खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउन रातदिन लागि परेका छौः अध्यक्ष तामाङ



स्थानीय सरकार गठन भएको तीन बर्ष पूरा भएको छ । स्थानीय तहको सरकारले तीन बर्षको अवधिमा केही सुधारको काम अगाडि बढाएका छन् । सडक, कृषि, स्वास्थ्य शिक्षा विद्युतीकरण खानेपानी लगायतको क्षेत्रमा नागरिकहरुलाई अनुभूति हुने गरी काम पनि अगाडि बढाएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकाले पनि तीन बर्षे कार्यकालमा सुधारको काम गरेर निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्ने चरणमा रहेको छ । दीर्घकालिन योजना तयार गरेरै काम अगाडि बढाएको गाउँपालिकाले गाउँपालिकासँग भएको स्रोत र साधनको अधिकतम उपयोग गरेर परिणाम दिन दिनरात लागि परेको छ । गाउँपालिकाले तीन बर्षको अवधिमा गरेको विकास निर्माणको काम र भावी योजना लगायतको विषयमा केन्द्रीत रहेर खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङसँग रामेछाप न्युजले गरेको कुराकानीः–

गाउँपालिकाभित्र ७ सय ९५ किलोमिटर सडक निर्माण
हामीले स्थानीय सरकारको नेतृत्व सम्हाल्दा गाउँपालिकाभित्र सुरुमा २ सय ८४ किलोमिटर ट्याक ओपन भएको थियो । सडक व्यवस्थित थिएन । हामीले योजनाबद्ध रुपमा प्राविधिकको रिपोर्टको आधारमा सडकको स्तरउन्नतीको काम अगाडि बढायौ । तीन बर्षको अवधिमा ८६ किलोमिटर नयाँ सडक निर्माण गरियो । सडकको माटो कटिङ गर्ने, ग्राबेल गर्ने, तार जाली मार्फत व्यवस्थित गर्ने, धुले र पक्की नाला निर्माण गर्ने, सडकको अवस्था हेरेर मेसिनरी वाल निर्माण गर्ने काम गाउँपालिकाबाट भएका छ । हालसम्म गाउँपालिकाभित्र ७ सय ८६ किलोमिटर निर्माण भएको छ ।
धमाधम कालोपत्रे चरणमा मुख्य सडकहरु
गाउँपालिकाले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को आधारमा संघीय सरकार र बागमती प्रदेश सरकारले गाउँपालिकाका मुख्य सडकहरुलाई कालोपत्रे गर्ने काम तीब्र गतिमा अगाडि बढेको छ । संघीय सरकारबाट गाउँपालिकाको सुलिथुम्का–टिमु निगालवास १३ किलोमिटर सडकको स्तरउन्नतीको काम भइरहेको छ । बागमती प्रदेश सरकारले राकाथुम–गोठपानी–गाल्वा १६ किलोमिटर सडकको कालोपत्रे अगाडि बढाएको छ सित्खा–आपचौर–चुल्ठेपानी ९ किलोमिटर सडकको पनि कालोपत्रेको काम सुरु भएको छ । सित्खा–गोगनपानी–धुलेवेसी–भोटनागी २९ किलोमिटर सडक मध्ये पहिलो चरणमा अहिले ११ किलोमिटर कालोपत्रे हुने अन्तिम चरणमा रहेको छ । भटौलीखोला– माकादुम–गाल्वा २५ किलोमिटर सडकको पनि ११ किलोमिटर कालोपत्रे गरिदैछ ।

नौ वटै वडा कार्यालयबाट गाउँपालिका जोडने सडक ग्राबेल
गाउँपालिकाले नौ वटै वडा कार्यालयदेखि गाउँपालिको केन्द्रसम्म जोडन सबै सडकको ग्राबेल गर्ने काम अगाडि बढाएका छौं । वडाबाट केन्द्र जोडन सडकहरुको स्तरउन्नती र ग्राबेलको काम भइरहेको छ । आर्थिक केन्द्र जोडने, एक गाउँपालिकाबाट अर्को गाउँपालिकाका जोडने, एक वडाबाट अर्को वडासम्म जोडन सडकलाई प्राथमिकता दिएका छौं । अािर्थक बजार सित्खा मन्थली, गाल्वा, खैरेनीघाट जोडने सडकको अवस्था अहिले राम्रो छ । गाउँपालिकाभित्रको नौ वटै वडामा हिउद बर्षा सहज रुपमा यातायात सञ्चालन गर्ने गरी सडक निर्माण गरेका छौं ।

