कोरोना जितेका रामेछापका श्रेष्ठ भन्छन–निको हुन्छ कोरोनासँग डराउन पर्दैन



झण्डै दुई महिना घरमा बसेर काठमाडौ आएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका लाक्पा श्रेष्ठ (नाम परिवर्तन) जेठ २ गते टेकु अस्पतालमा कोरोनाको परीक्षण गराउन गए । घरबेटीले कोरोना चेकजाँच गराउन बारम्बार आग्रह गरेपछि एउटै कोठामा बस्ने दाजुभाई नै कोरोना परीक्षण गर्न टेकु पुगेका थिए । जेठ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ‘ब्रिफिङ’मा रामेछापका एक व्यक्तिमा पनि कोरोना संक्रमित भएको सार्वजनिक भयो ।

श्रेष्ठले टेकुमा परीक्षण गराएकाले जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई उनको ठेगाना पत्ता लगाउन नै चार घण्टा भन्दा बढी समय लाग्यो । अन्ततः प्रशासनले उनको टेलिफोन नम्बर पत्ता लगाएर उनीसँग कुरा गरेपछि थाहा भयो संक्रमित राकाथुमका व्यक्ति हुन भनेर । त्यस लगत्तै जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको प्राविधिक टोलीले उनको घर र छिमेकी सहितको मध्यरातमै स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौं पठायो ।

अन्नतः सबैको रिपोर्ट नेगेटिक आयो । गाउँमा ढुक्क नै भयो । संक्रमित भने भोलीपल्ट मात्र सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले मैतीदेवीबाट पाटन अस्पतालमा लैजाने काम गरे । आइसोलेसनम भर्ना भएको नौ दिनमा नै उनको रिपोर्ट दुवै नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भए । कोरोना संक्रमित हुँदाको अवस्था र निको भएर घर फर्किदाको कस्तो महशुस गर्नुभयो भन्ने विषयमा रामेछाप न्युजको लागि स्नेहा सिलवालले गरेको कुराकानीः–

तपाई टेकु अस्पतालमा किन कोरोनाको परीक्षण गर्न जानुभयो ?
–म वैशाक ३० गते रामेछापबाट काठमाडौं आएको थिए । घरबेटीले लामो समयपछि कोठामा आएकाले एक पटक टेकुमा गएर कोरोना परीक्षण गराउन बारम्बार आग्रह गरेपछि टेकु अस्पतालमा परीक्षण गर्न गएको हो । मेरो स्वास्थ्यमा समस्या आएर चाही परीक्षण गर्न गएको होइन ।
तपाईले त मलाई कोरोना संक्रमण नै छैन भनेर पनि भन्नुभयो नि ?
–म कोठोमा सुतिरहेको थिए । टेकु अस्पतालबाट फोन आयो–तपाईको रिपोर्ट ठिक छ । आत्तिनु पर्दैन । म ढुक्क भए । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट फोन आयो तपाईको घर कहाँ हो ? मनमा चिसो पस्यो । गल्ती त केही गरेको थिइन । किन सबै ठाउँ ठेगाना सोधेको होला । मलाई सोधिएको थियो–तपाईलाई कोरोना पोजेटिभ भएको हो ? मैले जवाफमा नेगेटिभ भन्दा पोजेटिभ नै राम्रो होला भनेर हो हो.. पोजेटिभ हो भनिदिए । त्यसपछि राती नै मेरो घरमा पुगेर सबैको स्वाब लिने काम भएछ । त्यसपछि मनमा झस्का पस्यो साच्चिकै कोरोना लाग्यो कि के हो ? जेठ ७ गते स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले गाडी लिएर आएपछि म पाटन अस्पताल गएको हुँ ।

तपाई घरबाट काठमाडौ आएपछि कहाँ–कहाँ हिडनु भएको थियो ?
–लकडाउनको कारण कही कतै जाने अवस्था नै थिएन । हामी कोठोमा दाजु भाइ बस्छौ । हामी कोठामै बस्यौ । कही कतै पनि जाने र कोही कसैसँग भेटघाट गर्ने काम नै भएको थिएन । अचानक कोरोना संक्रमित भएको रिपोर्ट आउदा म आफै आश्चार्यमा परेको थिए ।

अस्पताल बस्दाको अनुभव कस्तो रह्यो ?
–मैले कुनै असहज महशुस गरिने । मेरो मनमा थियो–मलाई कोरोना नै लागेको छैन । आइसोलेसनमा भर्ना भएपछि दुई पटक मेरा स्वाब संकलन गरे परीक्षण गर्दा नगेटिभ नै आयो । मै नौ दिनमै डिस्चार्ज भए ।

तपाईले अस्पतालमा बस्दा के–के गर्नुभयो ?
–म आफै पनि ब्लाकबेल्ड खेलाडी हुँ । बिहान उठेपछि अस्पतालभित्रै एक्सरसाइज गर्थे । मोबाइलमा न्युज पढथे । घरपरिवारसँग कुरा गर्थे । दिमागमा कोरोना लाग्यो भनेर त्रास बोकिन । मनलाइ दह्रो बनाए । मलाई रुघाखोकी लाग्ने, ज्वरो आउने कुनै पनि लक्षण नै थिएन । अस्पतालमा खानपिन ठिकै थियो । अस्पतालमा डाक्टार र नर्सहरुले दिएको सुझाव निकै मन पर्यो ।

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नागेको छ संक्रमितहरुलाई के भन्न चाहनुहुन्छ ?
–कोरोना संक्रमित हुँदैमा डराई हाल्नु पदैन । आत्मविश्वास जगाउने, तातोपानी खाने मनमा चिन्ता नलिने, शारीरिक व्याम गर्ने गर्नाले कोरोनालाई जित्न सकिन्छ । दृढ आत्मविश्वास जगाउन आवश्यक छ ।

कहिले तपाइको अवस्था कस्तो छ ?

–म अहिले पनि कोठामा फर्किएपछि होम क्वारेन्टाइनमै छु । भाइले खाना पकाएर खान दिन्छ । हामीले फरक–फरक शौचालय प्रयोग गरेका छौ । १४ दिन क्वारेन्टाइनमै बस्न डाक्टरले सुझाव दिए अनुसार म अहिले क्वारेन्टाइनमै बसेको छु । तातोपानी खान्छु । नियमित रुपम ब्याम गर्छु । यसरी नै दिन वितिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्