सुनापति गाउँपालिकालाई भ्रष्टचारमुक्त गाउँपालिका बनाएर देखाउछुः खड्का



सुनापति गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट युवा नेता कमान (दिपेन्द्र) खड्काले गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिएका छन् । उम्मदवारी दर्ता गरेसँगै गाउँपालिको टोलटोलमा भोट माग्नको लागि अध्यक्षका प्रत्यासी खड्कासहित कांग्रेसका नेता कार्यकर्ता अभियानमा हिडेका छन् । यसै सन्दर्भमा सुनापति गाउँपालिकाका उम्मेदवार कमान (दिपेन्द्र) खड्कासँग गाउँपालिकालाई समृद्ध बनाउने योजनाको विषयमा केन्द्रीत भएर रामेछाप न्युजले गरेको कुराकानीः

सुनापति गाउँपालिकामा काग्रेसले तपाईलाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ, के एजेण्डा लिएर भोट माग्न जाँदै हुनुहुन्छ ?
सर्वप्रथम मलाई पार्टीले विश्वास गरेको टिकट दिएको छ । पार्टीको विश्वासलाई जोगाउने छु । दोस्रो सुनापति गाउँपालिकालाई समृद्ध बनाउने संकल्प मैले गरेको छु । विकासको दृष्टिकोणबाट पछि पर्दै आएको गाउँपालिकालाई विकास मेरो योजना छ । गाउँपालिकालाई समृद्ध बनाउन स्पष्ट योजना र दृढ इच्छा शक्ति चाहिन्छ । विना योजना हचुवाको शैलीमा गाउँपालिकाको विकास हुन सक्दैन । गाउँपालिकालाई समृद्ध बनाउन कृषि, पर्यटन, सडक लगायतका पूर्वाधार साना उद्योग स्वास्थ्य शिक्षा लगायतको क्षेत्रलाई नयाँ ढंगबाट अघि बढाउनु पर्ने आवश्यकता छ, म निर्वाचित भएको अवस्थामा धेरै योजनामा हात हाल्ने भन्दा पनि गर्न सकिने कामको पहिचान गरेर कार्यक्रम अघि बढाउने योजना छ ।

तपाईलाई नै सुनापति गाउँपालिकावासीले किन भोट दिने ?
गत पाँच बर्ष सुनापति गाउँपालिकामा यस अघि निर्वाचित जनप्रतिनिधिहरुले गरेको कामको बारेमा पनि सुनापति गाउँपालिकावासीले राम्रोसँग मुल्याकंन गरेका छन् । अहिले म धेरै आलोचना गर्न चाहन्न । गाउँपालिकासँग सीमित स्रोत र साधनबाट पनि प्रभावकारी काम गर्न सकिन्छ । तर त्यो इच्छा शक्ति यसअघि गाउँपालिका हाँक्नेहरुमा देखिएन । खाली उपभोक्ता समिति बनाउने र दुनो सोझ्याउने काममा मात्र केन्द्रीत भएको पाइयो । गाउँपालिकालाई भ्रष्टचारमुक्त बनाउन, विकास निर्माणको कामलाई तीब्रता दिने, युवाहरुलाई गाउँघरमै रोजगारीको अवसर सृजना गर्न, शिक्षा क्षेत्रको परिवर्तन गर्न, स्वास्थ्य क्षेत्रको थप विकास गर्ने कार्यक्रम अघि बढाउनका लागि मतदाताले मलाई मतादन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

