इन्धनकै कारण मन्थली मालामाल (फोटोफिचर)



२१ चैत्र, रामेछाप ।
केही महिना अघिसम्म सुनसान रहेको मन्थलीको विमानस्थलमा ह्वातै चहलपहल बढेको छ । केही दिनयता बिहान उठने वित्तिकै हवाइ जहाज उडान र अवतरणले मन्थलीमा भिडभाड समेत बढेको हो । मन्थली–लुक्ला उडान नियमित भएपछि सदरमुकाम मन्थलीमा रहेको सबै होटल खचाखच भरिएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको लागि दैनिक १० घण्टा बन्द हुने भएपछि नागरिक उड्यान प्राधिकरणले लुक्लाको लागि मन्थली विनमास्थबाट हवाई सेवा सञ्चालमा ल्याएको छ । मन्थली–लुक्ला उडान सुरु भएपछि हाल दैनिक २५ वटा फ्लाइट हुँदै आएको नागरिक उड्यान प्राधिकरण रामेछापले बताएको छ ।

मन्थली विमानस्थ काठमाडौंबाट नजिकै रहेको विमानस्थल हो । अहिले मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने आधार बनेको छ, मन्थलीमा रहेको हवाई इन्धन डिपो । नेपाल आयल निगमले मन्थलीमा हवाई इन्धनको डिपो सञ्चालन गरेपछि उडान र अवतरणका लागि सहज भएको हवाइ इन्धन डिपो रामेछापका सूचना अधिकारी ऋषिकेश भुर्तेलले रामेछाप न्युजलाई बताए ।

मन्थलीमा विमास्थलमा २७ हजार लिटर इन्धन हटाउने क्षमताको दुई वटा ट्याङकर रहेका छन् । भुर्तेलले भने,‘हवाइ कम्पनीले माग गरे अनुसारको इन्धन उपलब्ध गराएका छौ, इन्धनको अभाव हुन दिएका छैनौं ।’ मन्थली–लुक्ला दैनिक २५ भन्दा बढी फ्लाइट सुरु भएपछि एक एक दिन अन्तरमा काठमाडौंबाट इन्धन ल्याउने गरेको बताउदै उनले दैनिक पाँच हजार लिटर इन्धन विक्री हुने गरेको बताए । हाल प्रति लिटर हवाइ इन्धनको मुल्य ९४.५ रुपैयाँ रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण तथा विभिन्न निजी विमानसेवा कम्पनीको आग्रहमा निगमले डिपो राखेकै कारण काठमाडौंबाट लुक्ला जाने विकल्प मन्थली विमानस्थल बनेको छ । काठमाडौंबाट सवारी साधनमा रामेछाप आउने पर्यटकहरु तारा एयर, समिट एयर र सीता एयरबाट लुक्ला जाने गरेका छन् । नियमित धेरै उडान हुँदा मन्थली विमानस्थलबाट दैनिक झण्डै ३ सयको हाराहारीमा पर्यटकहरु उड्ने गरेको नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमित चौरसियाले रामेछाप न्युजलाई बताए ।

करिब सात बर्ष अघि मन्थलीमा नेपाल आयल निगमले हवाई इन्ध डिपो सञ्चालनमा ल्याएको थियो । जसको कारण मन्थलीबाट लुक्लामा सामान ढुवानी गर्ने सहज भएको छ । बनेपा–खुर्कोट सडक मन्थलीमा जोडिएपछि वीरगञ्जबाट सीधै मन्थलीमा सामान ढुवानी गर्न सकिन्छ । अबको करिब तीन महिना अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको काम सम्पन्न नहुँदासम्म मन्थलीबाट लुक्लाको लागि विमान सञ्चालनमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्