एक विद्यालय एक उद्यम कार्यक्रम लागू
हामी निर्वाचित हुनु भन्दा अगाडि शिक्षा क्षेत्रको अवस्था अस्तव्यवस्त नै थियो । निर्वाचित भएलगत्तै गाउँपालिकाले विद्यालय सुधारको लागि सरोकारवाला पक्षसँग तीन दिन गोष्ठि गरेर दिर्घकालिन योजना बनाउदै तत्कालिन गर्नुपर्ने काम पहिचान गरेर २५ बुँदे घोषणापत्र जारी गर्यौ । बाल कक्षालाई ती तहमा विभाजन गरेर सञ्चालन गर्यो । गाउँपालिकाभित्रको सबै विद्यालयहरुमा पाठ्यपुस्तक निःशुल्क वितरण गरिएको छ । गाउँपालिकाभित्र ६४ वटा विद्यालय रहेकोमा मर्ज गरेर हाल ५२ वटा विद्यालय छ । देशभरकै एक सय विद्यालय मध्ये गाउँपालिकाको जनज्योति मावि माकुदम छनोट भएको छ । शिक्षालाई जीवन उपयोगी बनाउने मुख्य उदेश्य सहित गाउँपालिकात्रि रहेको विद्यालयमा ‘एक विद्यालय एक उद्यम’ कार्यक्रम पहिलो पटक सञ्चालन गरेका छौ ।

जेष्ठ नागरिकहरुलाई घरघरै निशुल्क स्वास्थ्य सेवा
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पनि सुधारको काम गरेको छ । गाउँपालिकाभित्र रहेका नौ वटै प्राथमिक स्वास्थ्य चौकीहरुको स्तरउन्नती गरेका छौं । सबै वडामा आँखा शिविर सञ्चालन गरेर १ सय ३१ जनाको गाउँमै आँखा अप्रेसन गर्ने काम पनि भएको छ । जेष्ठ नागरिकहरुलाई घर घरमा चिकित्सक पुगेर निशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरणको काम भएको छ ।
छ वटा वडामा ल्याब तथा फार्मेसी विस्तार गरिएको छ । बाँकी तीन वटा वडामा यस बर्ष ल्याब र फार्मेसी विस्तार गछौं । गर्भवती महिलालाई निशुल्क भिडियो एक्सरे सेवा दिएका छौ । घरबाट बर्थिङ सेन्टरसम्म ल्याउन निशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौ । अहिले सात वटा वडामा बर्थिक सेन्टर स्थापना गरेका छौ, बाँकी २ वटा वडामा बर्थिङ सेन्टर स्थापा गर्ने प्रक्रियामा छौं ।

१५ करोडमा १५ शैयाको अस्पताल धमाधम
सामान्य बिरामी हुँदा समेत नागरिकहरु स्वास्थ्य उपचारको लागि सदरमुकाम मन्थली र राजधानी काठमाडौ जाने गरेका छन् । यो अवस्था अन्त्य गर्नको लागि गाउँपालिको पहलमा वडा नम्बर ५ को गोकनपानीमा १५ करोड लागतमा १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढेको छ । संघीय सरकारको साझेदारीमा अस्पताल निर्माण भइरहेको छ । यो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि गाउँपालिकावासीको लागि निकै ठूलो राहत हुन्छ ।

