दसैंलाई कृषि पर्वका रूपमा विकास गरौं !



असत्य माथी सत्यको बिजय प्राप्तिको प्रतिकको रुपमा लिइने दशै पर्बलाइ नेपाली समाजमा बिशेष महत्वका साथ मनाइने गरिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ । यस पर्वमा टाढिएका परिवार,आफन्तहरू एकै ठाउमा जम्मा हुने,रमाइलो गर्ने र मान्यजनको हातवाट टिका ग्रहण गर्ने साथै आशिर्वाद थाप्ने गर्दछन ।

भिष्मराज चौलागाई
भगवान रामको विजय अथवा दुर्गा पूजाको रूपमा मनाइने यो पर्व शक्ति पूजाको पर्व हो । हिन्दू संस्कृति वीरताको पूजक र शौर्यको उपासक भएकाले व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैं मान्ने प्रचलनको सुरूवात भएको बताइन्छ । दशैं पर्वले दश प्रकारका पापहरु( काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी) त्याग्ने प्रेरणा मिल्ने विश्वास गरिन्छ । पछिल्लो समय दशैको महत्व र आकर्षण घटेको जस्तो देखिएको छ । यसका बिधि र प्रक्रियाहरूमा ध्यान दिन छोडिएको छ ।
अझ मुलुक धर्म निरपेक्षतामा प्रबेश गरेपछि दशैंलाइ मात्र धेरै महत्व दिन नहुने आवाज समेत उठ्न थालेका छन् । हाम्रो देश धार्मिक ,सांस्कृतिक, भाषिक, धार्मिक र जातीय विविधता भएको देश हो । यहाँ दशैं नमान्ने धेरै सम्प्रदाय र धर्मालम्बिहरु पनि छन् । यहाँ धार्मिक सहिष्णुता कायम भएकाले सबैले सबैका चाडपर्वलाइ बराबरी महत्व र एक आपसमा सद्भाव र शुभकामना आदानप्रदान गर्ने गर्दछन । संस्कार र संस्कृतिले समाजलाइ अनुशासनमा बाधेको हुन्छ । आफ्नै संस्कृति र संस्कार नभएको जाती वा समुदाय स्वतन्त्र र स्वाभिमानी हुन सक्दैन । समाजको बिकासमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता धर्म संस्कृतिको बारेमा सबै जानाकार हुनुपर्छ । धर्म, जात र सम्प्रदाय समाजका सम्बेदनशिल पक्ष भएकोले समाजमा सुमधुर सम्बन्धको लागि धार्मिक सांस्कृतिक सहिष्णुता हुनु जरुरी हुन्छ । धर्म, संस्कृति ब्यक्तिको स्वेच्छाको विषय हो । आफ्नो इच्छाअनुसार परिवर्तन गर्न सकिन्छ ।
तर आफ्नो पहिचान,अस्तित्व र अस्मिताको संरक्षणका लागी आफ्नो मौलिक धर्म, संस्कृतिलाई हामीले अनुशासित र सुधारात्मक तवरले अगाल्दै भावि पुस्तालाइ हस्तान्तरण गर्न सक्नु पर्दछ । बिजया दशमी हाम्रो मौलिक पर्व हो । दशैं भनेको हिन्दुहरु को मात्र महान पर्व नभएर सबै नेपालीहरूको को साझा मौलिक पर्व हो । पछिल्लो समय मुलुक धर्म निरपेक्ष भइसकेपछि राज्यले दशै तिहार बराबर अरू चाड पर्वलाइ पनि विदाको व्यवस्था एवं विशेष सुविधा र सहुलियतको व्यवस्था गर्नुपर्छ कि पर्दैन ? राज्यका सबै धर्म विशेषको चाड पर्व र सांस्कृतिक संस्कारमा सार्वजनिक विदा र विशेष सुविधा एवं सहुलियतको व्यवस्था हिन्दु धर्म मान्ने समुदायहरुको सांस्कृतिक पर्वको हाराहारीमा नै दिने हो भने एक वर्षमा काम गर्ने समय राष्ट्रमा कति बच्ला ? आर्थिक हिसाबले राज्यको आर्थिक अवस्था कहाँ पुग्ला ? जस्ता प्रश्नहरू पनि उठ्न थालेका छन ।
पृथ्वीनारायण शाहको राज्य बिस्तार अभियान भन्दा अगाडीका स(साना राज्यहरुमा धार्मिक, सांस्कृतिक र भाषिक स्वतन्त्रता थियो । जब एकीकरण गरियो, भौगोलिक रुपमा मात्र एकीकरण भयो । सास्कृतिक, धार्मिक, भाषिक समुदायहरुको भावनात्मक एकीकरण भएन । सबै समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण, सम्बर्धन र जगेर्ना पनि हुन सकेन । यो क्रममा जित्नेहरूबाट हार्नेहरूको कला,संस्कृति , भाषा धर्म र चाडपर्वहरू अतिक्रमणमा पर्दै गयो । फलस्वरूप एक धर्म, एक संस्कृती, एक भाषा,एक जाती र एक सम्प्रदायको मात्र बिकास भयो ।
अन्यको पहिचान लोप हुदै गयो । हाम्रो देश कृषि प्रदान देश हो । यहाका ८० प्रतिशत भन्दा बढी मानिस कृषिमा आश्रीत छन । अधिकांश किसानहरुको मूख्य बाली धान हो र अधिकांश नेपालीहरुको प्रमुख चाड पनि दशैं नै हो । त्यसकारण दशै र किसानको गहन सम्बन्ध छ । अझ दशैलाइ कृषि पर्वका रूपमा लिन सकिन्छ । दशैंको टिकामा अनिवार्य प्रयोग गर्ने अक्षता चामलकै हुन्छ । सबैको निधार मान्यजनको आशिषसँगै चामलका अक्षताले ढाकिएको हुन्छ । सेल रोटी लगाएतका परिकार चामलकै पिठोबाट बनाइन्छ । जस्तै गरिवको घरमा पनि दशैको समयमा मासु संग भात नै पाक्ने गर्छ ।
खाद्यान्न संकट हुने नेपालको मध्य र सुदुरपश्चिमका पहाडी क्षेत्रमा पनि दशैको खानाको परिकार वा टिका अक्षता को लागी किनेर ल्याएको चामल नै चाहिन्छ । हिमाली क्षेत्रमा पनि दशैं मान्नेहरुले मासु र भात नै खान्छन् । सिंचाईको व्यवस्था भएको र आकाशे पानीको भर पर्नु नपर्ने स्थानहरुमा केही अघि रोपिएको धान असोजको शुरु तिर काट्न सकिन्छ ।
नयाँ धानको चामलबाट जाँड बनाएर दशैंमा रमाइलो गर्ने कृषि नै मूख्य पेशा भएका तराई र भित्रीमधेशका थारु जातिमा पूरानो प्रचलन रहेको पाइन्छ । यस समयमा किसानहरूले मकै बाली भित्र्याएर अगाडी पाक्ने धान पनि भित्र्याउन समेत भ्याउछन । दशै मानेर धान को काम सकेर गहुँ लगाएतका नयाँ बालीको काम गर्छन । यसरी किसान र दशैंको गहन सम्बन्ध छ ।

