रामेछाप अस्पतालमा आईसीयू र भेन्टिलेटर किन नराख्ने ?



एक दुई दिनयताको खबरहरुको हेडलाइन र सामाजिक सञ्चालका पोष्टहरु हेरेर एक स्वास्थ्यकर्मी र यस जिल्लाको स्वास्थ्य संस्थाहरुको सेवाग्राही समेत भएको हिसावले केही नलेखि बस्न सकिन । आज देशका अति दुर्गम भनिएका प्रायः जिल्लाहरूका नागरिकहरूले विशेषज्ञ सहितको सुविधा सम्पन्न अस्पतालको सेवा उपभोग गरिरहदा रामेछाप जिल्लाका नागरिकहरू भने बञ्चित हुँदै आएका छन् ।

रामेछाप जिल्ला अहिले पनि २० वर्ष अगाडि तात्कालिन अवस्थामा जिल्लामा कार्यरत एकमात्र चिकित्सक डा. रहमानको पालाकै अर्थात जिल्लाको स्वास्थ्य सेवा २० बर्ष पछाडि नै भएका सम्झना दिलाउँने गरी एमबीवीस पास गरेका चिकित्सकबाट पाएको सेवामा चित्त बुझाउन बाँध्य छन् । भलै संख्यामा मात्र चिकित्सकहरू बढे होलान् । तर न जिल्ला अस्पतालको स्तरोन्नती हुन सक्यो न त्यहाँको कर्मचारी दरबन्दी संरचनाको विकास हुन सक्यो न जिल्लामा अर्को कुनै सरकारी अस्पतालको व्यवस्थापन नै हुन सक्यो ।

दिपेन्द्र श्रेष्ठ

अझ भनौ, सरदरमुकाम र बदरमुकामको क्षेत्रीय राजनीतिले सधै यसको बृद्धि विकासलाई अबरोध गरि रह्यो, गाँजिरह्यो। आकस्मिक प्रसुतिजन्य शल्यक्रिया र अन्य सामान्य शल्यक्रिया सेवा आवश्यक भएका बिरामीहरू समेत छटपटाउदै ४र५ घण्टाको दुःखद यात्रा तय गर्न बाँध्यता हुन्छन् । अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड बमोजिम जिल्लामा कम्तिमा तीन जना विशेषज्ञ चिकित्सक सहित ४६ जनाको जनशक्ति हुनुपर्छ ।

तर हाल सम्म स्थापना कालिन २२ जनाकाे स्वीकृत दरबन्दी कायम छ, २२ जना स्वीकृत पद मध्ये पनि हाल प्रमुख पदहरू मे.सु.१, मे.अ.१, स्टाफनर्स-२, ल्या.टे.-१, अ.हे.व-१, अ.न.मी.-१, र का. स.-३ गरि जम्मा १० वटा पद रिक्त रहेकाे अबस्था छ, अब साेचाैं कसरी चल्दैछ अस्पताल, जेनतेन छात्रबृति करारका चिकित्सकहरू र करार कर्मचारीकाे भरमा धानिएकाे छ।

आखिर रामेछापका नागरिकले यो सबै सहनु पर्ने के गल्ती गरेका रहेछन ? यसको जवाफ कसले दिने ? आज संक्रमितको सेवामा जुटिरहँदा भोलिका दिनमा हामीलाई नै रिफर गर्न पर्ने अवस्था नआउलान् भन्न सकिन्न । अझै पनि केही बिग्रेको छैन, जिल्लाका अभिभावकज्यूहर । आजैदेखि सरकारी स्वास्थ्य संस्थालाई दक्ष चिकित्सक र आधुनिक उपकरण सहितको सुबिधा सम्पन्न अस्पतालको रुपमा सुदृढ गर्ने सोंच बनाऔं । रामेछापवासी जनताको जीवन रक्षाको लागि काम नगरे अबको २० बर्षपछि पनि हाम्रा छोरा नातीहरूले यस्तै समाचार पढ्न र हेर्न बाँध्य हुनु पर्नेछ । अहिलेसम्म रामेछापमा छैनन भेन्टिलेर र आईसीयू, गम्भीर कोरोना संक्रमितलाई काठमाडौं पठाइयो, रामेछाप जिल्लाभित्र पर्याप्त छैनन् अक्सिन सिलिन्डर यस्तै यस्तै ।

आज सम्पन्न धनाड्यहरू र नेतागणहरू भारत, जापान सिंगापुर, अमेरिका गएर उपचार गर्ने नजिक भएर वा त्याहाँ जान पायक परेर हैन त्यहाँ दक्ष चिकित्सा सेवा, आधुनिक प्रविधि र भरपर्दो स्वास्थ्य सेवा प्रणाली भएर नै हो । जिल्लाको पुरानो सरकारी अस्पताल रामेछाप अस्पताललाई जिल्लाका नेतृत्व वर्गले कहिल्यै जिल्लाको अस्पतालको रूपमा स्वीकारेको महसुश हुन पाएन ।

क्षेत्रीय राजनितिले गाँजिरह्ये र आज यो दुरावस्था यहाँका नागरिकले खेप्दैछन् । हाल भुकम्प पछि सुविधा सम्पन्न भवन हस्तान्तरणको चरणमा छ । चाडै यसलाई दक्ष जनशक्ति र औजार उपकरणसहितको जिल्लाका बिपन्न र गरिब जनताले विषेशज्ञ सेवा पाउँन सक्ने अस्पतालमा सुदृढ गर्नका लागि सबै पक्षसँग अनुरोध गर्दछु । जसले गर्दा जिल्लाको अस्पतालले अहिलेको बिपत्तिको सामना र भविष्यमा आउन सक्ने अप्ठ्यारामा समेत तयारी रहन सकोस् ।

(लेखक श्रेष्ठ जिल्ला अस्पताल रामेछापका सिनियर अहेव अधिकृत हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्