लकडाउनः कृषिमा कान्ति गर्ने अवसर



उर्मिला दाहाल

अमेरिकामा सन् १९७० को दशकतिर लकडाउनको सिद्धान्तको प्रारम्भ भै सेप्टेम्बर ११ को आतंककारी हमला पश्चात् आतंकवादी पत्ता लगाउन आफ्ना जनतालाई घर बाहिर निस्कन नदिन लकडाउनको व्यवस्था भएको थियो । नेपालले पनि कोरोना भाइरसबाट उत्पन्न विपत्तिलाई न्युनिकरण गर्न राष्ट्रिय बिपद् घोषणा गरी संक्रमण रोग ऐन २०२० तथा बिपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार मन्त्रिपरिषद्ले लकडाउन घोषणा गरेको हो ।
हुन पनि लकडाउन लागू भएमा रोग सर्ने सम्भावना कम हुने भएकोले विश्वका धेरै देशहरुमा यो लागू भएको देखिन्छ । फ्रान्सबाट कतारको दोहा हुँदै २०७६ चैत्र ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपाल सरकारले पनि कोरोना नियन्त्रणका लागि चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेको छ । सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । कोरोनाको थप संक्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउन हाल झन कडा गरिएको देखिन्छ ।

यसले कोरोना संक्रमण नियन्त्रणमा सकारात्मक काम गरेतापनि लामो लकडाउनको कारण नागरिकको जीवन कष्टप्रद बनाउँदै गएको छ । कोरोना भाइरस संक्रमणको त्रास र लकडाउनको कारण विकास निर्माणको काम प्रभावित भएको बनेको छ । सामाजिक दूरी कायम राखेर विकास निर्माण तथा कृषि सम्बन्धि कार्य गर्न सकिने भएपनि त्यो पनि हुन सकेको छैन् ।

लकडाउनको कारण बैदेशिक रोजगारीमा गएका व्यक्तिहरु स्वदेश फर्कन पाएका छैनन् भने शहरमा रोजीरोटीको समस्या टार्न गएका व्यक्तिहरु पनि गाउँमा फर्कन पाएका छैनन् । केही फर्किए पनि अझै गाउँका नागकिरहरु विदेश र शहरमा रहेका छन् । लकडाउन थपिदै जाँदा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु सहरमा बढी समस्यामा परेका छन् । शहरमा समस्या हुँदा उपत्यका लगायतका देशका अन्य ठूला सहरबाट हिँडेरै गाउँ पुग्ने क्रम बढेपछि स्थानीय सरकारले उद्धार गरेर गाउँ पुर्याएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेपछि कोरोनाको त्रासले सहरभन्दा गाउँ सुरक्षित हुने महसुश गरी मानिसहरु धमाधम गाउँ फर्कन थालेका छन् । गाउँमा बर्षौंदेखि नआएका व्यक्तिहरु समेत अहिले गाउँमा आएका छन् । लामो लकडाउनको कारण शहरबाट गाउँतिर मानिसहरु फर्केका हुँनाले अहिले गाउँमा खेतबारीले केही भएपनि पुनर्जीवन पाएका छन् । अहिले गाउँमा मानिसहरु भरिएका छन् । अब स्थानीय तहहरुले आफ्ना नागरिकलाई कृषिकर्ममा आकर्षित गरी स्थानीय स्तरमा नै व्यवस्थापन गर्न सके खेतबारी बाँझो रहनेछैन । देशले पनि पक्कै काँचुली फेर्नेछ ।

विश्व यतिखेर कोरोना भाइरसविरुद्धको लडाइँमा नै छ । सन् २०१९ को अन्त्यतिर चीनको बुहानबाट फैलिएको यो भाइरस हाल चीनमा मात्र सिमित नरही विश्वका लगभग सबै देशमा महामारीको रुपमा फैलिसकेको छ । हालसम्म यस भाइरस विरुद्ध औषधी तथा खोप बनी नसकेको हुनाले यसबाट बच्न कुनै न कुनै रुपमा लकडाउन गर्नुपरेकोले विश्व अर्थतन्त्रलाई नै यसले नराम्ररी प्रभाव पारेको देखिन्छ । त्यसैले यसबाट सिर्जित समस्याले हाम्रो मुलुकमा पनि गम्भीर समस्या आँउने आँकलन सहजै गर्न सकिन्छ ।

