कोरोना भाइरसः हामी हाम्रै कारणले असुरक्षित छौं



हामी नेपालीहरु बहादुर, आँटिलो, सुरो, अटेरी, घमण्डी भएकै कारण असुरक्षित भएका हौं । हाम्रा पूर्खाको वीरतापूर्ण इतिहास छ हामीसँग । बिशाल अंग्रेजको फौजलाई ढुंगामुढा र अरिंगालको भरमा लखेट्ने हाम्रा बहादुर पुर्खाका सन्तान हामी चानचुने ठहरिने त कुरै भएन नि । हाम्रा जिजु बाउले घिउ खाएका थिए, नपत्याए मेरो हात सुँघ्नु भनेर बहादुरीताको पुष्ट्याइ गरिरहेका छौं हामी । हामीलाई कोही केहीसँग डर भन्ने पटक्कै लाग्दैन ।
हात्तीको बासस्थान मासेर जंगल फडानी गरी त्यहाँ बस्ती बसाउँछौं । अनि प्रत्येक बर्ष हात्तीले बस्ती भत्काउँदै मान्छे मार्छ हामी अझै अररो भएर त्यहीँ बस्छौं । हात्तीले नियतबस बस्ती भत्काएर मान्छे मारेकै हैन उसले त आफ्नो बाटोमा पर्ने अबरोध पन्छाएको मात्र हो । प्रत्यक बर्ष जनधनको क्षति हुँदा पनि अटेर गरेर बसिरहेका छौं ।जंगल ढुटीमाटी बनाएकै छौं । क्षति ब्यहोरिरहेकै छौं ।

लेख बहादुर कार्की

खोला, नदीहरुले बर्षायाममा बस्ती बगाईरहेकै छ । तर हामी बहादुर र आँट्टी भएर तटिय क्षेत्रमा बसिरहेकै छौं । आफुलाई परेको दिन पुर्पुरोमा हात लगाएर रुनु सिवाय त्यो ठाउँबाट सुरक्षित ठाउँमा सर्ने हाम्रो कुनै तदारुकता छँदैछैन । हामीलाई घरैको आँगनसम्म सडक चाहियो अनि वनजंगलमा डोजर चलायौं, धारा पँधेरा आहाल सबै मासेर घर माथि वा घरमुनि मस्तसँग डोजरे सडक खनेर मस्त निदाएको बेला पहिरो चलेर बस्ती बगाउँदा छरिएका र पुरिएका लाश टिप्दै रुदै गर्याैं । तर डोजर चलाउन छाडेनौं । पानीका मुहान सुकेर जंगल सखाप भएर गाउँ बस्ती कुरुप हुँदा पनि टुलुटुलु हरेर बस्यौं ।

२०७२ सालमा आएको बिनाशकारी भुकम्पले ठूलो जनधनको क्षति पुर्यायो । सरकारले भुकम्पबाट सुरक्षित हुने खालको घर बनाएर बस्न अनुदान दियो हामीले घर त बनायौं । तर त्यो घरलाई आफ्नो कहिल्यै भनेनौं,त्यो घरलाई भुकम्पको घर भनेर टार्यौ र पुरानो घरमै बसेर बहादुरी देखाईरहेका छौं । घर पनि कसैले खोलामा बनायौं, कसैले पहिराको डिलमा बनायौं ।

कसैले पहिरामुनि बनायौं, प्राविधिकले त्यस्ता घर पनि पास गरिदिए र ती घरहरु झन् धेरै जोखिममा छन् । तर हामीलाई कुनै चासो छैन किनभने त्यो घर आफ्नो हैन भुकम्पको घर हो । अहिले विश्व महामारीको रुपमा कोरोना भाईरस फैलिरहेको छ । यो महामारीसँग हामी पटक्कै डराएनौं, डराएका छैनौं । यो रोगको न कुनै उपचार छ न कुनै खोप पत्ता लागेको छ । तर हामी डराएकै छैनौं । हामी बिना काम घर बाहिर चोक चियापसल र भट्टीमा बसेर गफ हाकिरहेका छौं ।

दुरी कायम गर्न तयार छैनौं । मास्क लगाउन मान्दैनौं । मास्क लगाएर कायर हुने डर छ हामीलाई । घरभित्र बस्नेलाई बिल्ला हानिरहेका छौं,कायर सम्झिरहेका छौं । लकडाउनमा बाहिर निस्केर बहादुरीता देखाउने सौख छ, हामीलाई । प्रकोपबाट जोगाउन र जोगिन ठाउँ–ठाउँमा सिडिओले मास्क बाँड्ने कार्यक्रम राख्दा पछाडि बसेर खिसि गर्दै उडाउन मज्जा आउँछ हामीलाई ।

प्रहरीले पक्रेर थुनेथुनोस् तर मास्क लाइँदैन भन्दै गुड्डि हाकिरहेका छौं हामी । ढाँट्न र छल्न अत्ति आउँछ हामीलाई घरमा बुवा सरसराउँदा छन् तर मेरा बुवा बित्नु भो किरिया गर्न जान लागेको भन्दै प्रहरी प्रशासनलाई ढाँटेर ओहोरदोहोर गरेर बहादुरी देखाई कोरोना बोकेर हिँडिरहेका छौं हामी । हामी नागरिक मात्र हैन जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई पनि कोरोनाको चिन्ता छँदैछैन भन्दापनि हुन्छ किनभने हामीलाई त काठमाडौं र गाउँ जाने आउने पास सिडियोले नदिएको गुनासो मात्र छ । आफुलाई र आफन्तलाई कोराना संक्रमण नभएसम्म हामीलाई यो भाइरसको डरै छैन ।

यस्तो गरेर होला त ? पक्कै हुँदैन । हामीले मुर्ख्याइँ र घमण्ड त्याग्नै पर्छ । बाँचे विकास चाहिने हो विकास पछि गरौंला अहिले यो महामारीको प्रकोपबाट बाँच्ने र बचाउने मात्र योजना बनाऔं । बाँचे पढौंला र पढाउँला हाल सुरक्षित घरमै बसौं । रितिरिवाज, संस्कृति, चाडपर्व पछि मनाऔंला । अहिले दुरी कायम गरौं, पैसाले जीवन बचाउँदैन भन्ने उदाहरण विश्वासका धेरै मूलुकहरुबाट जानिसकेका छौं । हामीले बाँचे पैसा पछि कमाउँला मरिहत्ते नगरौं । नातिले सिकाएकै सही तर मास्क लगाउने र बिनाकाम घर बाहिर निस्किन बन्द गरौं । किनमेल गर्दा १ ।२ हप्तालाई पुग्ने एकैपटक जोहो गरौं ।

हातको भाग्य रेखा गएनि केही छैन हात धुन अल्छी नगरौं । बिनाकाम ओहोरदोहोर नगरौं । हामीलाई कोरोना लाग्यो भने उपचार गर्ने र सुरक्षा गर्ने ताकत सरकारमा छैन र सरकारले मात्र गरेर हुँदैन । हामीले अधिकार मात्र खोजेर आफ्नो कर्तव्य भुल्यौं भने समाजमा अराजकता फैलिन्छ । त्यसकारण जब जागे तब सबेरा भने झैं आजै देखि सजगता अपनाऔं यसमै छ हाम्रो भलो र बहादुरीता । कोरोना संक्रमणबाट बाँचौ र अरुलाई बचाऔं । ईमान्दार, मर्यादित र कर्तव्यनिष्ठ नागरिक बनौं ।

(लेखक कार्की नेपाली कांग्रेस रामेछापका सचिव हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्