पछिल्लो समय दशैंको बिभिन्न पाटा र पक्षहरू ओझेलमालमा पर्दै गएका छन । पछिल्लो पुस्ता आफ्नो संस्कार र संस्कृती प्रती अनुदार र गैर जिम्मेवार हुदै गएको छ । विकास केन्द्रित र शहरमुखी बन्दै गएको नेपालको ठूलो जनसंख्या आफ्नो संस्कार र संस्कृतीबाट दिनप्रतिदिन टाढा हुदै गएको छ । यसले गर्दा हाम्रो संस्कार र संस्कृती लोप हुने खतरा बढेको छ ।
दशैलाई बिजय उत्सव को रुपमा धार्मिक दृष्टिले मनाउनु भन्दा पनि यो सबै को साझा पर्व को रुप मा बिकास गराउन सकिन्छ । दशै बिजयादशमी मात्र होईन । यो नेपाली किसानहरूको कृषि पर्व हो । यो हाम्रो मौलिक पर्व हो ।
सबै प्रकारका धार्मिक, सांस्कृतिक संस्कार वा रीतिरिवाजलाई पक्षपात नगरी सांस्कृतिक र संस्कारलाइ राज्यको गहनाको रुपमा संरक्षण गर्न हामी सबै लागि पर्न जरूरी छ । हामीले हाम्रो मौलिक चाडपर्वहरुलाई साझा मौलिक पर्व को रुपमा नै बचाई राख्नु पर्छ ।
(लेखक अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन ।)

प्रतिक्रिया दिनुहोस्