दशैं अर्को बर्ष मनाउला, यस बर्ष कोरोनाबाट बचौं



विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाको कहरबाट नेपाल पनि अछुतो रहन सकेको छैन् । विगत सात महिनादेखि हामी कोरोना महामारीकाे विरद्ध जुधिरहेका छौं । नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । कोरोनाको संक्रमणको पहिलो चरणमा कोरोना जोखिमका लागि सावधानीको उपायहरु अपनाउदा आशा गरेजस्तो संक्रमणको दर धेरै बढन पाएन । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत्रदेखि चार महिना लामो लकडाउन पनि गर्यो । सरकारले अगाडि गरेको निर्णयप्रति नागरिकहरुले साथ दिदै निर्णय कार्यान्वयन पनि गरे ।

कृशला घिसिङ

सुरुका दिनमा सामाजिक तथा भौतिक दुरी कायम गरेकै कारण कोरोना संक्रमितको संख्या बढन पाएन । तर जब लकडाउन खुल्यो तब संक्रमितको संख्या ह्वात्तै बढयो । सरकारले सुरक्षाको विभिन्न विकल्प अगाडि सारेपनि नागरिकस्तरबाट अपेक्षा अनुसार पालना हुन सकेन । लामो लकडाउनको कारण जनजीवनमा प्रभाव पर्नु फेरि स्वभाविकै पनि थियो ।

अहिले सार्वजनिक यातायात सबैतिर सञ्चालन भइसकेको छ । शहरबाट गाउँ जाने र गाउँबाट शहर जाने क्रम बढेको छ । बजार सञ्चलनमा आएपछि चहलपहल पनि बढिरहेको छ । पूर्ववत अवस्थामा बजार फर्किसकेको छ । यता दैनिक दुई हजारदेखि पच्चीस सयसम्म संक्रमित पुष्टि भइरहेका छन् । झन चाडपर्व नजिकिदै गर्दा जोखिम पनि बढिरहेको छ । यस्तो जोखिम बढिरहेको अबस्थामा चाहिँ हामी त्यति सावधानी अपनाईरहेका छैनौं । हामीले ठूलो जोखिमलाई फितलो रुपमा लिइरहेका छौँ । अब हामीमा यो प्रश्न आँउछ कि भोलिको दिनमा परिस्थिति गम्भिर हुदैं गयो भने जिम्मेवारी को रहने ? यो विषयमा संघीय सरकार प्रदेश सरकार र विशेष गरेर स्थानीय सरकारले विशेष योजना र नियम बनाएर कदम चाल्न जरुरी छ ।

यस्तो जटिल परिस्थितिमा सरकारले नियम बनायो यस्ता नियमहरु पालन गर्ने कि नगर्ने ? भन्दा पनि आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित बनाउने भन्ने कुरा स्वयंम व्यक्तिले मनन गर्यौ भने मात्र हामी सबैजना सुरक्षित रहन सकिन्छ । नत्र गुणात्मक हिसाबले संक्रमितको संख्या बढ्दै जाने हो भने अब आउने परिस्थितिलाई सम्हाल्न कठिन हुन्छ ।

यो रोग सामान्य रुघा खोकी जस्तो मात्र नभएर प्राण घातक पनि हो । विश्वमा दस लाख भन्दा बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । नेपालमा पनि पछिल्लो समय मृत्यु हुने दर बढदै गएको छ । हालसम्म नेपालमा कोरोनाबाट ५ सय ६३ जनाको मृत्यु भइसकेको छ भने ९० हजार भन्दा बढी संक्रमित रहेका छन् ।

कोरोनाको कहरकैबीच नेपालीहरुको महान पर्वहरु दशैँ,तिहार, छठ नजिकिदै गर्दा जोखिमको मात्र पनि उत्तिकै बढिरहेको छ ।
शहरबाट गाउँ र गाउँबाट शहर आवतजावतको संख्या पनि बढिरहेको छ । यस्तो परिस्थितिमा चाडपर्व भन्दा पनि हरेक नागरिकहरुले आफ्नो र परिवारको स्वास्थलाई प्राथमिकतामा राखेर सोच्नु पर्ने बेला आएको छ । कोरोना संक्रमितको जोखिम जेष्ठ नागरिक, दिर्घ रोगी बालबालिकाहरुमा बढी देखिएको पाइन्छ । चाडपर्व मनाउने नाममा कोरोनाको जोखिम निकै उच्च देखिन्छ । किनकी एक आपसमा बोलचाल गर्दा भेटघाट गर्दा नै यो संक्रमण फैलिनसक्ने खतरा  उच्च छ ।

दशैँमा आफुभन्दा ठूलाबडाको हातबाट टिका आर्शिवाद थाप्ने चलन छ । यो हाम्रो मौलिक परम्परा हो । आस्था पनि हो । हरेक चाडपर्वको आ–आफ्नै सांस्कृति एवं ऐतिहासिक महत्व रहदै आएको छ । हामीले विगतदेखि चल्दै आएको रितिरिवाज, परम्परा र संस्कारलाई निरन्नरता पनि दिदै आएका छौं । यस बर्षको दशै भने विषम परिस्थितिमा आइरहेको छ । हामील हाम्रो संस्कार विर्सन त हुन्न । तर समय र परिस्थिति अनुसार यस पटक भने जहाँ रहेका जहाँ रहेका छौ, त्यहीँ बसेर बनाउनु पर्ने बाँध्यता आइलागेको छ ।

महामारीको जटिल परिस्थितिमा जेष्ठ नागरिहरुसँग भेट हुन्छ । जहाँ कोरोना संक्रमण फैलिने जोखिम निकै हुन्छ । यस बर्षको दशैं जहाँ छौ, त्यहीँ मनाऔ । दशै त अर्को बर्ष पनि आउछ ।  फेरि पनि आफन्तसँग भेटघाट गरौला । अर्काे बर्ष झन रमाइलोसँग मनाउला, ।यस बर्ष भने कोरोनाबाट आफू पनि बचौ र समाजलाई बचाउने बेला हाे ।

आगोको झिल्को सानो हुन्छ, तर त्यसले लिने रुप भयावहक र विनाशकारी हुन्छ । त्यसैगरी देशभित्र फैलिरहेको कोरानोको संक्रमण पनि आगोको झिल्कोजस्तै हो । समयमा नै झिल्को निभाउन सक्यो भने सबैलाई बचाउन सकिन्छ, वेवास्था गरेर अगाडि बढयो भने धनजनको ठूलो क्षति हुने निश्चित छ ।

कोरोना संक्रमण विश्वभरी फैलिदा समेत अहिलेसम्म कोरोनाको औषधी प्रयोगमा आउन सकेको छैन् । त्यसैले यस बर्षको चाडपर्व जहाँ जुन अवस्थामा छौ, त्यहीँ बसेर मनाऔ, शहरमा रहेकाहरुले शहरमै मनाऔ, गाउँमा रहेकाहरुले गाउँमै मनाऔ, शहरबाट गाउँ र गाउँबाट शहर जाने काम बन्द गरौं । आफू बचेर समाजलाई बचाउन दायित्व र कर्तव्य सबैले पूरा गरे गाउँमा फैलिन सक्ने सम्भावित कोरोना संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।

(लेखक दाेरम्बा गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ)

 

प्रतिक्रिया दिनुहोस्