गाउँपालिकाको केन्द्रसम्म अझै सडक कालोपत्रे हुन सकेको छैन, यसमा तपाईको के योजना छ ?
पक्कै पनि यसअघिको स्थानीय सरकारले लुभुबाट बेथान हुँदै गाउँपालिकाको केन्द्र हिलेदेवी जोडन सडकलाई कालोपत्रे गर्न ध्यान दिएको पाइएन । लुभबाट खनियापानी हुँदै पालिका जोडने सडक कालोपत्रेको काम सुरु त भएको छ । तर जुन गतिमा काम हुनु पर्दथ्यो त्यो हुन सकेको छैन् । पाँच बर्षमा मुख्य सडक कालोपत्र हुन नसक्नु विडम्बना नै भन्नु पर्छ । अब हामीले मध्ये पहाडी लोकमार्ग डहुदेखि बेथान, हिलदेवी हुँदै गाल्वासम्म जोडने मुख्य सडकलाई पाँच बर्षभित्र कालोपत्रे गर्ने योजना अघि सारेका छौं । अब बोलेर मात्र हुने अवस्था छैन, काम गरेर देखाउनु पर्छ । संघ प्रदेशसँग समन्वय गरेर पहिलो प्राथमिकता यो सडकलाई कालोपत्रेको योजना अघि बढाउनु हुनेछ । गाउँपालिकाबाट पाँच सबै वडामा जाने मुख्य सडकलाई पहिलो प्राथमिकता राखेर स्तरउन्नती गरिनेछ । अब स्तरउन्नतीको नाममा धेरै बजेट खर्च गर्न दिन हुँदैन, पालिकाभित्र वडासम्म जाने मुख्य सडकलाई ग्राबेल गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं । पालिकाभित्र रहेको सडकलाई व्यस्थित बनाउने विषयमा ध्यान दिइनेछ ।

पर्यटन क्षेत्रको विकास गर्ने तपाईसँग के योजना छ ?
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्य सुनापतिबाटै गाउँपालिकाको नामाकरण भएको छ । गाउँपालिको प्रमुख पर्यटकीय गन्तव्य सुनापति डाँडा नै हो । यस डाँडामा रहेका विभिन्न मठ मन्दिर, मानेहरुको संरक्षण गरेर पुर्नजीवन दिने योजना छ । सुनापति डाँडामा गुरु योजना बनाएरै पिकनिक स्पोर्ट निर्माण गरिनेछ । त्यसैगरी गाउँपालिकाभित्र रहेका विभिन्न सांस्कृतिलाई जगेर्ना गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । पालिकाभित्रका मठ मन्दिर, माने, गुम्बाको व्यवस्थापनमा योजनाबद्ध रुपमा संरक्षण एवं विकासको काम अघि बढाइने योजना बनाएका छौं ।

कृषि क्षेत्रमा सुधारको लागि के गर्नुहुन्छ ?
–गाउँपालिका कृषि क्षेत्रमै आश्रित छ । सुनकोसी नदी, खानीखोला र चौरीखोला किनाराका खेत बाहेक अन्य ठाउँमा सिचाईको राम्रो व्यवस्था छैन् । अब परम्परागत रुपमा कृषि क्षेत्रमा लगानी गरेर प्रतिफल आउने अवस्था छैन् । पाँच वटै वडाको वस्तुस्थितिलाई हेरेर फरक–फरक खालका कृषि प्रणाली अपनाउनु पर्ने आवश्यकता छ । अब आधुनिकरण र यान्त्रिकरणमा ध्यान दिनुपर्छ । नदी तथा खोला छेउमा रहेको सिंचाई क्षेत्रमा फलफुल तथा तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्छ । अब थोरै जग्गा जमिनमा खेती गरेर फाइदा हुने अवस्था छैन् । कृषि उत्पादनलाई बढाउन आधुनिक ढंगले काम गर्ने मैले योजना बनाएको छ । अहिलेसम्म गाउँपालिकामा कृषि क्षेत्रको विकास गर्नको लागि चिस्यान केन्द्र निर्माण गरिएको छैन् । मैले जितको अवस्थामा गाउँपालिकामा चिस्यान केन्द्र स्थापना गर्ने काम तत्काल अघि बढाउने छु ।

