कोरोनाले भन्दा खान नपाएर मर्ने चिन्ता



नेपाल राज्यको राजधानी सहर काठमाडौ बढो अचम्मको छ । यो काठमाडौले बाहिरका मान्छेलाइ मान्छे नै गन्दैन । राजधानी बाहिरका मान्छेलाई भाडावाल पाखे केही नभएको तन्म अनि हरि कंगाल सम्झिन्छ यो काठमाडौं । समग्र नेपालको पीडा कहिल्यै महशुस गरेन काठमाडौले । फेरि पनि बाहिरका मान्छे धेरैजसो बाँध्यताले थोरैजसो रहरले काठमाडौं जान मन गरिरहे र गरिरहेका छन् । काठमाडौमा घर छ भन्दा आफूलाई धेरै ठूलो ठान्ने जमात थोरै छ । काठमाडौमा नगई नहुने छ भन्ने गरिबहरको जमात ठूलो छ ।

काठमाडौं बाहिरका मान्छे काठमाडौ छिरेर केही भाडावाल बने । कोही भाडावाल बन्दाबन्दै घरधनीका ज्वाई बने । कोही भाडावाल प्रधानमन्त्री, मन्त्री बने । कोही भाडावाल ज्वाई प्रधानमन्त्री, मन्त्री र सांसद बने । घरबेटी कोही प्रधानमन्त्री बनेनन् । भाडावालाहरु नै मूलुक हाँक्ने ठाउँमा पुगे । काठमाडौंलाई प्रायः केही थाहा हुँदैन भन्दा पनि हुन्छ ।

काठमाडौको चार किल्ला बाहिर पनि नेपाल छ, त्यहाँ पनि नेपालीहरुको बसोबास छ भन्ने कुरा काठमाडौंको खाल्डोलाई थाहै नै छैन् । दस बर्ष माओवादी शसस्त्र द्धन्द्ध काठमाडौंले महशुस नै गर्नु परेन । मार्ने र मारिने सबै काठमाडौ बाहिरका थिए । उसले त्यो युद्धको चोट थाहै पाएन । मधेश डुब्दा काठमाडौं निस्प्राण सुतिरहन्छ । पहाडमा बाढी पहिरो, आगलागी, चट्याङ पर्दा काडमाडौ कालो चस्मा र कानमा एअरफोन घुसारेर सुत्छ ।

विनाशकारी भुकम्प र भारतीय नाकाबन्दले हल्का छोएजस्तो मात्र गर्यो काठमाडौलाई नत्र काठमाडौ कुम्भकर्णजस्तै सुतिरहन्छ । काठमाडौलाई उठाउन बाहिरबाट मजदुर, विद्यार्थी, व्यापारी, ड्राईभर, सेना, प्रहरी, राजनीतिक नेता, कार्यकर्ता गएर ढोल पिटनु पर्छ । अनि मात्र काठमाडौं ब्युँझन्छ । काठमाडौलाई त्यहाँ बाहिरबाट गएका विद्यार्थी, मजदुर, व्यापारी विभिन्न पुकारले काठमाडौ पुगेका मान्छको पीडामा काठमाडौंले संरक्षक र अभिभावको भूमिका कहिल्यै निर्वाह गरेन । जम्मा जम्मी उसले ती समुदायलाई भाडावाल मात्र सम्झि रह्यो ।
साच्चि संघीय सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरवार, प्रधानमन्त्री निवास वालुवाटार अनि शितलनिवास पनि काठमाडौमै छन् । तर काठमाडौमा खान नपाएर प्याप्याक परेका जनताको कारुणिक स्वर सुन्न र कोरोनाले जेसुकै गरोस खान नपाएर मर्न नपरोस भनेर हिडदै गरेको मजदुरको लर्को सायद देखेन कि ?
काठमाडौं बाहिरको समुदाय जो जहाँ बस्छ, त्यहाँ उसको समाज छ, छरछिमेकमा खाना खाए नखाएको थाहा हुन्छ । सामल सकिए एँैचोपैचो चल्छ । पैसा नभए सरसापट चल्छ । मिठो पिठो जस्तो छ पुगेसम्म बाँडेर खाने चलन छ । तर काठमाडांैमा कोठामा बस्ने मान्छेले खायो खाएन कुनै आपद विपद पर्यो कि ? बिरामी पो छ कि ? भनेर कोही कसैले कोही कसैलाई सोध्दैन र त्यो आपतमा अभिभावकत्व निर्वाह गर्ने आँट र क्षमता घरबेटीमा कहिल्यै देखिएन ।
अहिले विश्वलाई कोरोना भाइरसको महामारीले सताएको छ । विश्वका मानव समुदाय नै नरहने हो कि भन्ने भय त्रास र चिन्ता छ । यस्तो त्रास बढिरहेको बेला काठमाडांैलाई काठमाडौ बनाउन गएका बाहिरका मान्छेहरु रुदैरुदै यो पापी ठाउँमा कोही बस्न नपरोस भनेर सराप्तै आफ्ना बालबच्च काखी च्यापेर हप्तौं लाग्ने बाटो पैदल हिडिरहेका छन् । कहाँ पुग्ने के खाने कुनै टुंगो छैन् । बरबर आँशु चुहाउदै हिडिरहेका छन् । यिनिहरुको अवस्था हेर्दा मूलुकमा सरकार छ कि छैन भन्ने प्रश्न जो कोहीको मनमा उब्जिन्छ । अहिले मजदुर हिडिरहेको दृष्य हेर्दा लाग्छ–यी मजदुरहरु कुनै देशबाट भूमि खोसिएर लखेटिएका शरणार्थीहरु हुन् । मानौ, यी नेपाली नै होइनन् ।

