कोरोनासँग बच्न अब के गर्ने ?


मनोज कुमार कँडेल

बिश्वको कोरोनाको ग्राफ हेर्दा यसको असर, संक्रमण कम भएको देखिदैन । नेपालको परिपेक्ष्यमा हेर्दा ग्राफ घटदो छ । दिनमा ७०० भन्दा बढी संक्रमणको रेकर्ड देखिएको नेपालमा सरकारले परीक्षण घटाएसगैं संक्रमणको ग्राफ पनि घट्न थालेकोछ ।यस परिपेक्ष्यमा के विश्वास गर्न सकिन्छ भने परीक्षण जति बढायो संक्रमणको ग्राफ उति नै बढ्नेछ । यो नेपालमा मात्र होइन, विश्वका सबै देशहरुमा परीक्षणको ग्राफको आधारमा संक्रमणको ग्राफ बढेको तथ्यले देखाउछ ।

यस तथ्यलाई हेर्ने हो भने कुन देशमा कति व्यक्तिहरु संक्रमित छन भन्न सकिने अबस्था छैन । हामीले आज दिई रहेको तथ्याङ्क परिक्षण संख्याको आधार हो नकी आम नागरिकको संक्रमणको आधार । मैले यहाँ उठाउन खोजेको कुरा के हो भने विश्वमा हामीले जुन संख्यामा कोरोना संक्रमण भनिरहेकाछौं त्यो आम संक्रमणको तथ्य होईन । मात्र परिक्षण गरेको मध्ये भेटिएको संक्रमित संख्या हो ।यसको मतलब विश्वमा यस भाइरसबाट संक्रमितको संख्या केही गुणा बढी नै छ र नेपालमा पनि आज हामीले भनेको संक्रमित भन्दा केही गुणा बढी नै छ ।
तीन गम्भीर परिस्थितीः

पहिलो, संक्रमित व्यक्तिहरुमा लक्षण नदेखिनु । नेपालमा हालसम्मको संक्रमित मध्ये ९९.७ प्रतिशत व्यक्तिहरुमा लक्षण नदेखिएको सरकारी तथ्याङ्क सर्बजनिक भएकोछ । यो अबस्था हामी जस्तो परिक्षण कम हुने र समुदायलाई नै परिक्षण गर्न सक्ने क्षमता नभएको देशको लागी खतरापूर्ण हो ।

यो अबस्था नेपालसँगै विश्वमा नै देखिएको छ । पहिलो तीन महिना जसरी संक्रमितहरुमा स्पष्ट लक्षण देखिन्थ्यो, आज त्यो अबस्था रहेको देखिदैन । लक्षण नदेखिएका व्यक्तिहरुबाट सुरक्षा सर्तकता कमी हुने हुँदा यस प्रकारका संक्रमित व्यक्तिहरुबाट संक्रमण हुने अबस्था नै हामीहरुको लागी खतरनाक परिस्थिती हो । लक्षण नदेखीनुको कारण र यसको परिस्थती बारे सरकारले तुरुन्तै अध्ययन गर्नु पर्ने जरुरी रहेकोछ ।

दोश्रो, भाइरसले लुकाछिपी खेलिरहनु । विश्वका धेरै शहर र देशहरुमा कोरोना संक्रमण रोकिएको घोषणा गरिए पनि केही हप्तापछि संक्रमण देखिनु र पुनः लकडाउनमा जानु पर्ने अबस्था सिर्जना हुनु अर्को चिन्ताको विषय हो । विश्लेषकहरुको भनाई छ, भाइरसले विस्तारै आफ्नो रुप र जिवियतत्व परिवर्तन गदै अगाडि बढि रहेकोछ । ६ महिनाको यो लडाईमा मानव र भाइरसबीच आफुलाई बलियो बनाउने लडाई भएको अनुमान गर्न सकिन्छ । मानिसहरु भाइरसलाई निस्तेज पार्ने क्षमता विस्तार गर्दै गएका छन । जसको कारण यसको संक्रमण विश्वमै घट्दो छ ।

