पुष्पलालको विचारमै कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको छः मन्त्री ढुंगेल



७ साउन, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पुष्पलाल श्रेष्ठको विचार अहिले पनि उत्तिकै सान्र्दभिक रहेको बताएका छन् । नेपालको कम्युनिष्ट आन्दोलन अहिलेको अवस्थामा ल्याउनको लागि पुष्पलालको महत्वपूर्ण भूमिका रहेको बताउदै उनले उहाँको योगदान विर्सनै नसकिने बताएका हुन् ।
पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बोल्दै नेकपा एमाले रामेछापका इन्चार्ज समेत रहेका मन्त्री ढुंगेलले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर पुष्पलालले परिवर्तनको विजारोपण गरेको बताए ।

पुष्पलालको विचारबाट पञ्चायत डराएकै कारण उहाँलाई देशमा बस्न नदिएको बताउदै उनले भारतमा देहान्त भएको र अन्तिम संस्कारको लागि शव स्वदेश ल्याउन नदिनुको साथै स्वदेश ल्याएको अस्तु समेत जफत गरिएको ढुंगेलले स्मरण गरे ।
राष्ट्रिय राजनीतिमा पुष्पलालका विचार कालजयी छ, उहाँकै विचारकै कारण अन्तराष्ट्रिय जगतमा र नेपालीको मन मनमा पुष्पलाल बस्न सक्नुभएको छ, ढुंगेलले भने ।

पुष्पलाल श्रेष्ठको जन्म रामेछापको भँगेरीमा भएको थियो । पुष्पलालको बुबा माल अड्डा रामेछापमा बडाहाकिम भएको बेला पुष्पलाल र नेपालका चार सहिद मध्येका एक गंगालाल श्रेष्ठको जन्मसमेत भँगेरीमा भएको थियो । रामेछाप पुष्पलालको जन्मथलो भएकोले रामेछापबासीको लागि गर्वको विषय भएको बताउदै मन्त्री ढुंगेले कम्युनिष्ट आन्दोलनलाई एकीकृत रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।

पुष्पलालकै संयुक्त जनआन्दोलनको कार्यदिशाबाट मुलुकमा महत्वपूर्ण परिवर्तन भएकाले प्राप्त उपलब्धिको रक्षा र विकासका लागि समेत वाम तथा प्रजातान्त्रिक शक्तिबीचको समन्वय, सन्तुलन र एकता आवश्यक छ, उनले भने ।

२००५ सालमा माक्र्स र एङ्गेल्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गरेका थिए । घोषणापत्र अनुवादसँगै पुष्पलालले नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर नेपाली राजनीतिको मिहिन ढङ्गले विश्लेषण गर्न भूमिका खेलेका थिए । नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताका रूपमा समेत पुष्पलाललाई लिइन्छ ।

नेपालमा पञ्चायती व्यवस्था अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशालाई पुष्पलालले नै अगाडि बताएका थिए ।
रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मनुभएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा पुष्पलालले अगाडि सारेका थिए । जसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन हासिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्