मिटर रिडिङ र विद्युत महशुल काउन्टर खोल्न कार्यकारी निर्देशक घिसिङको निर्देशन



२५ वैशाख, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ गर्न र विद्युत महसुल संकलन काउन्टर खोल्न निर्देशन दिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चैत्र ११ गतेदेखि बन्द भएका सेवा सुचारु गर्न वितरण तथा ग्राहक सेवा निर्देशनालयलाई निर्देशन दिनुभएको हो । प्राधिकरणको निर्देशन अनुसार काउन्टर खोल्ने र मिटर रिडिङ गर्ने काम अगाडि बढेको छ ।

कोभिड–१९ को असरले मिटर रिडिङ कार्य नहुँदा गत फागनुदेखिको विद्युत महसुल उठ्न बाँकी छ । अनलाइन सुविधा भएका ग्राहकले मात्रै महसुल तिरेका छन् । कार्यकारी निर्देशक घिसिङको निर्देशनसँगै निर्देशनालयले मातहतका सबै प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालयलाई काम सुचारु गर्न सर्कुलर गरेको छ । निर्देशनालयको सर्कुलरपछि देशभरका वितरण केन्द्रले मिटर रिडिङ कार्य सुचारु गरेका छन् ।

काउन्टरको सेवा पनि सुचारु गरी महसुल संकलन गर्न थालेका छन् । मिटर रिडिङ तथा महसुल संकलन काउन्टर सञ्चालन गर्दा कर्मचारीलाई सावधानी अपनाउन भनिएको छ । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो,‘कोरोना संक्रमण फैलिएको क्षेत्रमा काउन्टर नखोल्न र मिटर रिडिङ नगर्न निर्देशन दिएका छौं ।’ उहाँले सावधानीपूर्वक काम गर्न निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्