स्वास्थ्य क्षेत्रको अवस्था अझै सुधार हुन सकेको छैन, त्यसको लागि तपाईको के योजना छ ?
–विगतमा गाउँपालिकाले गर्न सक्ने काम गर्न पनि इच्छा देखाएन । बेथानमा अहिले सामान्य खालको अस्पताल सञ्चालनमा आएको छ । अब यसलाई स्तरउन्नती गदै सामान्य उपचारको लागि गाउँपालिकावासीलाई काठमाडौं धाउनु पर्ने बाँध्यता हटाउने मेरो योजना छ । यस अस्पतालाई स्रोत साधनले अझै व्यवस्थित बनाउदै आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने विषयमा योजना बनाएको छु । पालिकाको पाँच वटै वडामा रहेको स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित बनाउदै न्यूनमत स्वास्थ्य सेवा प्रवाह वडाबाटै प्रवाह गर्नुपर्छ । बृद्धाबृद्धलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण र उपचार गर्ने व्यवस्था मिलाउने काममा मैले ध्यान दिनेछु ।

गाउँपालिकालाई धनी बनाउने के योजना छ ?
–गाउँपालिकालाई समृद्ध बनाउन पहिलो कुरा आर्थिक उत्पादन बढाउनु पर्छ । साना साना उद्योग सञ्चालन गरेर गाउँघरमै युवाहरुलाई रोजगारी सृजना गर्न सकिन्छ, बाख्रापालन, कुखुरा पालन कृषि फार्म सञ्चालन लगायतको कामबाट आर्थिक अवस्था माथि उकास्न सकिन्छ ।
त्यसैगरी गाउँपालिकालाई धनी बनाउने भनेको सुनकोसी तेस्रो जलविद्युत आयोजना पनि हो । यो राष्ट्रिय गौरवको आयोजना पनि रहेको छ । यसको सम्भाव्यता अध्ययनको काम सम्पन्न भएर सरकारले लगानी जुटाउने कार्य अघि बढाएको छ । यस आयोजना निर्माण भएको अवस्थामा गाउँपालिकावासीले रोजगारीसँग शेयर लगाानी गर्ने अवसर पनि प्राप्त गर्नेछन् । यदी सरकारले प्राथमिकताको साथ ६८३ मेगावाटको जलविद्युत आयोजना अघि बढाएको अवस्थामा सुनापति गाउँपालिकाको मुहार फेरिनेछ । यसबाट पर्यटनको ठूलो विकास हुनेछ ।
विगतमा जनप्रतिनिधिले गरेको भन्दा के चाही फरक काम गरेर देखाउने सोच छ ?
– म नहुने कुरो बोल्न चाहन्न । गर्न सकिने कामको मात्र प्रतिबद्धता व्यक्त गर्नुपर्छ । अनावश्यक आश्वासन बाँडेर काम नगर्ने परिपार्टी अन्त्य गर्न चाहने मेरो अठोट छ । म सस्तो लोकप्रियताको लागि धेरै आश्वासन बाढन चाहन्न । गर्न नसक्ने घोषणा गर्नुको अर्थ छैन् । जे गर्न सकिन्छ त्यसलाई अघि सार्ने हो । हामीले विकास भनेको केही काम गरेकोजस्तो गरेर आफ्नो कार्यकर्ता पाल्ने थलोको रुपमा लिनु हुँदैन । विकास भनेको जनताले प्रत्यक्ष रुपमा महशुस गर्ने खालको हुनुपर्छ । कुनै पनि भ्रष्टचार हुँँदैन, दिर्घकालिन योजना अघि सारेर काम गर्छु । पारदर्शी हुनेछु । स्थानीय तहको बजेट मात्र सबै विकास निर्माणको काम सम्पन्न गर्न सकिदैन । त्यसको लागि प्रदेश सरकार संघीय सरकारसँग समन्वय गरेर थप बजेट ल्याउन पहल गर्ने योजना बनाएको छ । पाँच बर्षमा विकास कस्तो हुन्छ भनेर देखाउन चाहन्छ । म निर्वाचित भएको खण्डमा सरकारी सवा सुविधा समेत नलिने घोषणा गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्