रामेछापको स्वास्थ्य क्षेत्रमा क्रान्ति:अब सबै स्थानीय तहमा अस्पताल



स्नेहा सिलवाल
२० मंसिर, काठमाडौं । रामेछाप जिल्लाले स्वास्थ्य क्षेत्रमा नयाँ फडको मारेको छ । हाल रामेछापको आठ वटै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढेको छ । सरकारले जिल्लाभित्र अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो । अस्थायी अस्पतालसँगै संघीय सरकारले सबै स्थानीय तहमा स्थायी अस्पताल निर्माणको काम समेत अगाडि बढाएको छ ।

रामेछाप नगरपालिकाभित्र रहेको जिल्ला अस्पतालसँगै अब बाँकी सात वटा स्थानीय तहमा पनि अस्पताल निर्माणको काम अगाडि बढेको छ । अस्पताल स्वीकृत हुनु अघि नै मन्थली नगरपालिका, गोकुलगंगा गाउँपालिका र दोरम्बा गाउँपालिकाले डाक्टर सहितको सेवा प्रवाह गर्दै आएका थिए ।दोरम्बा, सुनापति, लिखु तामाकोसी र उमाकुण्ड गाउँपालिकामा एक साथ अस्पताल शिलान्यसको काम भएको छ । चार वटै अस्पताल यस बर्षबाटै निर्माणको प्रक्रियामा अगाडि बढनेछ ।

जिल्ला अस्पताल रामेछापमा हाल १५ शैया रहेकोमा बागमती प्रदेश सरकारले स्तरउन्नती गर्दै यसै बर्षबाट २५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने काम अगाडि बढाएको छ । यसअघि जिल्लाकै पहिलो जिल्ला अस्पताल रामेछाप रहेकोमा अब सबै स्थानीय तहमा अस्पताल हुने भएको छ । जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले सबै जिल्ला अस्पतालको बेडसँगै थप सेवा पनि थपिने बताए । उनले रामेछाप न्युजसँग भने,‘सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढेकोमा खुसी छौ ।’

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्लाको सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढनु निकै खुसीको विषय भएको बताए । उनले भने,‘जिल्ला अस्पतालसँग सबै स्थानीय तहको अस्पताललाई प्रदेश सरकारले आगामी दिनमा सक्दो सहयोग गर्छ ।’

लिखु तामाकोसी गाउँपालिकामा पहिलो पटक अस्पताल निर्माणको काम अगाडि बढने भएपछि स्थानीयमा खुसी छाएको छ । लिखु तामाकोसी गाउँपालिकाका कार्यवहाक अध्यक्ष दीपशिखा दाहालले १५ शैयाको अस्पताल शिलान्यास भइसकेको बताउदै तत्काल निर्माणको प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको रामेछाप न्युजलाई बताइन ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गाउँपालिकाको पहलमा अस्पताल निर्माणको काम सम्पन्न गरेर उदघाटनको तयारीमा रहेको बताए । उनका अनुसार गत बर्षबाटै डाक्टर सहितको सेवा प्रवाह गाउँपालिकामा निर्माण भएको अस्पतालबाट भइरहेको छ । हाल सरकारले अस्पताल नभएको सबै स्थानीय तहमा कोभिड–१९ को पाँच शैयाको अस्पताल सञ्चालन गर्ने नीतिगत व्यवस्था गरेको छ । अध्यक्ष सुनुवारले अस्प्तालको क्षमता २५ शैयासम्म सञ्चालन गर्न सकिने रहेको बताउदै संघीय सरकारसँग समन्वय गरेर शैयाको बारेमा टुंगो लाग्ने रामेछाप न्युजलाई बताए ।

उमाकुण्ड गाउँपालिकाको बाम्ती भण्डारमा पनि दस शैयाको अस्पताल निर्माण हुने भएको छ । हाल गाउँपालिकामा हाल पाँच शैयाको अस्पताल आइसकेको छ । गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले अस्पताल निर्माणको कामलाई जतिसक्दो चाँडो निर्माण गरेर सञ्चालनमा ल्याउने गरी काम अगाडि बढिरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘समयमा नै अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउदा प्राथमिक उपचारको लागि मन्थली र काठमाडौं धाउनु पर्ने बाँध्यता हटछ ।’

मन्थली नगरपालिकामा रहेको प्राथमिक स्वाथ्य केन्द्रलाई स्तरउन्नती गर्दै २५ शैयाको अस्पतालको रुपमा विकास गरिने भएको छ । मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव फुयालले हाल पाँच शैयाको अस्पताल रहेको स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर्न लागिएको बताए । उनले भने,‘नयाँ अस्पताल भवनको लागि ठेक्का आह्वानको तयारी भइरहेको छ ।’
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाको पहलमा गत बर्षबाटै १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढेको रामेछाप न्युजलाई बताए । उनले भने,‘पाँच शैयाको अस्पताल गाउँपालिकामा सञ्चालन गरेका छौ, अब नयाँ अस्पताल भवन निर्माणको काम सम्पन्न गरेर सेवा विस्तार गछौं ।’

त्यसैगरी दोरम्बा गाउँपालिकामा पनि १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढने भएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले नयाँ भवनको लागि ठेक्का आह्वान गर्न लागिएको बताए । गाउँपालिकाको पहलमा गत बर्षबाटै दोरम्बामा डाक्टर सहितको सेवा प्रवाह भइरहेको बताउदै नयाँ अस्पताल सञ्चालनमा आएपछि स्थानीय तहमै उपचार पाइने बताए ।

सुनापती गाउँपालिका पनि यस बर्षबाट दस शैयाको अस्पताल निर्माणको काम अगाडि बढने भएको छ । गाउँपालिकाका अध्यक्ष धावा लामाले अस्पताल निर्माण हुनु खुसीको विषय भएको बताउदै प्राविधिक काम अन्तिम चरणमा पुगेकाले केही समयभित्र नै ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाइने बताए ।

रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले जिल्लाको सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढनु सुखद विषय भएको बताए । संविधानमै स्वास्थ्यलाई मौलिक अधिकारभित्र राखिएको बताउदै आधारभूत रुपमा सबै नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने गरी सरकारले गरेको निर्णय सराहनिय रहेको बताए ।

तत्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिगत निर्णय गरेको बताउदै सांसद श्रेष्ठले हाल आएर वर्तमान सरकारले कार्यान्वयमा ल्याएको बताए । उनले रामेछाप न्युजसँग भने,‘अब स्थानीय तहमै अस्ताल सञ्चालनमा आएपछि प्राथमिक उपचार गर्न राजधानी धाउनु पदैन,हाल निर्माण भइरहेका र निर्माण हुने चरणमा रहेको अस्पताल भवन समयमा नै सम्पन्न गर्न सबैले ध्यान दिनुपर्छ ।’ अस्पताल निर्माणसँगै सेवा विस्तारमा पनि ध्यान दिन आवश्यक रहेको बताउदै आवश्यक जनशक्ति र सेवा सुविधा विस्तारको लागि आफूले सक्दो सहयोग गर्ने सांसद श्रेष्ठले बताए । रामेछापको हकमा स्वास्थ्य क्षेत्रमा ठूलो फडको हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्