कोरोना भाइरसबाट बचाउन सरकारले गत चैत्र ११ गतेबाट लकडाउन (बन्दाबन्दी) लगायो र त्यसलाई चरण चरणमा थप्दै वैशाक १५ गतेसम्म पु¥याएको छ । सरकारले लकडाउनलाई थप्नु पर्ने थियो, जनु राम्रो काम गर्यो । तर व्यवस्थापनको काममा सरकार कानमा तेल हालेर सुत्यो ।
नागरिकहरुलाई आपत विपद पर्दा सरकार चाहिने हो । सहजतामा आफ्नो श्रम गरेर जीविका चलाउदै आएका छन् । राहतको घोषणा गरेपनि काठमाडौंका घरधनीहरुले पात्र पाउछन, भाडावालाई राहत नदिने भनेर भोटको राजनीति घुसाइयो । भाडावालहरुको खाने अन्न सकियो, सरकारले दिएन । अनि उनीहरु ‘बाँचे हस्तिनापुरको राज, मरे चपरीमुनिको बाँस’ भनेर हिडेरै आ–आफनो बाटो तताउन बाँध्य भए । अहिले काहाली लाग्दो अवस्थामा सडक र आसपासको बाटो भरिएका छन् । सहर छोडेर गाउँ जानेहरुको लर्को छ ।

मूलुकमा तीन तहको सरकार छ । कोरोना नियन्त्रण कोषणमा अरबौ रकम जम्मा भएको छ । कोरोनाको नाममा करार्डौ भ्रष्टचार भइरहेको चर्चा उत्सकर्षमा छ । तर गरिब नेपाली जनताहरु भने आज आफ्नै देशभित्र शरणार्थी भएर भोकभोकै मर्ने स्थिति सृजना भएको छ । सरकारले राहतको घोषणा मात्र गर्यो । वास्तविक अर्थमा व्यवहारमा कार्यान्वयन गर्न जाँगर नै देखाएन । राहतलाई लक्षित वर्गसम्म पुर्याउने कार्यमा आफ्ना संयन्त्रको पूर्ण परिचालन गर्न नसक्ननुले गरिबको नामको राहत धनी र ठूलाबडाको घरमा मात्र पुग्यो । केही सामाजिक संघ संस्था राजनीतिक दल, भातृ संस्थाहरु र केही दानवीरहरुले गरिबहरुलाई खाना खुवाएर गन्तव्यसम्म पुर्याउन सहयोग गरेका छन् । तर नेपालको संघीय र प्रादेशिक सरकारले जनहितमा कुनै माखो मारेन ।

