा पुर्याएकै कारण गाउँलेले माया गरेर नाम दिएका छन,‘ गाउँका डाक्टर’ । गाउँमा कोही बिरामी पर्दा लौन रोजलाई फोन गर्न आग्रह गर्छन । यतिसम्म कि घिसिङले फोन गर्नासाथ आफूसँग भएको योग्यता र क्षमताले भ्याएसम्म स्वास्थ्य सेवा दिने गरेका छन् । फोन गर्नासाथ घिसिङले घरघरमै पुगेर सेवा दिने गरेका छन् ।

घिसिङ भन्छन–सँगैका अधिकाशं साथीहरु कि विदेशमा छन कि शहरमा छन, तर मलाइ विदेश र शहरले आकर्षण गर्न सकेन, गाउँकै सेवामा खटिदै आएको छु ।’ पैसासगै गाउँलेको माया पाएको छ, जसको कारण मलाई अझै सेवा गर्ने हौसला मिलेको छ, उनले भने । गाउँपालिकाभित्र अझैसम्म एउटा पनि अस्पताल छैन् । सरकारले यस बर्ष हरेक गाउँपालिकामा १५ शैयाको असस्पताल निर्माण गर्ने निर्णय गरेसँगै केही आशा पलाएको छ । घिसिङले सञ्चालन गरेको मेडिकल अहिले आफनै घरबाट सञ्चालन गरेका छन् ।

दैनिक ३० देखि पचास जनासम्म मेडिकलमा सेवा लिन आउने गरेको बताउदै घिसिङले गाउँपालिकाको चार वटा वडामा सेवा दिदै आएको बताछन् । मेडिकलमा बेथान, गुन्सी, हिलदेवी र खनियापानीका बासिन्दा औषधी लिन आउने गरेका छन् । ‘दिन रात नै सेवा दिदै आएको छु’, उनले भने,‘सकेको सुविधा दिएको छु ।’ बिरामीको अवस्था हेरेर तत्काल काठमाडौं पठाउनु पर्ने बिरामीलाई प्राथमिक उपचार गरेर धुलिखेल वा काठमाडौ लैजान सुझाव दिदै आएको बताउदै घिसिङले अनुभवले पनि पेशाले परिपक्क बनाउने अनुभव सुनाउछन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भय गाउँमा छ । तर पनि घिसिङ भने बिरामीको सेवामा समर्पित भएर अहिले पनि अहोरात्र खटिदै आएका छन् । हाल बेथानको वडा कार्यालयसँगै रहेको मेडिकलमा औषधी लिन चेकजाँच गर्न अहिले पनि भिड लाग्ने गरेको छ । पिपिईको प्रयोग गर्दै घिसिङले बिरामीहरुलाई औषधी दिदै आएका छन् ।
सेतीमाया फाउण्डेस र घिसिङ टोल सुधार समितिको समन्वयमा घिसिङले हरेक महिनाकाे पहिलाे शनिवार निशुल्क रुपमा वडा नम्बर ४ बेथानवासीहरुको सुगर ब्लड प्रेसर चेकजाँच गर्दै आएका छन् । दिवगंत सेतीमाया घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकी आमा हुन् । आमाको स्मृतिमा कुलमान घिसिङको परिवारले सेतीमाया फाउण्डेस स्थापना गरेर सामाजिक काम गर्दै आएको छ ।

रोज घिसिङकै प्राथमिक उपचार पाउदा कतिको ज्यान नै बचेको उदाहरण समेत छ । पेसाले मेडिकल सञ्चालक भएपनि उनी खेलकुदको विकासमा समेत जुटदै आएका छन् । उनी भन्छन–‘१२ बर्षको अवधिमा हजारौ मानसिहरुको सेवा गर्ने अवसर पाए, जीवनमा सेवा भन्दा ठूला आनन्द र खुसी अरु हुँदो रहेनछ ।’ हाल डिप्लोमा फार्मेसी अध्ययन गरिरहेका घिसिङले मेडिकलमा एक्सरे र भिडियो सहितको ल्याब राख्ने योजना रहेको बताए । पेसाले हेल्थ असिस्टेन्ट भएपनि गाउँमा सेवा समर्पित भएकै कारण घिसिङले ‘डाक्टर’को नाम पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्