हुन त कोरोना भाइरसको कारण आज विश्वको स्वास्थ्य, शिक्षा, कृषि, धार्मिक, सामाजिक, आर्थिक, पर्यटन औद्योगिक क्षेत्रमा प्रभाव पारेको छ । लकडाउनले आम नागरिकको दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ । यसले मुख्यतः गरिबलाई ठूलो समस्यामा पारेको देखिन्छ । विश्वमा हेर्ने हो भने चीनले पुरै देशलाई होइन प्रभावित क्षेत्रमा मात्रै लकडाउन गरेर अर्थतन्त्रलाई जीवन्त राखेको देखिन्छ भने भारतमा पनि कम संक्रमण भएका स्थानमा अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु खुलेको देखिन्छ ।
जर्मनमा पनि लकडाउनलाई खुकुलो पारिएको पाइन्छ भने सिंगापुर तथा दक्षिण कोरियाले लकडाउन नगरिकनै संक्रमण नियन्त्रणमा राख्न सफल भएको पाइन्छ । यसबाट शिक्षा लिई अब नेपालमा पनि कोरोना संक्रमणबाट बच्ने उपाय अपनाउँदै बिस्तारै लकडाउन नखोलिएमा खाद्यान्न अभाव र भोकमरीले ग्रस्त बनाउनेछ ।
आज नेपालमा उत्पादित दुधले बजार नपाउँदा सडकमा दुध पोख्नुपरेको, तरकारी तथा फलफूलले बजार नपाउँदा खेतबारिमै तरकारी तथा फलफूल कुहिएर गएको छ । लकडाउले पशुलाई चाहिने दाना आपूर्ति गर्न कठिनाई भैरहेको छ । कृषि क्षेत्रमा हरेक दिन केही न केही काम गर्नै पर्ने हुन्छ । अन्न बाली लगाउँनै पर्छ, गोडमेल गर्नैपर्छ , गाई बस्तुहरुलाई चाहिने घाँस काट्न जानैपर्छ । कहिले पाकेको अन्न बाली थन्क्याउनैपर्छ भने तरकारी तथा फलफूल समयमै टिपेर उपभोक्ता सम्म पुर्याउनै पर्दछ । अतः सरकारले बेलैमा सोची सक्रमण नदेखिएका जिल्लाहरुमा लकडाउन खुकुलो बनाई सधै तापक्रम नापी, सामाजिक दूरी कायम गर्दै खेतबारीमा काम गर्ने वातावरण बनाउनुपर्छ ।

हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जमिन बाँझो नराख्न र कृषि पसल बन्द नगर्न आग्रह गरेको छ । लम्बिदै गएको लकडाउनले खाद्य पदार्थ आपूर्तिमा समस्या आउनसक्ने अनुमान गर्दै यस्तो आग्रह गरेको हो । तत्यसैले अन्नबाली भित्र्याउने र तिनको भण्डारीकरण तथा बजारीकरण गर्नुपर्ने देखिन्छ । यसका साथै किसानले उत्पादन गरेका कृषि उपज किसानको घरघरमा पुगेर राज्यले खरिद गर्नुपर्दछ । लकडाउनको कारण कृषि उपजले बजार नपाएपछि कृषक चिन्तित भएका बेला राज्यले सहयोग गरेमा पक्कै देश कृषिमा आत्मनिर्भर बन्नेछ ।

हुन त लकडाउनमा सबै काम ठप्प पार्नु हुँदैन साना उद्योग व्यवसाय सञ्चालन गर्न दिनुपर्दछ । खेतमा भएको तरकारी बजारसम्म पुर्याउन तथा खेतमा काम गर्न पाउनुपर्छ । कुनै पनि बहानामा कृषिकर्मलाई रोक्नुहुन्न । अब सहरबाट गाउँमा फर्किएका युवा वर्गलाई स्थानीय स्तरमा कृषि क्षेत्रमा लगाउन सके खान नपाएर मर्नुपर्ने अवस्था पनि हुनेछैन । रोजगार गुमाएका र विदेश जान रोकिएका युवालाई कृषिमा प्रेरित गर्न हरेक स्थानीय तहले कृषि रोजगार घोषणा गर्नुपर्दछ ।

महामारीहरु दोस्रो, तेस्रो चरण गरी फर्किएको इतिहास छ । कोरोना महामारी पनि एक पटकमा नै निर्मूल नहुने देखिन्छ । अतः दिनरात घामपानी नभनी किसानले उत्पादन गरेको खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, माछामासु, फलफूल लगायतका उत्पादनमामा भण्डारणमा बजारीकरणमा राज्यले सहयोग गर्नैपर्दछ । किसानहरुले लकडाउनमा समेत आफ्नो बारीमा विभिन्न किसिमका खाद्यान्न नउव्जाउने हो भने हामी भोकै मर्ने अवस्थालाई बुझी हाम्रा युवावर्गलाई कृषिकर्ममा आकर्षित गरी कृषि क्रान्तिको सुरु आजै गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्