स्थानीय तहहरुले आफूसँग भएका स्रोत साधन र क्षमताको परिचालन गरि यो महामारीसँग लडने क्षमता बनाउने कार्यमा लागि परेका छन् । आफूलाई खतरामा राखेर पनि स्थानीय तहका प्रमुख, उप–प्रमुख, वडाअध्यक्ष तथा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीले गरेको काम प्रशंसनिय छ । स्थानीय तहमा क्वारेन्टाइन बनाउने, आइसोलेसन बनाउने त्यसको व्यवस्थापन गर्ने, एम्बुलेन्स तयारी अवस्थामा राख्ने अत्यावश्क औषधीको व्यवस्थापन गरेर वडा वडासम्म पु¥याउने कार्यमा स्थानीय तहको सरकार अहोरात्र खटिएको छ ।
महामारीबाट जनतालाई बचाउने कार्यमा लागिरहेका स्थानीय सरकारहरुले आफूसँग प्रतिस्पर्धामा आएका दलका नेता कार्यकर्ताहरुलाई समेत परिचालन हुने वातावरण बनाएको भए अझ झन प्रभावकारी रुपमा काम गर्न सहज हुने थियो । तर पनि स्थानीय तहका सरकारकाले जतिको काम संघीय सरकार र प्रादेशिक सरकारले गर्ने हो भने यहाँ लकडानमा खान नपाएर मान्छेहरुले रुदैरुदै गाउँ हिडनु पर्ने थिएन ।

सरकारले गाउँ र सहरमा राहत वितरण गर्ने विधि फरक–फरक बनाउनु पर्दथ्यो । विशेषगरी सहरमा ज्याला मजदुरी गरेर बस्ने मजदुरहरु, विद्यार्थी बसेको कोठामा तथा बासस्थानमा लगेर खाद्यन्न दिनु पर्दथ्यो । त्यसको लागि वडा कार्यालय टोलटोलमा संरचना निर्माण गरेर काम गर्न सकिथ्यो । गरिबले खाना खान पाएपछि र सरकारको राहत लिएपछि राज्यप्रति विश्वास बढथ्यो । तर विडम्बना त्यो हुन सकेन । अहिले पनि पैदल हिडिरहेका जनतालाई सुरक्षित गन्तव्यसम पु¥याउन सेना र प्रहरीको गाडी अनि साझा यातायातको प्रयोग गरेको भए अझै खुसी हुन्थे । मूलुकमा सरकार भएको आभाष हुन्थ्यो । तर त्यो हुन सकिरकोको छैन् । सहरबाट गाउँ जानेलाई सरकारले निश्चित अवधिसम्म क्वारेन्टाइनमा राख्ने काम स्थानीय तहका सरकारले गर्नुपर्छ ।

गाउँमा राहत वितरण गर्दा वडा र टोलमाा खान नपाउने गरिबको नामावली जनप्रतिनिधि र प्रहरीेले घरघर गएर संकलन गर्न पर्दथ्यो । त्यासो गरेको भए विदेशबाट गाउँ आएका मान्छेको पहिचान गरी क्वारेन्टाइमा ल्याउन समेत सहज हुने थियो, त्यो पनि हुन सकेन । अहिले गाउँमा खाने कुराको भन्दा पनि विदेशबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइमा राख्ने चिन्ता छ । सरकारको अदुरदर्शीताको कारण सिधा सोझा जनताले दुःख पाइरहेका छन् ।
राहतको व्यवस्थापन गर्दा स्थानीय तहमा बस्नेलाई मात्र हैन, विभिन्न आयोजनाहरुमा काम गर्ने आएका मजदुरलाई पनि राहत प्रदान गर्नुपर्छ । यति बेला मानवियता देखाउनु पर्ने बेला छ । स्थानीय सरकारले पनि व्यक्तिगत लोभ लालच त्यागेर सबैलाई परिचालन गरी मानविय सेवामा समर्पित हुन जरुरी छ । अहिलेको महामारीसँग लडनको लागि सबै मानव समुदाय एक हुन पर्दछ । महामारीको बेला कुनै दल,कुनै जात कुनै धर्म नमनिकन एकजुट भएर सेवामा लाग्नु गर्नु आजको आवश्यकता हो ।

नागरिकहरुले नि आफू बाँच्न र अरुलाई बचाउनको लागि आफ्नो तर्फबाट योगदान दिनु पर्दछ । जो विदेशबाट आउनु भएको छ, क्वारेन्टाइनमा बसेर आफू बाँच्चे परिवार बचाउने र समाज बचाउने अभियानमा योगदान दिनु पर्दछ । अन्तमाः प्रहरी प्रशासन, नागरिक समाज, जनप्रतिनिधि र विशेषगरी सम्पूर्ण स्वास्थ्यकर्मीहरुको साझा योगदानबाट नै कोराना भाइरसको महामारीसँगको युद्ध जित्न सकिन्छ । सबै संयमित बनौ, घरमै बसौ ।
(लेखक कार्की नेपाली कांग्रेस रामेछापका सचिव हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्