सरकार जनताको नायक कुलमान घिसिङको म्याद किन नथप्ने ?



अबको नौ दिन अर्थात भदौ २९ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिदैछ । घिसिङको कार्यकाल सकिनै लाग्दा पुनः निरन्तरता दिनुपर्ने माग जनस्तरबाट चौतर्फी रुपमा उठिरहेको छ । नउठोस पनि किन ? जसले असम्भव मानिएको लोडसेडिङ फिल्मी शैलीमा हटाएर देशलाई उज्यालो बनाउने काम गरे । कुलमानले छरेको उज्यालो हरेक नेपालीको हृदयमा बस्न सफल भएको छ । बर्षोदेखिको लोडसेडिङ हटाएर कुलमानले उज्यालो मात्र ल्याएनन, नागरिकहरुको जीवनशैलीमा नै कालापलट गरिदिए ।

चार बर्ष धेरै त्यति धेरै ठूलो समय होइन । तर काम गर्नेको लागि चार दिन पनि निकै ठूलो हुन्छ । चार बर्ष अघि भदौमा नियुक्त भएका घिसिङले प्राधिकरणको नेतृत्व सम्हालको तीन महिनामै काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएर लोकसेडिङ हटाउन बर्षो लाग्ने भन्ने माफियाहरुलाई मुखभरीका जवाफ दिए । कुलमानको विरुद्धमा बोल्ने माफिया र विचौलिहरुको भागाभाग त्यहीँबाट सुरु भयो ।

कुलमानको कार्यकाल सकिनै लाग्दा चौथर्फी रुपमा पुनः निरन्तरता दिनुपर्ने दबाब पनि बढेको छ । देश र जनताको पक्षमा काम गर्ने घिसिङको म्याद थपिन्छ कि थपिदैन ? सर्वत्र चासो र चिन्ताको विषय बन्न पुगेको छ । सामाजिक सञ्जाल कुलमानको पक्षमा शतिसालझै उभिएको छ । बहस र चर्चाको केन्द्रमा अहिले घिसिङ नै छन् ।

अझै नौ दिन म्याद भएपनि सरकारले कुलमानको विषयमा कुनै प्रतिक्रिया दिएको छैन् । यद्यपी सरकारमाथि जनस्तरबाट पुनः निरन्तरता दिनुपर्ने दबाब कायमै छ । नहोस पनि किन ? घिसिङको पक्षमा जनलहर देखिनु उनले गरेको काम नै हो । सामाजिक सञ्जालमा अहिले पनि कुलमान घिसिङको फोटो राखेर नागरिकहरुले प्रोफाइल पिक्चर राखिरहेका छन् । जनताले घिसिङलाई मन मुटुमा राखेर अघात माया दिएका यो प्रमाण हो ।

‘कमाण्डर गतिलो भए युद्ध अवश्य जितिन्छ’ भनेझै ऋणमा डुबेको प्राधिकरणलाई आज कुलमानकै नेतृत्वमा सरकारको स्वामित्वमा रहेको संस्था मध्ये पहिलो नम्बरको बनाउन सफल भएका छन् । नौ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरणलाई चार बर्षको अवधिमा ११ अर्ब रुपैयाँ नाफामा लैजान भूमिका खेलेका घिसिङले आफ्नो जीवनभर सम्झन लायक काम गरेका छन् । देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएका घिसिङको रातदिनको लगाव र झुकाबकै परिणाम आज देशले उज्यालो पाएको छ ।

एउटा व्यक्तिको इच्छाशक्ति र आत्मबल उच्च भए असम्भव मानिएको काम पनि सफलतापूर्वक गर्न सकिन्छ भन्ने एउटा बलियो उदाहरण हुन कुलमान घिसिङ । विद्युत प्राधिकरणभित्र बर्षौदेखि रहेको विकृति र विसंगतिको चाङ छिचोल्दै चुनौती र धम्कीको सामना गर्दै अवरोधको बाटो पन्छाउन सकेकै कारण आज कुलमान बन्न पुगेका हुन् । उनले चुनौतीको सामाना गरे, अवरोध पन्छाउने आँट गरे । दृढ आत्मविश्वास भएकै कारण असम्भव मानिएको काम सफलतापूर्वक सम्पन्न गरेर जनताबाट स्याबासी पाए ।

