एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेलको उम्मेदवारी दर्ता, को हुन ढुंगेल ?



१० असोज, काठमाडौं ।
नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा कैलाश ढुंगेलसहित पाँच पाँचजनाको उम्मेदवारी परेको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । ढुंगेलका प्रस्तावक श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् ।
अध्यक्षमा उम्मेदवारी दर्ता गराएका ढुंगेलले संगठनलाई सुदृढ गर्न, नीति अनुसारको नेतृत्व स्थापित गर्न र वैचारिक धारलाई अझ तिखार्न आफूले उम्मेवदारी दिएको बताए । उनले भने,समाजको प्रगतिशील रुपान्तरणका लागि शिक्षासँग सीप, सीपसँग श्रम, श्रमसँग उत्पादन र उत्पादनसँग निर्यात समेत जोड्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफू लागि पर्ने बताए ।

रामेछापको तत्कालीन पकरबास गाविसमा २०१६ सालमा जन्मिएका ढुंगेल २०३५–०३६ सालको विद्यार्थी आन्दोलनदेखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । रामेश, मञ्जुल लगायत रहनुभएको संकल्प परिवारसँग जोडिएर काम गरेका उनले विद्यार्थी आन्दोलनसँगै तत्कालीन नेकपा मालेको जिम्मेवारीमा रहेर काम गरेका थिए । २०३९ सालमा नेकपा मालेको जिल्ला पार्टी सक्रिय दलको नेतृत्व गर्दै ढुङ्गेल रामेछापमा पार्टीको पहिलो सचिव बनेका थिए । युवा संघ रामेछापको संस्थापक अध्यक्ष र केन्द्रीय सदस्य भएको । ढुङ्गेलले पूर्णकालीन भूमिगत भई रामेछाप र मोरङमा पार्टीको विभिन्न जिम्मेवारी लिएर काम गरेका थिए । मोरङमा रहँदा तत्कालीन माले र पछि नेकपा एमालेका महासचिव मदन भण्डारीसँग काम गरेका उनले जनताको बहुदलीय जनवादको व्याख्याता, रक्षक र प्रचारकको रूपमा परिचित छन् ।
पञ्चायत कालमा भूमिगत अवस्थामा पक्राउ गरेर २० महिना भद्रगोल जेलमा ढुंगेल विभिन्न आन्दोलनमा दर्जनौ पटक हिरासतमा बसेका थिए । २०४८ सालपछि ढुङ्गेलले रामेछापमा चार पटक पार्टी नेतृत्वमा रहेर काम गर्दै २०५४ सालमा तत्कालीन पकरबास गाविसको अध्यक्ष हुँदै जिल्ला विकास समिति रामेछापको सभापति बनेका थिए । २०६४ र २०७० सालमा ढुङ्गेल एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेपनि पराजित भएका थिए । २०७४ सालमा रामेछाप प्रदेश सभा ख बाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएका ढुंगेले बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेर दिर्घकालिन महत्व राख्ने नीति तथा कार्यक्रम अघि सारेका थिए । लगातार ४० वर्ष भूगोलमा बसेर पार्टीको काम गर्नुभएका ढुंगेल हाल पार्टी केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला कमिटीको इन्चार्ज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्