एक वडा एक कृषि प्राविधिकको व्यवस्था
विगतमा कृषकहरुले परम्परागत रुपमा खेतीपाती गर्दै आएको अवस्था थियो । हामीले आधुनिक र व्यवसायीक रुपमा खेतीपाती र पशुपालन गर्नेपर्ने अवधारणा अगाडि सारेका छौं । नौ वटा वडामै माटो परीक्षण गर्ने काम गरेर जुन वडामा जे उत्पादन हुन्छ त्यहीँ अनुसारको पकेट क्षेत्र घोषणा गरेका छौं । पकेट क्षेत्र अनुसाकै अनुदान बिउ बिजन दिएका छौं । जसको कारण अहिले व्यवसायिकरण, यान्त्रिकरण, बजारीकरण गर्ने काम अगाडि बढेको छ । कृषि क्षेत्रको सुधारको लागि अनुदानको व्यवस्था गरेका छौं । यस बर्ष एक वटामा एक कृषि प्राविधिको व्यवस्था गर्दैछौ ।

घरघरमा खानेपानीको व्यवस्था 

हाम्रो गाउँपालिकाको अधिकाशं क्षेत्र सुख्खा ग्रस्त छ । अहिले सुनकोसी र तामाकोसीबाट लिफ्ट मार्फत खानेपानी आयोजनाको काम सम्पन्न भएर घरघरमा पानी पर्याउने काम भएको छ । पकरवास र भिरपानीमा लिफ्ट मार्फत खानेपानीको व्यवस्था गरिएको छ । अहिले खानेपानी पुर्याउन नसकिएको क्षेत्रमा गाउँपालिकाले ट्याङकर मार्फत खानेपानी पुर्याउदै आएको छ । चोप्राङ खोलामा दुई लाख लिटरको ट्याङ निर्माण गरेर गाउँपालिका आसपासको क्षेत्रमा खानेपानीको पुर्याउने काम भइहरेको छ ।

गुरु योजना बनाएरै पर्यटन क्षेत्र विकास
गाउँपालिकाभित्र रहेको ऐतिहासिक धार्मिक एवं सास्कृतिक क्षेत्रको विकासको लागि गुरु योजना निर्माण गरेरै काम अगाडि बढाएका छौं । ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य खाँडादेवी मन्दिरको गुरु योजना निर्माण मार्फत अहिले धमाधम काम भइरहेको छ । कृषि पर्यटन क्षेत्रको विकास गर्ने उदेश्य सहित भिरपानीको डब्खामा ४६ वटा नमूना एकीकृत वस्ती निर्माण भइरहेको छ । गाउँपालिका कार्यालयसँगै रहेको घ्यानिसङ डाँडामा शिव र बुद्धको मुर्ती स्थापना गर्ने काम गरिएको छ । विश्वमित्र गुफा, नर्वेदेशवर बेनीको पनि गुरु योजना निर्माण भएकाले काम अगाडि बढाउने तयारीमा छौं । सुलिथुम्कामा भ्यु टावर निर्माणको काम अगाडि बढेको छ ।

कोरोना समुदायमा फैलिन नदिने काममा जुटेका छौं
देश अहिले कोरोना भाइरसको महामारीको विरुद्ध लडिरहेको छ । गाउँपालिकाले पनि कोरोना नियन्त्रण र रोकथामको लागि काम गर्दै आएको छ । अहिले जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला प्रवेशमा कडाई गरेको छ । लकडाउन भए लगत्तै विपद् व्यवस्थापन समितको बैठक राखेर प्रत्येक वडाका विद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेका थियो । सरकार लडकउन खुला गर्ने निर्णय गरेसँग विद्यालय पनि सञ्चालनमा ल्याउने नीति लिएको थियो ।

तर अहिले सरकार तत्काल विद्यालय सञ्चालनमा नआउने बताएको छ । गाउँपालिकाको विष्णु जनज्योति माविमा वडाभित्रको स्वास्थ्यकर्मीलाई केन्द्रीकृत गरेर अहिले २४ वेडको आइसोलेसन सञ्चालन गर्नेछौ । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रसँग पनि समन्वय गरेर आवश्यकताको आधारम संक्रमितलाई पठाउने पूर्व तयारी गरिसकेका छौ । कोरोना भाइरस समुदाय स्तरमा फैलिन नदिने टोलटोलमा शिक्षकहरुलाई जनचेतनाको लागि परिचालन गरेका छौं । सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, साबुन पानीले हात धुने लगायतको जनचेतनाको काम अगाडि बढाएका छौं ।

प्रतिक्रिया दिनुहोस्