एक जना असल राष्ट्रसेवकले आफ्नो दायित्व र कर्तव्य मात्र पूरा गरिदिने हो भने मात्र पनि सुधारको काम हुन्छ भन्ने पर्याय हुन घिसिङ । कुशल व्यवस्थापक भएको अवस्थामा डुब्बनै लागेको संस्थालाई पनि माथि उठाउन सकिन्छ भन्ने बलियो प्रमाण घिसिङले दिएका छन् । अहिले नेपालका सबै भन्दा बढी रुचाइएका ‘रोल मोडेल’ बन्ने अवसर कुलमानलाई प्राप्त भएको छ ।

चार बर्षे कार्यकालमा बिचौलीहरुले हटाउन सयौ कोशिस नगरेका पनि होइनन् । माफियाहरु हात धोएर नलागेका पनि होइन । निष्कंल छवि बनाएकै कारण कुलमानमाथि चौतर्फी प्रहार अन्नतः माफियाहरुको असफल सिद्ध हुन पुग्यो । काम गरेर जनताको साथ पाएका कुलमानले पदमा बस्दा कसरी काम गर्नुपर्छ भन्ने अर्को उदाहरण पनि देखाइदिएका छन् । बिहानदेखि राती १२ बजेसम्म कार्यालयमा बसेर योजना बनाउने र कर्मचारीहरुलाई विश्वासमा लिएर काम गर्न सकेकै कारण कुलमानले आफ्नो काम देखाएउन सकेका हुन् । उनले टिमवर्कमा विश्वास गरे ।

प्राधिकरणको नेतृत्व सम्हाल्नु अघि बिद्युत उत्पादनको औसत वार्षिक वृद्धिदर १ प्रतिशत मात्र थियो । तर चार बर्षको अवधिमा औसत वार्षिक वृद्धि दर १४ प्रतिशत भन्दा धेरै छ । सम्भवतः यो आर्थिक बर्षमा देशको बिद्युत उत्पादन क्षमता माथिल्लो तामाकोशी निर्माण सम्पन्न भएसँगै दोब्बर भएर दुई हजार मेगावाट भन्दा बढी पुग्ने देखिएको छ ।

यद्यपी कुलमानको प्रसङ्ग कालो बादलमा उज्यालोको एक धर्काको प्रतिबिम्व हो । देशले हरेक क्षेत्रमा चाहेको नायकको प्रतिबिम्व हो कुलमान । एउटै व्यक्तिको सोच, क्षमता,आत्मबल र निष्ठाले समाज र राष्ट्रमा गर्न सकिने सकारात्मक परिवर्तनको प्रतिबिम्व हो कुलमान ।
अत्यन्त सम्भावना बोकेको देशको जलविद्युत क्षेत्रले कुलमानजस्तो कुशल व्यवस्थापक पाउनु अहोभाग्य हो ।

उनका अनेक अधुरा परियोजनाहरु पुरा गर्न र जलविद्युत क्षेत्रमा अझै अधिकतम छलाङ्ग मार्न अझै एक कार्यकाल कुलमानलाई प्राधिकरणको नेतृत्व दिनुको विकल्प छैन् । निशर्त एक कार्यकाल कुलमानलाइ नै पुनः नियुक्ति गर्नुपर्छ । मेरो देशले सबै क्षेत्रमा कुलमानजस्तै व्यक्ति पाओस । मेरै पालामा समुद्ध नेपाल देख्न मात्र होइन, महशुस पनि गर्न पाइयोस् । कुलमानले नेपाल विद्युत प्राधिकरणको बागडोर सम्हालेको आज चार वर्ष पुगेको छ र त देश उज्यालो छ ।

मेरो लागि कुलमान उज्यालो प्रकाशको किरण हो । सम्पूर्ण नेपालीको मुटुको ढुकढुकी हो । विद्युत प्राधिकरणमा सरकारले पुनः नियुक्ति गर्ला÷नगर्ला । तर कुलमानले नेपालको उर्जा क्षेत्रमा सधै लागि अविस्मरणीय काम गरेका छन् । देश र जनतालाई लगाएको गुणको कारण सम्पूर्ण नेपालीले उज्यालो नेपालको नायकको रुपमा कुलमानलाइ सधै सम्झिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्