यस्तो छ रामेछापका ८ स्थानीय तहको बजेट, कुन स्थानीय तहको कति ?



स्नेहा सिल्वाल

८ असार,काठमाडौं । रामेछापका स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् । रामेछापका आठ वटै स्थानीय तहले यही असार महिनाभित्र नीति तथा कार्यक्रमको साथै बजेट ल्याउने छन् । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेटको आधारमा स्थानीय तहले बजेट निर्माण गरिरहेका छन् । आठ वटै स्थानीय तहले पूर्व अनुमानित बजेटको सिलिङ तयार गरेका छन् ।

ग्राफिक्सः विवेक श्रेष्ठ

आर्थिक बर्ष २०७७/०७८ को लागि मन्थली नगरपालिकाले सबै भन्दा बढी १ अर्ब  ७ करोडको बजेट ल्याउने तयारी गरेको छ भने सबै भन्दा कम सुनापती गाउँपालिकाले ४८ करोड बजेट ल्याउने भएको छ । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले गत बर्ष भन्दा यस बर्ष केही भएपनि बढेर बजेट आउने रामेछाप न्युजलाई बताउनुभयो । यस आर्थिक बर्षमा मन्थली नगरपालिकाले ९२ करोडको बजेट ल्याएको थियो ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गत बर्ष केही करोड बढीको बजेट ल्याउने बताउदै ४६ करोड बजेट ल्याउने तयारीमा जुटेको जानकारी दिनुभयो ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बजेट निर्माणको तयारीमा रहेको बताउदै ५४ करोड बजेट आउने जानकारी दिनुभयो ।
त्यसैगरी खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले ६२ करोड बजेट ल्याउने तयारीमा जुटेको बताउनुभयो ।
रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले बजेट निर्माणको अन्तिम तयारीमा रहेको ६१ करोड बजेट ल्याउने पूर्व अनुमान गरिएको बताउनुभयो ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले बजेट समयमा नै ल्याउन छलफल भइरहेको बताउदै झण्डै ५६ करोड बजेट आउने जानकारी दिनुभयो ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्क सुनुवारले विषयगत छलफल सकेर बजेट निर्माणमा जुटेको बताउदै ६० करोड बजेट ल्याउने तयारीमा रहेको बताउनुभयो ।
त्यसैगरी उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले करिब ६० करोडको बजेट आउने आकलन गरिएको जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७७/०७८ को लागि सुनापती गाउँपालिकाले ४८ करोड, दोरम्बा गाउँपालिकाले ५४ करोड, खाँडादेवी गाउँपालिकाले ६२ करोड, मन्थली नगरपालिकाले १ अर्ब ७ करोड, रामेछाप नगरपालिकाले ६१ करोड, लिखु तामाकोसी गाउँपालिकाले ५६ करोड, गोकुलगंगा गाउँपालिकाले ६० करोड र उमाकुण्ड गाउँपालिकाले पनि ६० करोड बराबराको बजेट ल्याउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्