तर सँगसँगै भाइरसले पनि आफ्नो आक्रमणिय गुणलाई अझ मजबुद पार्दै चरणबद्ध आक्रमण गरिहेको अबस्था छ । भाइरसले अप्mनो गुण र आक्रमणिय क्षमताको विकास गरेको कारण संक्रमित पुन देखिने, लक्षण नदेखिने, भाइरस मुक्त भएर पनि फेरि संक्रमण भेटिने अबस्था देखिएको हो ।

तेश्रो, संक्रमित व्यक्तिहरुमा लक्षण परिवर्तन हुनु । जसरी भाइरसको पहिलो संक्रमणको चरणको तीन महिनामा देखिएको लक्षणहरु र आज परिवर्तन भएका छन । विभिन्न देश, परिस्थिती, हावापानी र मानिसको जिनको आधारमा छुट्टाछुट्टै लक्षणहरु देखिएको अबस्था छ । यो परिस्थिती अध्ययनकर्ताहरुको लागी समेत चुनौती रहेको छ ।

यो अबस्था भनेको भाइरसहरुले उनीहरुको रुपमा परिबर्तन गरिरहेको र मानविय वातबरणमा आफु सहज रहन सक्ने अबस्थाको सिर्जना गरिएको कुरा बैज्ञानिकहरुले भनेका छन । यस प्रकारको विषम जटिल परिस्थितीमा नेपाल सरकारले भने संक्रमण संख्या लुकाउन खोजेजस्तो देखिन्छ । प्राइभेट परीक्षणलाई निरुत्साहित गर्ने, आफ्नो परीक्षण दर घटाउने, संकलित स्वाबहरु परीक्षण विना फिर्ता गर्ने र स्वाब संकलन नै कम गर्ने अबस्थामा राज्य पुगेको देखिएको छ । यो राज्यको लापरबाहीको हद हो ।

अब के गर्ने ?

अर्को दुई महिना काठमाडौं लगायत बढी जनघनत्व भएका शहरहरुलाई साबधानीका साथ सिल गर्नु जरुरी छ । साबधानी पूर्वक सिल यी तीन प्रकृयाबाट गर्न सकिन्छ ।

पहिलो, रातो क्षेत्र भित्र पर्ने व्यवसायहरु सकेसम्म बन्द गर्ने र खोल्नु पर्दा उच्च सर्तकता अपनाएर मात्र खोल्ने जसको लागी राज्यले प्रभावकारी अनुगमन गर्नु जरुरी छ । मुख्यतयः होटल, रेष्टुरेन्ट (टेक ओए बाहेक), पुल, सर्बजनिक यातयात, विद्यालय, सिनेमा, मल (किराना र तरकारी पसल बाहेक) पाटी प्यालेस, धार्मिकस्थल, बगैचा, खेल क्षेत्रहरु (खेलाडि मात्र रहेर गर्ने बाहेक), सभा, जुलुस, धर्ना जस्ता राजनितीक गतिविधिलाई पूणरुपमा व्यवस्थित र उच्च सर्तकताका साथ संचालन हुनु जरुरी छ ।

दोश्रो, परीक्षणको गतिलाई बढाउने । मुख्यतयः संक्रमित भेटिएको ती क्षेत्रहरुमा जोखिमयुक्त क्षेत्रको रुपमा विशेष सुरक्षा अपनाउने र त्यस क्षेत्रका सबै बासिन्दाहरुको परिक्षण गर्ने, यसबाट उक्त क्षेत्रको जोखिमको आँकलन गर्न सकिन्छ । लक्षण नदेखिने यो अबस्थामा संक्रमितहरु पत्ता लगाउने आधार भनेकै परिक्षण हो । परीक्षणलाई कम गर्नु भनेको जोखिम उच्च बढाउनु हो ।

तेश्रो, अन्तराष्ट्रिय हवाई उडान अर्को दुई महिनालाई रोक्नु । विश्वमा नै संक्रमित हुनेहरुमा लक्षण नदेखिने र लक्षणहरु पनि फरक देखिएर सक्रमित व्यक्तिहरु पहिचान नै गर्न कठिन भएको यस अबस्थामा अन्तराष्ट्रिय हवाई मार्ग खुल्ला गर्दा जती साबधानी अपनाए पनि भाइरसको संक्रमण रोक्न सक्ने अबस्था देखिदैन ।

डरलाग्दो अबस्था त के हो भने ती देशहरु जहाँ अहिले संक्रमण छैन भनिएको छ त्यहाँका जनताहरुले भाइरससँग लड्ने क्षमताको विकास गरेको हुन सक्छ । तर त्यो व्यक्ति संक्रमित नै पनि हुन सक्छ । यस अबस्थामा बाहिरबाट आएको तिनै संक्रमित ब्यक्तिले परिवर्तित रुपको भाइरस नेपालमा प्रबेश गराउन सक्ने सम्भावना समेत देखिन्छ । यो अबस्था आउनु भनेको नेपालको लागी अर्को भयांकर माहामारी हुनेछ ।

भारतबाट घर फर्कने आबस्था न्यून भएको छ । तर फर्कने क्रम रोकिएको छैन । राज्यले सबभन्दा बढी ध्यान केन्द्रित गर्नु पर्ने क्षेत्र नै भारतिय बोर्डर हो । फर्कन चाहनेआम नागरिकहरुलाई विश्वासमा लिएर परीक्षण पश्चातमात्र गाँउ छिर्न दिने वातवरण बनाउनु जरुरी छ ।

हिजोको मुख्या समस्या नै घर फर्कन चाहनेहरुलाई बैधानिक बाटोबाट प्रबेश रोक्नु थियो । सरकारले सीमानामै रोक्दा उनीहरु रातारात चोरबाटोबाट गाँउ प्रबेश गरे । बाँकी नागरिकहरुलाई अव्यवस्थित क्वारेन्टाइनमा राखियो र क्वारेन्टाइन नै सक्रमणको केन्द्र बन्न पुग्यो । यसरी १४ दिन अव्यवस्थित क्वारेन्टाइनमा राखेर विना परीक्षण घर पठाउने महागल्ती हामीले गरेका थियौं ।

आजको यस परिस्थितीमा भारतबाट नेपाल आउन चाहानेहरुलाई व्यवस्थित क्वारेन्टाइन र परिक्षण पश्चात घर फर्कने सुरक्षित वातबरण दिन सकेमा हामीले झण्डै ५० प्रतिशत संक्रमण स्वतः रोक्न सक्नेछौं ।

अन्तमाः अबको २ महिना हामीहरुको अग्नी परिक्षाको अबस्था हो । जसरी पनि भिडभाड कम गर्ने, सुरक्षित वातबरणमा व्यवसाय संचालन गर्ने, अति आबश्यक पर्दा बाहेक कुनै पनि हालतमा घर बाहिर ननिस्कने बानी आम नागरिकहरुले बनाउनु जरुरी छ ।

राज्यले परीक्षणको दायरा अत्यधिक बढाउने, संक्रमित क्षेत्रहरुलाई सुरक्षित राख्ने, रातो क्षेत्रमा पर्ने व्यवसायहरुलाई तत्काल रोक्ने र अन्तरष्ट्रियस्तरबाट र भारतबाट हुने संक्रमण रोक्नको लागी राम्रो भुमिका खेल्नु जरुरी छ । नत्र नजिकिदै गरेको हामी नेपालीको महान चाँड दशै वियोगको चाँडको रुपमा परिबर्तन हुन सक्नेछ ।
(लेखक कँडेल अधिवक्ता हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्